राजधानीमा बढ्‍यो डेंगु संक्रमण

रिपोर्ट नेपाल | 2018 Oct 26 | 08:03 am 1800

काठमाडौं, कार्तिक ९: राजधानीमा लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको संख्या बढेको छ । पछिल्ला दिन बालाजु, ढुंगेधारा क्षेत्रमा यसको संक्रमण देखिएको छ ।

‘ढुंगेधारास्थित निजी क्लिनिकका चिकित्सकले दसैंअगावै त्यहाँ ७ जनामा डेंगु देखिएको रिपोर्ट गरेका थिए,’ इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक विवेककुमार लालले भने, ‘हालसम्म प्राप्त जानकारी विश्लेषण गर्दा त्यस क्षेत्रमा डेंगु फैलन सुरु भइसकेको छ।’

ढुंगेधारा क्षेत्रका अनुप रानामगर दसैंमा डेंगुको उपचार गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए। उनलाई रैथाने लामखुट्टेले टोकेको डा. शेरबहादुर पुनले बताए।

‘राना पाँच महिनायता राजधानीबाहिर गएका छैनन्। उनमा स्थानीय लामखुट्टेबाट डेंगु सरेको हो,’ पुनले भने। उनले ढुंगेधारा क्षेत्रका ९ जनाजतिले टेकुमै उपचार गराइरहेको बताए।

यसअघि राजधानीमा फाट्टफुट्ट डेंगु संक्रमण देखिँदै आए पनि एकै ठाउँ यति धेरै संख्यामा थिएन। राजधानीमा डेंगुविरुद्घ अभियान आवश्यक भइसकेको डा.लालको भनाइ छ।

‘डेंगु सार्ने लामुखुट्टे एडिस एजेप्टाई राजधानीमा प्रशस्त पाइएको छ,’ उनले भने। काठमाडौंमा छतछतमा रहेका ट्यांकी र पानी राख्ने भाँडा यस्ता लामखुट्टे बढाउने कारक बनेका छन्। डेंगु सार्नेलामखुट्टेले सफा पानीमा प्रजनन गर्छ। डेंगु एडिस एजेप्टाई नामक पोथी लामखुट्टेबाट सर्छ जसले दिउँसो मात्र टोक्छ। संक्रमितलाई टोकेको लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा डेंगु सर्छ।

सन् २०१८ को हालसम्म देशभरि डेंगुका ९३ जना बिरामी देखिएका छन्। एक जनाको मृत्यु भएको छ। भारतका केही सहरमा लामखुट्टे बढाउने वातावरण बनाउने घरधनीलाई ५० हजारसम्म जरिवानालगायत दण्डसजायको प्रावधान राखिएको डा.लालले बताए।

‘समयमै चेत्नु आवश्यक छ। काठमाडौंजस्तो सहरमा डेंगुको प्रकोप देखिए नियन्त्रण गर्न धेरै गाह्रो पर्छ,’ उनले भने। डा. पुनका अनुसार डेंगुको खास उपचार छैन। यसले संक्रमित व्यक्तिकोशरीरमा रगत जम्ने प्रक्रिया अव्यवस्थित बनाइदिन्छ। ‘सबभन्दा घातक अवस्थामा डेंगुले सम्पूर्ण शरीरमा रक्तस्राव गराइदिन्छ,’ उनले भने। नेपालमा सन् २००४ मा डेंगुको पहिलो बिरामी भेटिएका थिए।

ती विदेशी नागरिक थिए। २००६ मा चितवनमा भने यो प्रकोपकै रूपमा देखियो। २०१० मा सबभन्दा बढी ९ सय १७ बिरामी भेटिएका थिए। तीमध्ये पाँच जनाको मृत्यु भयो। विश्व स्वास्थ्यसंगठनका अनुसार केही दशकयता डेंगु संक्रमण नाटकीय ढंगले बढेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.