कांग्रेसकाे आर्थिक नीतिका लागि सुझाव सङ्कलन शुरु

| 2018 Nov 11 | 06:07 pm 1926

भक्तपुर, कात्तिक २५ : नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र एकता र मेलमिलाप आवश्यक रहेको बताएका छन् ।

आज नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिको संयोजनमा नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिअन्तर्गत आर्थिक नीति मस्यौदा समितिले आयोजना गरेको प्रदेश नं ३ अन्तर्गतका पार्टी सभापति र प्रदेश सांसदसँग पार्टीको समग्र आर्थिक नीति निर्माणका लागि सुझाव सङ्कलन कार्यक्रममा उनले उत्पादनमुखी आर्थिक नीति बन्नुपर्नेमा जोड दिए ।

उनले वर्तमान सरकारले समग्र राष्ट्रिय हितलाई महत्व नदिई पार्टीमुखी आर्थिक नीतिलाई मात्र जोड दिएको आरोप लगाउँदै उनले भने, “सरकारले अहिले लिएको सुखी नेपाली, समृद्ध नेपालको नारा हाम्रै पार्टीको नारा हो, वर्तमान सरकारबाट यो सम्भव छैन, यसलाई हाम्रो पार्टीले पूरा गर्नुपर्छ ।”

उनले वर्तमान अवस्थामा देशका १० प्रतिशत आर्थिक वृद्धिदर पुग्नुपर्नेमा छ प्रतिशत पुग्न पनि मुस्किल भएको, विदेशी लगानी घट्दै गएको र स्वदेशी पूँजी विदेश पलायन हुँदै गएको, बैंकको व्याजदर बढ्दै गएको, महङ्गी बढ्दै गएको बताउँदै नेपालमा उद्योग, व्यवसाय र कलकारखानामा वृद्धि नहुँदा रोजगारीको अवसर सिर्जना गर्न नसकिएको बताए ।

सहमहामन्त्री डा महतले काङ्ग्रेसको नेतृत्वमा शासन सत्ता आएपछि आर्थिक विकासका लागि चाल्नुपर्ने कदम कस्तो हुनुपर्छ, समृद्धिका लागि के कसरी जानुपर्छ भन्नेबारेमा स्पष्टरुपमा सुझाव दिन निर्देशन दिँदै प्राप्त सुझावलाई महासमितिमा लगेर छलफल गरिने र त्यसलाई पार्टीको केन्द्रीय समितिमा छलफल गरी निष्कर्षमा पुर्याउन पर्ने बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य गुरुराज घिमिरे, जीवनबहादुर शाही, शिवप्रसाद हुमागाईं, अर्जुन जोशी, ३ नं प्रदेशसभाका प्रतिपक्षी दलका नेता इन्द्र बानियाँ, विश्लेषक अच्युत वाग्ले, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, काठमाडौँ जिल्ला सभापति सबुज बानियाँलगायतले अब बन्ने काङ्ग्रेसको आर्थिक नीति परिणाममुखी र आत्मनिर्भर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेश नं ३ अन्तर्गतका सबै जिल्लाका पार्टी सभापति र प्रदेश सांसद गरी ४० जनाको सहभागिता रहेको छ । सहभागीहरुले पार्टीले बनाउन थालेको आर्थिक नीति निर्माणका लागि महत्वपूर्ण सुझाव दिने भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.