यस्तो छ कुकुर तिहारको धार्मिक विधान

| 2018 Nov 06 | 08:08 am 2611

आज कार्तिक कृष्ण चतुर्दशी तिथि हो । आजको यो तिथिलाई नरके चतुर्दशी अर्थात कुकुर तिहार भनिन्छ । स्कन्दपुराण वैष्णव खण्ड, भविष्योत्तर पुराण, कर्मकाण्डभाष्कर मा उल्लेख भए अनुसार कुकुर तिहारको ठूलो महत्व छ । कर्मकाण्ड भाष्करमा भनिएको छ ।

(क) प्रातकर्मः

कार्तिके कृष्णपक्षे तु चतुर्दश्यामिनोदये ।
अवश्यमेव कर्तव्यं स्नानं नरकभीरुभिः ।।
अपामार्गस्य पल्लवान् भ्रामयेच्छिरसोपरि ।
ततो वै तर्पणं कार्यं धर्मराजस्य नामभिः ।।
तैले लक्ष्मीर्जले गंगा दीपवल्याश्चतुर्दशी ।
प्रातःस्नानं तु यः कुर्याद्यमलोकं न पश्यति ।।

भावार्थ– कार्तिक कृष्णपक्षको चतुर्दशीका दिन बिहान सबेरै चन्द्रोदय भएपछि नरकको डर हुनेले अवश्य नुहाउनु । दतिवनको मुन्टा आफ्नो शीरमाथि घुमाउनु । त्यसपछि यमराजका नाम भन्दै तर्पण दिनु । कार्तिक कृष्ण चतुर्दशीका दिन तेलमा लक्ष्मी र जलमा गंगाको वास हुन्छ । यो दिन दीपावलि गर्नु ।

जो व्यक्ति त्यो दिन बिहान पवित्र तीर्थस्थलको जलमा नुहाउँछ उसले यमलोक देख्नु पर्दैन । नरकको डर हटाउन नुहाउँदा बीचमा मन्त्र पढ्दै दतिवन टाउकोमा घुमाउनु । दतिवन शीरमाथि घुमाउने मन्त्र यसप्रकार छ–
सीतालोष्ठसमायुक्त सकण्टकदलान्वित ।
हर पापमपामार्ग भ्राम्यमाणः पुनः पुनः ।।
मन्त्रको भावार्थ–जोतिएका खेतको माटोले युक्त विशिष्ट काँढा एवं पातले सहित भएकी हे दतिवन, तिमीलाई पटकपटक घुमाउँदा मेरो पापलाई नाश गर ।

नुहाइ सकेपछि लुगा नफेरी ननिचोरी मृत्युका पुत्र मानिएका दुईवटा कुकुरलाई सम्झँदै निम्न मन्त्रले दीपदान गर्नु वा सजाएर दीप बालिएको प्राकृतिक साधनले सजाएर बुनेको टपरी आदि नदीमा बगाउनु वा पँधेरामा भए पँधेराको पानीले बगाएको जस्तो गर्नु । परम्परामा यसैलाई नरके बगाउने भनिन्छ र सकेसम्म बिहान चाँडै यो कार्य गर्नुपर्दछ ।
यसरी दीपदान गर्दा (नरके बगाउँदा) पढिने मन्त्र–
शुनकौ श्यामशवलौ भ्रातरौ यमसेवकौ ।
तुष्टौ स्यातां चतुर्दश्यां दीपदानेन मृत्युजौ ।।
मन्त्रको भावार्थ–कालो एवं छिर्केबिर्के रंग भएका दुई कुकुर, जो मृत्युका पुत्र, यमराजका सेवक र नातामा दाजुभाई हुन् (ती) चतुर्दशीका दिन गरिएको यो दीपदानबाट प्रसन्न होउन् ।

यसपछि तिल मिसिएको जलले १४ वटा यमराजलाई निम्नानुसार प्रत्येक नाम तीन तीन पटक पढ्दै तीन तीन पटक तर्पण गर्नु । यमराज देवता र पितृ दुबै भएकाले सव्य वा अपसव्य भएर तर्पण गर्न सकिन्छ । बाउ जीवित हुनेले पनि यमराजलाई र भीष्मलाई तर्पण गर्न सक्दछन् ।
(१) ओम् यमाय नमः । (२) ओम् धर्मराजाय नमः । (३) ओम् मृत्यवे नमः । (४) ओम् अन्तकाय नमः । (५) ओम् वैवस्वताय नमः । (६) ओम् कालाय नमः । (७) ओम् सर्वभूतक्षयाय नमः । (८) ओम् औदुम्बराय नमः । (९) ओम् दध्नाय नमः । (१०) ओम् नीलाय नमः । (११) ओम् परमेष्ठिने नमः । (१२) ओम् वृकोदराय नमः । (१३) ओम् चित्राय नमः । (१४) ओम् चित्रगुप्ताय नमः ।

त्यसपछि नित्य पूजा सकी विभिन्न पक्वान्न र पूजा सामग्री ठीक पारी देवतासमानको विधिले कुकुरको पूजा गर्नु । धूप, दीप गर्नु, माला लगाइ दिनु, भेटी चढाउनु र उसलाई मनपर्ने खानेकुरा खान दिनु । ।

कार्तिक कृष्ण चतुर्दशीका दिन औंशी पनि पर्दछ भने अनि स्वाती नक्षत्र पनि त्यही दिन छ भने त्यही दिन दीपावली गरिन्छ । तिहारमा संस्कृति जोगाएर दीपावली गर्न चाहनेले त्रयोदशीका दिनबाट मात्र दीवावलि गर्नुपर्दछ । किन कि एकताका राजा बलिले भगवानसँग यो वर मागेका थिए कि “मैले छल गरी वामन रुप लिनु भएका हजूरलाई भएभरको भूमिदान दिएँ । हजूरले पनि त्यो दानलाई तीन दिनमा तीन पाइला नापी लिइ सक्नु भयो । त्यसैले आजबाट तीन दिन हरेक वर्ष पृथ्वीमा मेरो राज्य होस् । यि तीन दिनमा जो मानिस पृथ्वीमा दीपदान गर्दछ, त्यसका घरमा हजूरकी पत्नी लक्ष्मी अचलभावले बसून् ।” (विजुलीका रंगीबिरंगी बत्ती बाल्नु दीपदान गर्नु होइन)

यसरी बलिलाई भगवान् विष्णुले चतुर्दशीका दिनदेखि तीन दिन पृथ्वीमा राज्य गर्न दिएका हुन् । यसैले यि तीन दिन नै सबैले विभिन्न महोत्सव गरुन् ।

यही चतुर्दशीका रातमा देवी महारात्रीको पनि उत्पत्ति भएको हो । त्यसैले शक्तिको पूजा गर्न रुचाउनेहरुले चतुर्दशीको उत्सव अवश्य गर्नु ।

सूर्य तुलाराशिमा हुँदा चतुर्दशी र औंशीको साँझमा हातमा उल्का लिएर पितृका लागि बाटो देखाउनु ।
कार्तिक महिनाका कृष्णपक्षका चतुर्दशी देखिका तीन तिथि दीपदान आदिका लागि ग्रहण गर्न योग्य तिथि हुन् । यदि यि तीन तिथि लोप भएका छन् वा थोरै समयका छन् भने त्यस अघिको तिथिमा उक्त कार्य गर्नु । जस्तै–त्रयोदशी तीन मुहूर्तभन्दा कमको छ भने त्रयोदशीमा गर्नुपर्ने काम द्वादशीका दिन गर्नु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.