आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको मिति सऱ्यो

रिपोर्ट नेपाल | 2018 Nov 07 | 12:21 pm 1871

पूर्वाधार अभावका कारण आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता दुई महिनापछि सारिएको छ । यही मङ्सिर महीनामा प्रदेश नं ५ का विभिन्न स्थानमा हुने तय भएको सो प्रतियोगिता आगामी माघ २५ देखि फागुन १ गतेसम्म गर्ने गरी तय भएको राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले राससलाई जानकारी दिएका हुन् ।

‘समयमै आवश्यक सबै पूर्वाधार निर्माण हुन सकेन, पूर्वाधार नबनाई प्रतियोगिता गर्दा समस्या हुन्छ, दुई महीना पर सार्दैमा केही फरक पर्दैन’, सदस्यसचिव विष्टले भने ।

अघिल्लो महीना नुवाकोटको ककनीमा बसेको राष्ट्रिय खेलकूद परिषद् सञ्चालक समितिको (बोर्ड) बैठकले मङ्सिर ८ गतेदेखि नेपालगञ्ज रङ्गशालामा उद्घाटन गरी बाँके, बर्दिया, दाङ र रुपन्देहीका विभिन्न स्थानमा सो प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो ।

र मिति सारेको निर्णय सार्वजनिक गरे ठेकेदारले काम ढिलो गर्लान् भनेर सार्वजनिक नगरेको खुलासा गर्दै बिष्टले प्रतियोगिता नयाँ तोकिएको मितिमै हुने जानकारी पनि दिएका छन् ।

प्रतियोगिता आगामी फागुन २५ देखि चैत ५ गतेसम्म नेपालमा हुने तय भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) पनि ६ महीना सार्ने प्रस्ताव गरेको उनले बताए ।

बताइएअनुसार साग सार्ने प्रस्ताव परिषद्ले एनओसी हुँदै दक्षिण एशियाली ओलम्पिक काउन्सिललाई पठाउनेछ । त्यसपछि काउन्सिलको निर्णयअनुसार मात्र नयाँ मिति तय हुनेछ ।

भौतिक पूर्वाधार निर्माण तथा टोली तयारीमा पर्याप्त काम हुन नसकेको भन्दै दुवै ठूला खेल सार्ने निर्णय गरिएको हो । युवा तथा खेलकूदमन्त्री परिषद्को अध्यक्ष रहने तर कार्यकारी अधिकार भने सदस्य सचिवमा रहने व्यवस्था छ ।

सदस्यसचिव विष्टका अनुसार आठौँ राष्ट्रिय खेलकूदका लागि भौतिक पूर्वाधार निर्माणलाई रु ३३ करोड बजेट निकासा भइसकेको छ । यसैगरी आयोजनाका लागि पनि रु ३५ करोड आवश्यक पर्नेमा १७ करोड आइसकेको र बाँकी रकम दिन अर्थ मन्त्रालय तयार रहेको पनि बताउनुभयो । दुई वर्षअघि सातौँ राष्ट्रिय खेलकूद गर्न अर्थ मन्त्रालयले रु ३३ करोड बजेट उपलब्ध गराएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.