अछाम, कात्तिक २७ : जिल्लाकै सबैभन्दा ठूलो केदारनाथ मेला सोमबारबाट शुरु भएको छ । लगातार १० दिनसम्म चल्ने मेला कात्तिक शुक्ल पञ्चमीदेखि चतुर्दशीसम्म केदारनाथ देवताको पूजाआजा गरी मनाइने मेलालाई ‘जामाको जात्रा’ नामले पनि पुकारिने गरिन्छ ।
कमलबजार नगरपालिका–७ जामा गाउँमा लाग्ने यस मेलाले छुट्टै महत्व बोकेको यस क्षेत्रका मान्यजनहरु बताउँछन् । १० दिनसम्म केदारनाथ र छडाल देवताको धेवर लगाई त्रयोदशीका दिन खला नाच्ने छडाल देवताका धामी झङ्करे ढोलीले बताए ।
यो वर्ष तिथिको घटबढका कारण मङसिर ५ गते खला नाच्ने र ६ गते केदारमाडौंमा होम गरिने पुजारी मनिराम खतिवडाले जानकारी दिए । डोटेली संस्कृतिमा आधारित देवता नाच हेर्न छिमेकी डोटी, सुर्खेत, दैलेख र कैलाली जिल्लासमेतबाट दर्शनार्थीको घुइँचो लाग्ने गर्दछन् ।
यस जिल्लामा १० दिनसम्म लाग्ने एकमात्र ऐतिहासिक महत्वको केदारनाथ मेलाको यस क्षेत्रमा महत्व थप बढ्दै गएको स्थानीयवासीहरु बताउछन् । केदारनाथ देवताको पूजापाठ गर्दा अन्न, सन्तान र पशुलाभ हुने धार्मिक एवं ऐतिहासिक विश्वास रहिआएको केदारनाथका मूलधामी इन्द्रे कामीले जानकारी दिए ।
धार्मिक तथा सांस्कृतिक महत्वका यस्ता चाडपर्वको प्रचारप्रसार गरी पर्यटकलाई आकर्षण गर्न सके यस क्षेत्रको विकासले गति लिनसक्ने भन्दै यसतर्फ स्थानीय सरकार र सरोकारवालाले ध्यान दिनुपर्ने स्थानीय भीम खतिवडाको भनाइ रहेको छ ।