काठमाडौं, कार्तिक ९: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गरेका छन्।
प्रचण्ड शुक्रबार भारतका दिवंगत पूर्वप्रधानमन्त्री अटल विहारी बाजपेयीको सम्झनामा इण्डिया फाउन्डेसनले गर्न लागेको कार्यक्रम ‘इन्डिया आइडिया कन्क्लेभ-२०१८’ मा भाग लिन भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन्। शुक्रबार बिहान ८ बजे दिल्ली प्रस्थान गरेका प्रचण्ड आजै राति नेपाल फर्किने गरि कार्यतालिका तय भएको छ।
प्रचण्ड नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीसंग परामर्श गरेर दिल्ली जान लागेको बताइएको छ। तर, प्रचण्डले दिल्लीको एक दिने बसाइका क्रममा क-कसलाई भेट्ने भन्ने बारेमा केही खुलाइएको छैन् ।
प्रचण्ड जान लागेको कार्यक्रमको आयोजक संस्थाको अध्यक्ष भने सत्तारुढ भारतीय जनता पार्टीका महासचिव राम माधव रहेका छन्। त्यसै सो कार्यक्रममै भारतीय जनता पार्टीका विभिन्न नेताहरुसंग भेट हुन सक्ने बताइएको छ।
अध्यक्ष प्रचण्डले यसअघि २१ भदौमा भारतको भ्रमण गरेका थिए। त्यतिबेला इन्डियन काउन्सिल अफ वल्र्ड अफेयर (आईसीडब्लूए) को कार्यक्रममा सम्बोधन गर्न गएका प्रचण्डले महत्त्वपूर्ण राजनीतिक भेटघाट गरेका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विदेश मन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहलगायत नेतासँग उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका थिए।