बलात्कारकाे गलत मेडिकल रिपाेर्ट बनाउने चिकित्सकविरुद्ध मुद्दा

| 2018 Nov 03 | 12:20 pm 3263

जनकपुरधाम, कात्तिक १७ :  बलात्कारकाे घटनामा गलत मेडिकल रिपोर्ट बनाउने दुर्इजना चिकित्सकविरुद्ध मुद्दा दायर गरिएकाे छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बलात्कारको घटनामा गलत मेडिकल रिपोर्ट दिने डा‍. विजयकुमार सिंह र डा. रम्भा गोइतलाई पक्राउ गरेर विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेकाे हाे ।

उनीहरुविरुद्ध ‘सरकारी चिकित्सकको पद दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरेकाे’ अाराेपत्र दायर गर्दै अख्तियारले ‘हदैसम्म जेल सजाय’काे माग राखेर शुक्रबार मुद्दा दायर गरेकाे हाे ।

तर गल्ती ठहर भएर ती दुर्इ डाक्टरविरुद्ध कारबाही प्रक्रिया अघि बढाउँदा नेपाल चिकित्सक संघ जनकपुर शाखाले भने आपत्ति जनाउँदै विराेध गरेकाे छ । संघकाे जनकपुर शाखाले शुक्रबार एक विज्ञप्ती जारी गर्दै पक्राउ गरिएका दुवै चिकित्सकलार्इ अबिलम्ब रिहाइकाे माग गरेको गर्दै विराेध जनाएकाे हाे । संघले पक्राउ परेका डाक्टरद्वयलार्इ अविलम्ब रिहाइ नगरे ‘कडाभन्दा कडा कदम’ चाल्न बाध्य हुने जनाएकाे छ ।

जनकपुर अञ्चल अस्पतालमा पीडित बालिकाको शारीरिक जाँच गर्ने चिकित्सक रम्भा गोइत र विजयकुमार सिंहले न्युनतम चिकित्सकिय आचरण तथा व्यवहार विपरित मेडिकल रिपोर्ट दिएको नेपाल मेडिकल काउन्सिलले यसअघि नै ठहर गरेकाे थियाे ।

इलाका प्रहरी कार्यालय, खजुरीले गरेको अनुसन्धानअनुसार एक १२ वर्षिया बालिकाको बलात्कारसम्बन्धी स्वास्थ्य परिक्षणमा गलत रिपोर्ट दिएको आरोपमा उनीहरुलाई यस अघि नै निलम्वन गर्नुका साथै लाइसेन्स समेत रोक्का गरिएको थियाे ।

गत साउन ८ गते धनुषा जनकनन्दनीमा १२ वर्षीया बालिकाको बलात्कारपछि स्वास्थ्य जाँचका क्रममा ती दुर्इ चिकित्सकले गलत रिपोर्ट बनाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.