अध्याँरोमा निसाना लगाएजस्तै डिएनए टेस्ट, कति सयको जाँच गरिन्छ?

| 2018 Oct 31 | 07:49 am 2082

काठमाडौं, कार्तिक १४ : कञ्‍चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्‍कारपछि हत्‍या भएको तीन महिना भन्दा बढी भइसक्दा पनि दोषी पत्‍ता लगाउन सकेको छैन्। यसअघि छानविन र अनुसन्धानका नाममा विभिन्‍न चरणहरु पार गरेको अनुसन्धान टोलीले फेरि डिएनए परिक्षणलार्इ दोहोर्‍याउने भएको छ।

विभिन्‍न चरणहरुमा, गलत रिपोर्ट बनाउने, जबरजस्ती थुनामा लिएर, दोष कबुल गर्न लगाउने, अनुमानका भरमा डिएनए परिक्षण गर्ने, प्रहरी अधिकारीको निलम्बन र बर्खास्‍त आदी। फेरि निर्मला हत्याकाण्डको अनुसन्धानमा डीएनए परीक्षण प्रक्रियालाई अगाडी बढाएको कञ्चनपुर प्रहरीले मंगलवार थप ४ जनाको नमूना संकलन गरी काठमाडौं ल्‍याइएको छ। यसअघि पनि पाँच जनाको डिएनए परिक्षण भइसकेको छ। तर, उनीहरुको नमुना नमिलेपछि फेरि अन्‍यको डिएनए परिक्षण गर्ने गरेको छ।

सरकारले प्रमाण नष्ट गरेको र अनुसन्धानमा लापरबाही गरेको भन्दै दुर्इ प्रहरी अधिकारीलार्इ निल्मबन गर्‍यो तर उनीहरुमाथि नियन्त्रणमा लिएर छानविन भने हुन सकेको छैन।

प्रहरीले घटनाको अनुसन्धानका क्रममा एक सय बढीको नमूना संकलन हुन सक्ने जनाएको छ । प्रहरीसँग अन्य कुनै ठोस प्रमाण नभएपछि डीएनए परीक्षणलाई अनुसन्धानको आधार बनाएको हो । यसरी अध्याँरोमा ढुंगा हानेजस्तै गरी डिएनए पररिक्षणमा लागेको प्रहरीले कहिले सफलता पाउला र दोषी कहिले पत्ता लाग्ला भन्‍ने कुन टुंगो छैन।

प्रहरीले मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका भीमदत्त नगरपालिका १९ बाग्फाँटाका दिलिप विष्ट, भीमदत्त नगरपालिका १८ निम्बुखेडाका चक्रदेव बडु, तत्कालिन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीनपाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुश विष्टको नमुना परीक्षण गरेको थियो ।

मास डिएनए टेस्ट विश्वमै कहिलेकाहीँ मात्र हुन्छ। यो एकदमै गम्भीर विषय हो।सन् २०१४ मा पश्चिमी फ्रान्सको एउटा स्कूलको ट्वाइलेटमा एक १६ वर्षीया किशोरीको बलात्कार हुँदा ४७५ स्कूले विद्यार्थी, ३१ शिक्षक र २१ स्टाफको डिएनए स्याम्पल लिइएको थियो। त्यसैगरी सन् १९९८ मा एउटा बेलायती हत्याको केसमा ८ सय जनाको स्याम्पल लिइएको थियो। सन् १९८६ मा डन एस्वर्थको बलात्कार र हत्या केसमा प्रहरीले ४ हजार पुरुषको डिएनए टेस्ट गरेको थियो र कोलिन पिचवर्थ दोषी भएको पत्ता लगाएको थियो।

प्रहरी तथा अनुसन्धान टोली निर्मला प्रकरणको विषयमा भने सबै विषयमा जानकार हुँदाहुँदै पनि राजनीतिक दबाबका कारण हातमा लगाम लगाएर बसेकोजस्तो देखिन्छ। निर्मला प्रकरणमा मास डिएनए टेस्ट भयो भने यो नेपालको इतिहासमा पहिलो बृहत् डिएनए टेस्ट हुनेछ।

घटनाको अनुसन्धानमा खटिएका सात टोलीमध्ये चार अझै घटनास्थलमै छन्। तर पनि यति फितलो र कमजोर अनुसन्धानले न्याय पाइनेमा भने खासै आशा गर्ने ठाउँ छैन।

गत १० साउनमा ‘होमवर्क’ गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ कि १३ वर्षीय निर्मला पन्तको अर्को दिन उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटना घटेको तीन महिना भन्दा बढि समय भइसक्दा पनि हत्याराको पहिचान हुन सकेको छैन । घटनाको अनुसन्धानका लागि सातवटा छानबिन टोली गठन भए पनि प्रहरीको अनुसन्धान ‘कुहिरोको काग’ जस्तै बनेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.