‘नचिनेको नम्बरबाट फोन आए कलब्याक नगर्नु’

रिपोर्ट नेपाल | 2018 Nov 02 | 12:36 pm 2417

काठमाडौं, कार्तिक १६ : विदेशीबाट नेपाली मोबाइल नम्बरहरूमा मिस कल दिने र प्रयोगकर्ताले कल ब्याक गरे उनीहरूको ब्यालेन्स काटिने समस्या पछिल्लो समस्या बढदो छ। यस्ता खालका समस्या बढ्न थालेपछि नेपालका दुई ठूला सेवा प्रदायक नेपाल टेलिकम र एनसेल दुवैले प्रयोगकर्तालाई नचिनेको विदेशी नम्बरमा कल ब्याक नगर्न सचेत गराउँदै आएका छन्।

विदेशी नम्बरबाट मिसकल आउने र कल ब्याक गर्दा ब्यालेन्स काटिने समस्याका विषयमा धेरै मौखिक गुनासो आएको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए। उपभोक्ता यस्ता समस्याबाट पीडित हुन थालेको सूचनापछि प्राधिकरणले सूचना प्रकाशित गर्दै नचिनेको विदेशी नम्बरबाट आएको कल नउठाउन र कल ब्याक नगर्न आग्रह गरेको छ।

उपभोक्ताबाट मौखिम गुनासो आउन थालेपछि ठगिनबाट बच्ने उपायसहितको सन्देश सार्वजनिक गरेको बताउँछन्। ‘उपभोक्तालाई झुक्याएर रकम ठग्ने नम्बरबारे उजुरी परे दूरसञ्चार सेवा प्रदायकलाई भनेर त्यस्ता नम्बर बन्द गर्न लगाउँछौं,’ उनी भन्छन्, ‘लिखित उजुरी परेको छैन तर विदेशको नम्बरबाट फोन उठाउँदा ब्यालेन्स काटिएको मौखिम गुनासो आएको छ।’

विशेषत: पोल्यान्ड, मलेसिया, अमेरिका, जर्मनी, दक्षिण सुडान, साउदी अरबका नम्बरबाट आउने कलमा यस्ता समस्या देखिएको उनले बताए। महानगरीय प्रहरी अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले पनि विदेशी नम्बरबाट आएको फोन कल उठाउँदा वा कल ब्याक गर्दा रकम काटिएको मौखिम गुनासो आएको बताए। ‘लिखित उजुरी नपरेकाले हामीले थप अनुसन्धान गरेका छैनौं तर ब्यालेन्स काटिने समस्या भएको मौखिम गुनासो आएको छ,’ उनले भने, ‘केही अघिसम्म चिठ्ठा परेको सन्देश पठाएर ठग्ने गिरोह सक्रिय थिए, अहिले तरिका फेरिएको रहेछ।’

नेपाल टेलिकमका सहप्रवक्ता शोभन अधिकारी ‘वाङगिरी’ बाट उपभोक्ता ठगिएको गुनासो आउन थालेपछि कम्पनीले सबै उपभोक्तालाई एसएमएसमार्फत, सामाजिक सञ्जालमार्फत नचिनेका नम्बरमा कल ब्याक नगर्न सूचना प्रवाह गरेको बताउँछन्। ‘विशेषगरी नेपालबाट कल गर्दा धेरै पैसा लाग्ने देशका नम्बरबाट प्रयोगकर्तालाई बारम्बार फोन आउँने रहेछ,’ उनी भन्छन्, ‘धेरै कल आएपछि उत्सुक भएर कल ब्याक गर्दा ब्यालेन्स काट्ने समस्या छ।’

एउटै विदेशी नम्बरबाट धेरै उपभोक्तालाई बारम्बार मिस कल हानिरहेको थाहा भए टेलिकमले त्यस्ता नम्बरलाई पहिचान गरी प्रतिबन्ध गर्ने उनले बताए। दूरसञ्चार प्राधिकरणले पनि एउटै नम्बरबाट बारम्बार मिस कल आइरहे त्यस्ता नम्बरलाई ‘रिपोर्ट’ गर्न वा ब्लक गर्न अनुरोध गरेको छ।

प्रयोगकर्ताको ब्यालेन्सबाट काटिएको रकम आफ्नो खातामा पार्न ठगहरूले यस्तो तरिका अपनाउने जानकारहरू बताउँछन्। ठगहरूले प्राय:जसो एकै पटकमा धेरै नम्बरमा मिस कल जाने प्रविधि प्रयोग गरेका हुन्छन्। जब पीडितले कल ब्याक गर्छन् उनीहरूको कल कुनै अन्तर्राष्ट्रिय हटलाइनहरूमा पुग्छ जहाँ फोन गरेको शुल्क धेरै पर्छ।

प्रायजसो यौनसम्बन्धी सेवा दिने संस्थाहरूका लागि मार्केटिक गरिदिने नाममा पनि यस्ता फेक कलहरू प्रयोग हुन्छन्। ठगहरूले आफूले मार्केटिङ गरिदिएका कारण धेरै मानिसले फोन गरेको भनेर रकम असुल्न सजिलो हुन्छ। नेपाल मात्रै नभएर धेरै देशहरूमा यस्ता ‘वाङगिरी’ मार्फत उपभोक्ता ठगिने गरेका छन्।

ठगिनबाट बच्नका लागि विदेशबाट नचिनेको नम्बरबाट आउने कल नउठाउनु र त्यस्ता नम्बरमा कल ब्याक नगर्नु नै उपयुक्त हुने प्राधिकरणका प्रवक्ता अर्यालको सुझाव छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.