देशको कला र संस्कृति सारा नेपालीको साझा सम्पत्ति : सभामुख महरा

रिपोर्ट नेपाल | 2018 Nov 07 | 03:20 pm 1623

बुटवल, कात्तिक  २१ : सभामुख कृष्णबहादुर महराले देशको कला र संस्कृति सारा नेपालीको साझा सम्पत्ति भएको बताएका छन् । दाङको घोराहीमा ‘दलित कला संस्कृति प्रवर्द्धन तथा सामुदायिक विकास केन्द्र’ले आयोजना गरेको दसैँ तिहार, छठको शुभकामना आदन प्रदान तथा देउसी भैलो कार्यक्रमको उद्घाटन गर्दै सभामुख महराले यस्तो बताएका हुन् ।

‘हामी सबै जात जातिहरूको कला संस्कृति राष्ट्रको पहिचान हो’, सभामुख महराले भने, ‘यस्ता मौलिक कला संस्कृतिको संरक्षण गर्न सबै पक्ष जुट्न जरुरी छ ।’ विश्वमा नेपाल कला संस्कृतिको धनी मुलुक रहेको बताउँदै तिहारको देउसी भैलो र सोरठी थप विशेष पहिचान भएको बताए ।

उनले देउसी भैलो खेल्न सुरु भए लगत्तै तिहार आएको आभास हुने बताउँदै तिहारको रौनक नेपालीहरूका लागि बेग्लै सुखद पर्व भएको धारणा राखे । आयोजक संस्थाका अध्यक्ष मोहन परियारले आफूहरूले कला संस्कृति संरक्षण्मा अग्रणी भूमिका खेल्दै आएको बताए । संस्थाका संरक्षक तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्र मान नेपालीले लोपन्मुख मौलिक देउसी भैलो अहिलेको पिँढीले सिक्न र पछ्याउँदै जान जरुरी रहेको बताए ।

उद्घाटन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचेतक शान्त चौधरी, प्रतिनिधि सभा सदस्य रेखा शर्मा, राष्ट्रिय सभा सदस्य अनिता देवकोटा, प्रदेश सांसद अमरबहादुर डाँगी, जिल्ला समन्वय समिति उपप्रमुख श्रीधर शर्मा पौड्याल, घोराही उपमहानगरपालिका उपप्रमुख सिता न्यौपाने, तुल्सीपुर उपमहानगर उपप्रमुख माया आचार्य लगायतको आतिथ्यता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.