चितवनको लगातार दोस्रो जित, काठमाडौं १३ रनले चुक्‍यो

| 2018 Nov 01 | 01:19 pm 1242

पोखरा, कार्तिक १५ : लगातारको हारपछि लयमा देखिएको चितवन राइनोजले आफ्नो चौथो खेलमा दोस्रो जित हात पारेको छ । पोखरा रंगशालामा भएको पीपीएलमा लगातारको विजेता टोली काठमाडौं रोयल्सलाई चितवनले १३ रनले पराजित गरेको हो ।

चितवनले दिएको १५० रनको लक्ष्य पछ्याएको काठमाडौं २० ओभर पूरा खेल्दै ९ विकेट गुमाएर १३६ रनमा समेटिएपछि चितवनले १३ रनको जित हात पारेको हो ।

चितवनले दिएको १५० रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौंको ब्याटिङ लाइन चल्न नसकेपछि काठमाडौंले चितवनलाई १३ रनले खेल सुम्पिएको हो । काठमाडौंले १३६ रन बनाउने क्रममा गौरव तोमरले ४ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ३९ रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्लले ३०, पवन शराफले २८ रन र जयकिसन कोसावालले १८ रन बनाउनुु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

त्यस्तै, काठमाडौंलाई १३६ रनमा समेट्न चितवनका कप्तान पारस खड्काले उत्कृष्ट प्रदर्शन गरे । काठमाडौंलाई अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा बलिङ गर्न आएका चितवनका कप्तान पारस खड्काले ४ रनमात्रै खर्चेर १ विकेट लिँदै काठमाडौंलाई पराजित गर्न सफल भए । उनले ४ ओभर बलिङ गर्दै २३ रन खर्चेर २ विकेट लिए ।

त्यस्तै, चितवनका लागि करण केसीले सर्वाधिक ३ विकेट लिए भने सन्नी पटेल, स्मीत पटेल र भुवन कार्कीले समान एक—एक विकेट लिए । टस हारेर पहिलो ब्याटिङ गरेको चितवनका लागि हरिशंकर शाहले उत्कृष्ट प्रदर्शन गरेका थिए । शाहले पीपीएलमा लगातार दुुई खेलमा अर्धशतक पूरा गरेका छन् । उनले यसअघि धनगढीविरुद्ध पनि अर्धशतक पूरा गरेका थिए । काठमाडौंविरुद्ध उनले ४९ बलको सामना गरेर ५ चौका र ३ छक्काको मद्दतमा ६० रन बनाए ।

चितवनका अग्रपंक्तिका ब्याट्सम्यानले राम्रो गरे पनि मध्यक्रमका ब्याट्सम्यान नचल्दा काठमाडौंले १५० रनको सामान्य लक्ष्य पाएको थियो । चितवनको पहिलो विकेटका लागि अर्का ओपनिङ ब्याट्सम्यान अनिल शाह र हरिशंकरले ५४ रनको साझेदारी पारी खेलेका थिए । त्यस्तै, चितवनका लागि स्मीत पटेल ३१, अनिल कुमार शाह २७, पारस खड्का १४ र सन्नी पटेलले १३ रन बनाएका थिए ।

टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको काठमाडौंले चितवनलाई १४९ रनमा रोक्न काठमाडौंका वसन्त रेग्मीले २ तथा नन्दन यादव र पवन शराफले समान एक—एक विकेट लिएका थिए । चितवनको लगातारको जितमा हरिशंकर शाह नायक बनेका छन् । पहिलो हारपछि काठमाडौंको ४ अंक रहेको छ भने दोस्रो जितपछि चितवनले ४ अंक पाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.