पहिलो पल्ट अन्तर्राष्टिय प्रतियोगितामा नेत्रहीन महिला क्रिकेट टोली

रिपोर्ट नेपाल | 2018 Nov 04 | 08:21 am 2059

चिप्लेढुङ्गा, कार्तिक १८: नेत्रहीन क्रिकेट सङ्घ नेपालको महिला टोली पहिलो पल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ।

आगामी जनवरी २६ देखि फेब्रुअरी ४ सम्म पाकिस्तानमा हुनगइरहेको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट प्रतियोगिता नेपालका दृष्टिविहीन महिला क्रिकेटर सहभागी हुने भएको हो। सो प्रतियोगिताका लागि नेपालबाट १५ जना दृष्टिविहीन महिला छनोट भएका छन्।

प्रतियोगितामा सहभागिताका लागि कात्तिक १३ देखि १५ सम्म काठमाडौँमा छनोट प्रतियोगिताको आयोजना गरिएको थियो।

वरिष्ठ क्रिकेट प्रशिक्षकद्वय अरुण अर्यालको संयोजकत्वमा, सुनोज भट्टराई र नेत्रहीन क्रिकेट अम्पायरद्वय नहेन्द्र निरौला र गीता रेग्मीको छनोट समितिले १५ जना खेलाडी छनोट गरेको हो। सो प्रतियोगिताका लागि नेपालबाट १५ जना दृष्टिविहीन महिला त्रिकेटरको सहभागी हुन लागेको कार्यक्रम संयोजक निरोज गिरीले जानकारी दिए।

छनोट भएका खेलाडीमा आशा रेग्मी, रीता थापा, हीता गुरुङ, मुना अर्याल, सुष्मा तामाङ, सरिता घिमिरे, आयुष्मा क्षेत्री, भगवती अमगाई, मनकेशी चौधरी, विमला राई, मीना क्षेत्री, आशिका चौधरी, विनिता पुन, भगवती भट्टराई, गीता पौडेल रहेका छन्।

विश्वमा नेत्रहीन महिला क्रिकेटको सुरुवात गर्ने नेपाल पहिलो देश हो । सन् २००६ देखि नै नेपालमा नेत्रहीन महिलाको क्रिकेट सुरुवात भएको थियो । सन् २०१४ मा पहिलो पल्ट नेपालमा आयोजना भएको प्रतियोगितामा नेपालले युकेको टोलीलाई पराजित गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.