काठमाडौं, कार्तिक ११: लोकसेवा आयोगले निजामती सेवाको विभिन्न पदमा रिक्त दरबन्दीमा पदपूर्तिका लागि विज्ञापन गर्ने वार्षिक कार्यातालिका परिवर्तन गरेको छ। आयोगले नेपाल सरकारको आग्रहअनुसार वार्षिक कार्यतालिका परिवर्तन गरेको जनाएको छ।
नयाँ कार्यतालिका अनुसार आयोगले सहसचिव, उपसचिव तथा एघारौँ र नवौँ तहमा पदपूर्तिको विज्ञापन मंसिर अन्तिम साताको बुधबार प्रकाशित गर्ने भएको हो।
आयोगले शुक्रबार नयाँ कार्यतालिका सार्वजनिक गरेको हो। आयोगको नियमित कार्यातालिकाअनुसार हरेक वर्ष असोजको अन्तिम बुधबारबाट रिक्त रहेको दरबन्दीमा पदपूर्तिको विज्ञापन प्रकाशित गर्दै आएको थियो।
यो वर्ष भने सरकारको आग्रहमा दुई महिना ढिला गरी विज्ञापन गर्ने भएको हो । कर्मचारी समायोजन नहुँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त दरबन्दीको विवरण दिन सकेन।
सरकारले रिक्त दरबन्दीको विवरणसहित आयोगसँग कर्मचारी माग गर्ने र आयोगले हरेक वर्ष खुल्ला विज्ञापनमार्फत कर्मचारी भर्ना गर्दै आएको थियो। तर, प्रदेश र स्थानीय तहको सेवा ऐन नबनी कर्मचारी समायोजन गर्न नसकिने, कर्मचारी समायोजन नभएसम्म कुन पदमा कति दरबन्दी रिक्त छ भन्ने यकिन नहुँदा लोकसेवा आयोगले विज्ञापन प्रकाशित गर्ने कार्यतालिका परिवर्तन भएको हो।