प्रहरी प्रशासनले अब नयाँ तरिकाले काम गर्नुपर्छ : मुख्यमन्त्री भट्ट

रिपोर्ट नेपाल | 2018 Oct 28 | 04:12 pm 3709

धनगढी, ११ कात्तिक : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाज रुपान्तरणको चरणमा रहेको वर्तमान अवस्थामा हरेकले आफूलाई रुपान्तरण गरेर काम गर्न जरुरी भइसकेको बताएका छन् । नेपाल प्रहरीले आजदेखि शुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री भट्टले प्रहरी प्रशासनले पनि नयाँ तरिकाले कार्य सम्पादन गर्नु जरुरी रहेको बताएका हुन् ।

शान्ति सुव्यवस्था सुदृढ र भरपर्दो बनाउन समाजका सबै तप्काले एकजुट भएर काम गर्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री भट्टले भने, ‘‘हिजोको सोच, चिन्तन, कार्यशैली र व्यवहार परिवर्तन गरेर नयाँ तरिकाले जान आवश्यक छ ।”

प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले पछिल्लो समयमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यमा फितलो भइरहेको भन्ने जनगुनासो बढेकोप्रति सचेत हुन जरुरी  भएकाे बताए। धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापालगायतले प्रहरीले आजदेखि कार्यान्वयनमा ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम समाजमा शान्तिसुरक्षा र अमनचयन कायम राख्न सान्दर्भिक रहेको बताए । ७ नं प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक विक्रमबहादुर चन्दले समुदाय–प्रहरी साझेदारी कार्यक्रमको अवधारणामाथि प्रकाश पारेका थिए ।

नेपाल प्रहरीले समाजमा विभिन्न अपराध, विकृति–विसङ्गति रोकथाम गर्दै शान्ति सुव्यवस्था र अमनचयन कायम राख्न समुदाय, स्थानीय तह, सामाजिक सङ्घसंस्था, विद्यालयलगायतलाई जोडेर नयाँ समुदाय प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयमा ल्याएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.