बोलीमा मात्रै हट्यो ‘सिन्डिकेट’

रिपोर्ट नेपाल | 2018 Nov 15 | 09:27 am 1861

काभ्रे, कात्तिक २९ — सरकारले यातायात क्षेत्रको एकाधिकार (सिन्डिकेट) तोडिएको दाबी गरे पनि ‘बोली’ मा मात्रै सीमित भएको छ । जिल्लामा सञ्चालन भइरहेका यातायात प्रालिको सिन्डिकेट कायमै राखेका छन् भने नयाँ यातायात प्रालिको सेवा पनि चित्त बुझ्दो नभएको आजको कान्तिपुरमा नगेन्द्र अधिकारीले समाचार लेखेका छन ।

काभ्रेको ग्रामीण भेग कोसीपारिको मादनकुँडारीसम्म जाने गरी कोसीपारि यातायात प्रालिले बस सञ्चालन गरेपछि उक्त रुटमा एकाधिकार (सिन्डिकेट) कायम गर्दै आएको अरनिको यातायातले अवरोध गरेको छ । विभिन्न ३ रुटमा १० बस सञ्चालन गर्न लागेको कोसीपारि यातायातलाई अरनिको यातायात प्रालिले अवरोध गरेको हो ।

‘गाडी सञ्चालन गर्न अवरोध गर्ने, रोकेको ठाउँमा तार काटिदिने लगायतका काम भएको छ,’ कोसीपारि यातायात प्रालिका व्यवस्थापक सन्तोष गौतमले भने, ‘सरकारले हट्यो भनेको सिन्डिकेट त अझै हटेको रहेनछ, निर्बाध सञ्चालन गर्न नपाएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेमा उजुरी पनि दिएका छौं ।’ कोसीपारि यातायातलाई अवरोध गर्न अरनिकोले रुट परमिट नभएका गाडी पनि कोसीपारि पठाउने गरेको गौतमले दाबी गरे ।

काभ्रे लगायतका मध्यपहाडी जिल्लामा अरनिको यातायातको एकछत्र राज छ । सिन्डिकेट नभएको देखाउन अरनिकोले विभिन्न फर्जी समिति खडा गरेको छ । जिल्लाको कोसीपारि क्षेत्रमा उसले कोसीपारि यातायातको नाममा सेवा सञ्चालन गर्छ । चौतारामा जुगल, बाह्रबिसेमा सुनकोसी, दोलखा, रामेछाप (लोकल टिप) मा सगरमाथा, दोलखा, रामेछापबाट काठमाडौं चल्नेमा अरनिको सुपर, सिगटीमा गौरीशंकर यातायातको नाममा सेवा सञ्चालन भए पनि त्यसको मूल समिति अरनिको यातायात नै हो । हाल अरनिको भीमेश्वर यातायात प्रालिको नाममा सञ्चालन भइरहेको छ ।

अरनिको यातायात प्रालिका अध्यक्ष श्यामबहादुर लामाले ‘सौता’ आएपछि झगडा हुनु स्वाभाविक भएको बताए । ‘सौता भएपछि मिलेर बसेको देख्नुभएको छ र, अलि अलि झगडा त भइहाल्छ नि,’ लामाले भने, ‘सिन्डिकेट अन्त्यको नाममा २, ४ वटा बस हालेर हुँदैन, सरकारले पहिलाका समितिलेके गरेका थिए हेर्नुपर्छ ।’ लामाले ठूलादुर्घटना भए नयाँ प्रालिले क्षतिपूर्ति दिन नसक्ने भन्दै त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने दाबी गरे ।

जिल्लामा सेवा दिइरहेका ५ यातायात समितिले सिन्डिकेट कायम गरिरहेका छन् । सेवा नसुधारेका ती समितिले अरुलाई प्रवेश पनि दिएका छैनन् । बनेपा, धुलिखेल, पनौती, पाँचखालसम्मको रुटमा मात्रै केही नयाँ समितिले सेवा सुरु गरे पनि प्रभावकारी छैन । अरनिकोका ६ सय ५०, हिमाल तराईका २ सय ५०, काभ्रे बसका १ सय ४५, काभ्रे मिनिबसका १ सय ४५ र हेलम्बु यातायात सेवा प्रालिका १ सय २० बस सञ्चालनमा छन् । नयाँ समितिका गाडी नगण्य भएका कारण पुरानै समितिको दबदबा कायमै छ ।

यातायातमा एकलौटी गर्दै आएका काभ्रे बस व्यवसायी संघ र काभ्रे मिनिबस सेवा समितिले सिन्डिकेट कायम नै राख्न काभ्रे काठमाडौं नगरबस सञ्चालन गर्न थालेको छ । मयूर यातायातलाई ‘टक्कर दिन’ दुवै समितिका नाममा १०/१० वटा गाडी निकालेर चक्रपथसम्म गाडी सञ्चालन गरिएको छ ।

