डेंगु महामारी बन्‍न सक्‍ने, पोखरामा ४८ जनामा देखियो

रिपोर्ट नेपाल | 2018 Oct 31 | 08:28 am 2310

पोखरा, कार्तिक १४ : पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा ४८ जना डेंगुका संक्रमित भेटिएको छ। पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले दसैँपछि मंगलबारसम्म ४८ जनामा लामखुट्टेका कारण हुने डेंगुको संक्रमण भेटिएको जानकारी दिए। असोजको पहिलो सातादेखि डेंगुको संक्रमण फैलिएको र दसैँपछि विभिन्न स्वास्थ्य संस्थामा परीक्षण गर्न गएका उनीहरूमा संक्रमण देखिएको उनको भनाइ छ। संक्रमण देखिएकाहरूको हाल पोखराका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

पोखरामा असोजको पहिलो साता दुईजनामा डेंगुको संक्रमण देखिएको थियो। दसैँको वेला घरमा पानी भरेर राखेका भाँडा धेरै दिनसम्म खुला राखेकाले त्यसमा बसेका लामखुट्टेले टोकेर संक्रमण फैलिएको पौडेलले बताए।

पानीको संकट भएको क्षेत्रका स्थानीयले खुला भाँडामा पानी भरेर राख्ने गरेका छन्। धेरै दिनसम्म त्यसरी पानी राख्दा लामखुट्टे बसेर फुल पार्ने र त्यहीँबाट संक्रमण सुरु हुने स्वास्थ्य महाशाखाका प्रमुख शर्मा पौडेलको भनाइ छ।

यसलार्इ समयमै ध्‍यान नपुर्‍याए महामारीको रुपमा फैलन सक्न‍े भन्दै सर्तक रहन सुझाव दिएका छन्। संक्रमण फैलिएसँगै महानगरले सोमबारदेखि सतर्कता, सरसफाइसँगै संक्रमण देखिएपछि गर्नुपर्ने उपचारबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। महानगरका ३३ मध्ये १९ वटा वडामा जनचेतनामूलक कार्यक्रम गरेको पौडेलले जानकारी दिए। बाँकी वडाहरूमा समेत कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ । महानगरले वडास्तरका टोल विकास समितिका प्रतिनिधिहरूलाई भेला गरी रोगबाट बँच्न गर्नुपर्ने कामका बारेमा जानकारी दिएको छ।

यस्तो हुन्छ डेंगुको लक्षण

डेंगुका संक्रमितलाई उच्च ज्वरो आउने, शरीरका जोर्नीहरू दुख्ने, आँखाका गेडी वरिपरि दुख्ने, शरीरमा रातो धब्बा देखिने, वाकवाक लाग्ने लक्षण देखिन्छ। मानिसहरूको आवतजावत बढी हुने स्थानमा समेत संक्रमणको सम्भावना बढी हुने गर्दछ।

यदी कसैलाई यी लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य संस्थामा गई परीक्षण गर्न गौतमले सुझाब दिए। यी लक्षणसँगै कसैलाई रक्तस्राव भए त्यो कडा संक्रमणको डेंगु हुने चिकित्‍सकले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.