गोरखापत्रका महाप्रबन्धक उपाध्यायलाई नहटाउन सर्वोच्चको आदेश

| 2018 Oct 31 | 05:25 pm 1792

काठमाडौं, कातिक १४ : गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्त प्रकाश उपाध्यायलाई हटाउने मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले गरेको उनलाई महाप्रबन्धकबाट हटाउने निर्णय कार्यान्वयन नगर्न बुधबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो । उपाध्यायलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले भनेको यो दोस्रो पटक हो ।

चुनावको आचारसंहिता लागू भइसकेपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्ति दिएकालाई केपी ओली नेतृत्वको सरकारले हटाउने निर्णय गरेको थियो । त्यहीबेला उपाध्यायलाई पनि हटाइएको थियो ।

मन्त्रिपरिषद्को त्यो निर्णय पनि सर्वोच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि गएको असारमा उपाध्याय काममा फर्केका थिए । त्यसको झण्डै चार महिनापछि, आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई फेरि हटाउने निर्णय गर्‍यो ।

उनी फेरि आफूलाई हटाउने निर्णय गैरकानुनी भएको भन्दै रिट लिएर सर्वोच्च गए । उनको रिटमा सर्वोच्चका न्यायाधीश ईश्वरीप्रसाद खतिवडाको इजलासले मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.