पाँच वर्षमुनिका बालबालिकालाई बुथमा लिएर जाने की ?

| 2018 Oct 31 | 06:36 am 2637

काठमाडौं, कार्तिक १४: शिशु जन्मेको छ महीना पुग्यो ? अथवा पाँच वर्षमुनिको छ ? छ भने भोलि पायक पर्ने ‘बुथ’मा लिएर जाने तयारी गर्नुहोला ।

मतदान गर्न होइन नी बुथमा ! आफ्ना शिशुलाई स्वस्थ बनाउन एकैपटक चार सेवा भिटामिन ए, जुकाको औषधि (अल्वेन्डाजोल), पाखुराको नाप र बालभिटा प्राप्त गर्न। यसका लागि देशभर ३६ हजार बुथमा ६० हजार स्वयम्सेविका-स्वास्थ्यकर्मी जनशक्ति तयारी अवस्थामा रहेका छन्। कात्तिक १४ र १५ गरी दुईदिन भिटामिन ए खुवाउने कार्यक्रम सञ्चालन हुँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)लगायत बालबालिकाका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय दातृ निकायको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र सो कार्यक्रम पनि रहेको छ।

मन्त्रालयले एक वर्षमा वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते सो कार्यक्रम अभियानका रुपमा सञ्चालन गर्ने गर्दछ । यस वर्ष महान् पर्व बडादशैँ परेकाले मन्त्रालयले कात्तिक १४ र १५ गते सो अभियान सञ्चालन गर्न लागिएको हो । पहिलोचोटि यस पटक ती कार्यक्रमको नेतृत्व पालिका (गाउँपालिका-नगरपालिका)ले गर्दैछन्। “देशभरका ७५३ पालिकामार्फत् ती चारवटै सेवा प्रदान गर्न सबै तयारी पूरा भयो”, बालस्वास्थ्य शाखाअन्तर्गतका पोषण शाखा प्रमुख केदार पराजुली भन्छन्।

उनका अनुसार भिटामिन ए क्याप्सुल छ महीनादेखि पाँच वर्षमुनिका करीब २७ लाख तथा एक वर्षदेखि पाँच वर्षमुनिका २३ लाख ५६ हजार ८५३ बालबालिकालाई अल्वेन्डाजोल एक ट्याबलेट खुवाइनेछ । अल्वेन्डाजोल चकलेट स्वादमा रहेको छ। “भिटामिन ए ले बालबालिकालाई रतन्धो हुनबाट जोगाउँछ, रोगसित लड्ने क्षमतामा वृद्धि हुँदा उनीहरुलाई झाडापखाला, श्वास प्रश्वासलगायतका सङ्क्रमणबाट जोगाउँछ”, बाल स्वास्थ्य महाशाखाका प्रमुख डा झलक गौतम बताउछन्।

भिटामिन ए खुवाउने कार्यक्रम शुरु भएको लामो समय बितिसके पनि अझै चार प्रतिशत बालबालिकामा भिटामिन ए अभावको समस्या रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। यसैगरी बालबालिकाका लागि अति आवश्यक सुक्ष्म पोषक तत्वका रुपमा बालभिटा खुवाइदैछ। सन् २००८ देखि छ महीनादेखि दुई वर्षमुनिका बालबालिकालाई बालभिटा खुवाउन शुरुआत गरिएको थियो ।

बालभिटाभित्र विभिन्न १५ किसिमका पोषकतत्व मिश्रण गरिएको हुन्छ जुन बिहान खानामा मिसाएर खुवाउन पर्छ । करीब छ लाख ६० हजार बालबालिकालाई सो बालभिटा वितरण गरिनेछ । विज्ञका अनुसार २३ महीनाभित्र १८० प्याकेट बालभिटा खुवाउनु पर्छ । यस पटक बालभिटाको कार्यक्रम ४१ जिल्लामा सञ्चालनमा रहेको मन्त्रालयले जनाएको छ ।

पाखुराको नाप किन ?

मन्त्रालयले छ महीनादेखि पाँच वर्षमुनिका बालबालिकाको पाखुराको नाप लिन अनिवार्य गरेको छ । “पाखुराको नापले बालालिकाको पोषणको स्थितिलाई देखाउँछ। नापले रातो, पहेँलो र हरियो अवस्था देखिन्छ।

रातोले कडा कुपोषित, पहेँलोेले मध्यम र हरियोले कुपोषित अवस्था देखाउँछ”, पोषणशाखा प्रमुख पराजुली भन्छन्। कुपोषित देखिएका बालबालिकाका अभिभावकलाई पोषण खानाको महत्व, स्थानीय तहमा अन्न तथा फलफूलमा पाइने पोषणका बारेमा जानकारी एवं लिटोका लागि पीठोसमेत वितरण गरिने कार्यक्रम रहेको छ ।

बाल स्वास्थ्य महाशाखा प्रमुख डा गौतमका अनुसार यस पटक ती कार्यक्रमका लागि ३६ हजार बुथ रहने छन् । ती बुथमा ६० हजार स्वास्थ्यका जनशक्ति परिचालन हुने छन् । पहिलो दिनमा स्वयम्सेविका-स्वास्थ्यकर्मीले बुथमा आएका बालबालिकालाई ती सेवा प्रदान गर्नेछन् । पहिलो दिनमा छुटेका बालबालिकालाई स्वयम्सेविकाले दोस्रो दिन घर घरमा गई ती सेवा प्रदान गर्ने छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.