बुद्धको जन्मभूमि लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु

| 2018 Nov 14 | 03:12 pm 2325

रुपन्देही, कात्तिक  २८ :  नेपालमै पहिलो पटक बुद्धको जन्मभूमि लुम्बिनीमा ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रम आज शुरु भएको छ । लुम्बिनी बिकास कोष, अखिल नेपाल भिक्षु महासङ्घ र थाई बौद्ध विहारको संयुक्त आयोजनामा मायादेवी मन्दिर परिसरमा शुरु भएको सो तीनदिने कार्यक्रममा १८ देशका भिक्षु–भिक्षुणी, उपासक–उपासिकाहरु सहभागी छन् ।

नेपालका लागि थाइल्याण्डका राजदूत भगवत तान्सकुल, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय, संविधानसभा सदस्य दुर्गा उपाध्याय, प्रदेश सांसद फकरुद्दिन खान, अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्रीले संयुक्तरुपमा उद्घाटन गरे।

कार्यक्रममा नेपालका लागि थाइल्याण्डका राजदूत तान्सकुलले बुद्धको दर्शन विश्वमा फैलाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । भगवान् गौतम बुद्धको जन्मभूमिमा टेक्न पाउनु थाई नागरिकका लागि खुशीको कुरा भएको बताउँदै उनले पवित्र भुमिमा यस्ता कार्यक्रम हुनु बौद्धमार्गीका लागि महत्वपूर्ण हुने विचार व्यक्त  गरे ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले भिक्षुहरुको प्रयास र बौद्ध परियत्ती शिक्षाका कारण नेपालमा पनि बौद्ध धर्म फैलिँदै गएको बताए । बुद्धको शिक्षा र दर्शनको विस्तारका लागि उपासक–उपासिकाहरुले साथ दिनुपर्ने भन्दै उहाँले बौद्ध शासनको विस्तार र विकासमा लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

प्रदेश साँसद फकरुद्धिन खानले त्रिपिटकवाचन कार्यक्रमले लुम्बिनीको स्थान अझै माथि पुगेको बताए । अखिल नेपाल भिक्षु महासङ्घका अभ्यक्ष मैत्री भिक्षुले त्रिपिटक वाचन कार्यक्रमले विश्वका बौद्धमार्गीलाई लुम्बिनी आउन प्रेरित गर्ने बताए । कार्यक्रममा भिक्षु बोधिसेनले पञ्चशील प्रदान गरेका थिए ।

कार्यक्रमअघि लुम्बिनीको शान्ति दीपदेखि कार्यक्रमस्थल मायादेवी परिसरसम्म र्‍याली निकालिएको थियो । तीन दिनसम्म हुने कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटक अन्तर्गतका विनय पिटक, सूत्र पिटक र अभिधम्म पिटकको वाचन हुनेछ ।

पहिलो दिनको त्रिपिटक वाचन कार्यक्रम थाई भिक्षुहरुको नेतृत्वमा भएको छ । भोजनपछि नेपाली भिक्षुहरुको नेतृत्वमा त्रिपिटकको वाचन गरिएको छ । त्यसपछि क्रमशः बर्मा, श्रीलङ्का र क्याम्बोडियाका भिक्षुको नेतृत्वमा त्रिपिटक पाठ गरिनेछ । दोस्रो दिनको सत्रको नेतृत्व महायानी अथवा हिमाली लामा भिक्षुहरुले गर्नुहुनेछ । यसपछि चिनियाँ तथा जापानी भिक्षुहरुको नेतृत्वमा त्रिपिटक वाचन कार्यक्रम हुनेछ । तेस्रो दिनको त्रिपिटक पाठ वाचन थाई भन्तेहरुको नेतृत्वमा शुरु हुनेछ ।

तेस्रो दिनको पाठ सकिएपछि सहभागी सबैका तर्फबाट मायादेवी मन्दिरमा शान्ति पदयात्रासहित दीप प्रज्वलनपछि कार्यक्रम सकिने महासङ्घले जनाएको छ । भिक्षुहरुका अनुसार त्रिपिटक बौद्ध धर्मको प्रमुख ग्रन्थ हो । जसलाई सबै बौद्ध सम्प्रदायले (महायान, थेरवाद, बज्रयान, मूलसर्वास्तिवाद, नवयान आदि) मान्छन् । यो बौद्ध धर्मको पुरानो ग्रन्थ हो जस्मा भगवान् बुद्धको उपदेश सङ्ग्रहित छ । यो ग्रन्थ पालि भाषामा लेखिएको छ र विभिन्न भाषाहरुमा अनुवाद भएको छ । यस ग्रन्थमा भगवान् बुद्धद्वारा बुद्धत्व प्राप्त गर्दाको समयबाट महापरीनिर्वाण हुुनुअघिसम्म दिएका प्रवचनहरु सङ्ग्रह गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.