तिमाल, सिपाली, नाला, दाप्चा, रविओपी, बुढाखानी लगायतका क्षेत्रमा सेवा दिने काभ्रे बस व्यवसायी संघका थोत्रा गाडी मात्रै छन् । बनेपा धुलिखेल चल्ने गाडी पुरानो भएपछि मात्रै ग्रामीण भेगका रुटमा हाल्ने गरिएको छ । पनौती, ढुंखर्क, खोपासी, कुशादेवी, रयाले, च्यासिंखर्क, च्याम्राङबेसी लगायतका क्षेत्रमा बस सञ्चालन गर्दै आएको काभ्रे मिनिबस सेवा समितिको सेवा पनि गुणस्तरीय छैन ।

कुन्ता, देउपुर, नयाँगाउँ, चण्डेनी, जोगिटार लगायतका क्षेत्रमा सेवा दिइरहेको हेलम्बु यातायात सेवा समितिबाहेक अरू समितिको प्रवेश छैन । अनेकोटमा भने अरनिको यातायातसँग प्रतिस्पर्धा छ । अध्यक्ष राजेशकुमार श्रेष्ठ सिन्डिकेट भएको मान्न तयार छैनन् । ‘काभ्रेमा अरनिको र सिन्धुपाल्चोकमा आमा हेल्मो यातायातसँग प्रतिस्पर्धाका आधारमा सेवा सञ्चालन गरेका छौँ,’ उनले भने, ‘ग्रामीण रुटमा अरू समिति आउनै चाहँदैनन्, सिन्डिकेट लाद्यो भन्ने आरोप गलत हो ।’

भीमखोरी, लुभुघाट, नेपालथोक र भकुण्डे लगायतका क्षेत्रमा सेवा दिँदै आएको हिमाल तराई यातायात सेवा समितिले पनि सिन्डिकेट लाद्दै आएको छ । नेपालथोकसम्म माइक्रो बस सेवा सञ्चालन गर्दै आएको तिप्लिङ यातायातसँगको विवादका कारण हिमाल तराई यातायात सेवा समिति गठन गरिएको थियो ।

रामेछाप, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु लगायतका जिल्लामा सेवा दिइहेको समितिको ती जिल्लामा भने अरू समितिसँग प्रतिस्पर्धामा सेवा दिइरहेको छ । समितिमा दर्ता नयाँ बस गराउन डेढ लाखदेखि १५ लाख रुपैयाँ तिर्नुपर्ने व्यवसायी नै गुनासो गर्छन् ।

सरकारले ‘सिन्डिकेट’ अन्त्य गर्ने घोषणा गरेसँगै आएको मयूर यातायातले निकै तामझाम गर्‍यो । ४० वटा बस सञ्चालन गरेको मयूर यातायातको कारण देशभरिको ‘सिन्डिकेट’ तोडेको प्रचार पनि पनि भयो ।

निः शुल्क वाईफाई, ७० वर्षमाथिका जेष्ठनागरिक, अपांगता भएका व्यक्ति, ट्राफिक प्रहरीलाई निः शुल्क सेवा दिएका प्रालिको सेवा धेरैले मन पनि पराए । तर, मयूर यातायात प्रालि पनि अरू यातायात प्रालिजस्तै, ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखान चरितार्थ गरेको छ ।

मयूर यातयातमा अहिले वाईफाईको सुविधा छैन, भाडादर पनि अरू समितिको बराबर नै छ, बसको संख्या पनि क्रमशः घट्दै गएको छ । चालक, सहचालक र परिचालकले पनि अरू समितिको जस्तै व्यवहार गर्न थालको यात्रुहरूले गुनासो गरेका छन् । पनौतीबाट आएको मयूर यातायातको बा५ख ४७७४ नम्बरको बसले यात्रु कम भएको भन्दै ५ मिनेट कुराएर बनेपामा झारिदिएर अलपत्र पारिदिएको एक यात्रुले बताए ।

सिन्डिकेट खारेज भएको घोषणापछि काभ्रेमा साझा, मयूर, अन्नपूर्ण, सम्वृद्धि यातायात प्रालि लगायतले यातायात सेवा दिइरहे पनि पुराना समितिको दबदबा चिर्न सकेका छैनन् ।

सरकारले एकाधिकार तोड्ने भन्दै यातायात संस्था नवीकरण नगरे पनि यातायात व्यवसायी राष्ट्रिय महासंघ कायम नै छ । सबै समितिको खाता रोक्का गरेको सरकारले पछि तिर्नुपर्ने दायित्व तिर्नका लागि भन्दै एकपटकका लागि खाता फुकुवासमेत गरिसकेको छ

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.