बनेपा, कात्तिक २९ : साँगादेखि धुलिखेलसम्मका घर टहरा भत्काएर सडक विस्तार गर्ने भनिएको थुप्रै समय भइसक्दा पनि मुआब्जा नपाएकोमा पीडितहरुले मुआब्जाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
बनेपा नगरपालिकाको वडा नं १४ साँगादेखि धुलिखेल नगरपालिकको बसपार्कसम्म अरनिको राजमार्गअन्तर्गत सडक मापदण्डभित्र बनाएका घर टहरा भत्काइएको थियो ।
लामो समयदेखि साँगामा बसोबास गर्दै आएका स्थानीय ईश्वर मानन्धरले नगरपालिका र भक्तपुर डिभिजन सडक कार्यालयले संयुक्त रुपमा घर भत्काई दिएको यतिका समयसम्म पनि मुआब्जा नदिई आलटाल गरेकोमा आक्रोस पोखेका छन् ।
मानन्धरका अनुसार सरकारले २०३१ सालअघि बनाएको संरचनाको मुआब्जा दिने बताएको थियो । तर आफूहरु सरकारले तोके भन्दा पनि पाँच वर्ष अघि २०२६ सालदेखि घर बनाएर सानो होटल सञ्चालन गर्दै आएको बताउँदै घर भत्काएको हप्तौँ बितिसक्दा पनि मुआब्जा कहिले पाउँछ भन्नेमा कुनै जानकारी नदिएको बताए ।
साँगादेखि धुलिखेलसम्मको नौ किलो मिटर बाटो चौडा गर्ने क्रममा त्यहाँका अनाधिकृत रुपमा बनाइएका घर टहरा भत्काइएको सडक डिभिजन कार्यालयले जनाएको छ ।