गुल्मी, कार्तिक १० : नेपाल मगर संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला सदस्य श्रीप्रसाद भलामीले सत्ता उन्मादले कम्युनिष्ट आफै समाप्त हुने बताएका छन् ।
आज शनिबार नेपाली कांग्रेस वडा कार्य समिति रेसुङ्गा नगरपालिका वडा नम्बर १० सिमिचौरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मन्तब्य दिँदै उपाध्यक्ष भलामीले उक्त कुरा बताएका हुन् ।
उनले बहुमत प्राप्त कम्युनिष्ट सरकारले देखाएको रवैया अव आम जनताले स्वीकार गर्न नसक्ने बताए । वर्तमान सरकारले सत्ताको मातमा जनतालाई दुःख दिएको आरोप लगाउँदै भलामीले अव कम्युनिष्ट आफ्नै कारणले पतन भएर जाने ठोकुवा गरे ।
प्रतिपक्षको रुपमा रहेको नेपाली कांग्रेसले सरकारका हरेका कामको मूल्याङ्कन गरी पार्टी अगाडि बढ्ने बताए । त्यस्तै नेपाल तरुणदलका जिल्ला सभापति भरत भलामीले तरुण युवाको नेतृत्व विना राजनीतिक मात्र नभएर सामाजिक, आर्थिक लगायत सबै विषयको विकास हुन नसक्ने धारणा व्यक्त गरे ।
उनले भने ‘सक्षम र सवल युवालाई नेतृत्व दिन पार्टी पछि पर्नु हुदैन, पार्टीमा क्रियाशिल देखि विकासको गतिविधिमा मन्द देखिएकाले युवाहरुलाई सचेत बनाई अगाडि बढाउनु पर्दछ । ’
कार्यक्रममा शुभकामना आदान प्रदान लगायत पार्टीको वर्तमान अवस्था र भावि योजनाका बारेमा विशेष छलफल गरिएको थियो । छलफलमा कांग्रेसले देशभरि नै महिला हिंसा, बलात्कार लगायत जघन्य अपराध भईरहेका बेला सरकार चुप लागेर बसेको र सरकारले विभिन्न हिंसात्मक गतिविधीहरुमा संलग्न दोषिहरुलाई कारबाही गर्नु पर्ने माग गरेको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य थम्मन बहादुर खत्री, नेपाली कांग्रेस नगर कार्य समितिका सभापति छवि पाण्डे, नेपाल शिक्षक संघ पाँच नम्वर प्रदेशका उपमहासचिव बमबहादुर राना, समाजसेवी, वुद्धिजीवि, नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस रेसुङ्गा नगरपालिका १० का वडाका सभापति निरबहादुर थापाको सभापतित्व कार्यक्रमको सञ्चालन वडाका सचिव रामबहादुर बस्नेतले गरेका थिए ।