घोषणाको आत्मरतिमा रमाउन प्रधानमन्त्री पद !

| 2018 Oct 24 | 09:44 am 2646

काठमाडौं- प्रधानमन्त्री पद मुलुककै सर्वोच्च कार्यकारी निकाय हो। प्रधानमन्त्री पद व्यक्ति मात्र होइन, यो एक संस्था हो। जसले मुलुको हित र जनताको आधारभूत आवश्‍यकतामा गम्भीर बन्‍नुपर्ने उत्दायित्व बहन गरेको हुन्छ। प्रधानमन्त्रीको अभिव्यक्तिलार्इ मुलुककै अभिव्यक्ति र आधिकारिक धारणाका रुपमा चित्रित गरिन्छ।

तर, गणतान्त्रिक मुलुकका प्रधानमन्त्री केपीशर्मा ओलीको बोलीको भने कुनै टुंगो छैन। कहिलेकाँही त उनी आफैंले पनि के बोले भनेर सायद कार्यकर्ता र आसेपासेलार्इ सोध्छन् होला। उनको हरेक अभिव्यक्तिले जनता हसाउने काम गरिरहेका छन्। प्रधानमन्त्रीले गरेका घोषणा औपचारिक मानिन्छन्। तर, यहाँ प्रवृति त्यस्तो देखिएन।

प्रधानमन्त्री पहिलोपटक निर्वाचित हुँदादेखि नै घोषणाको बाढी ल्याए। उनले गरेका घोषणाहरुमा कुनै अध्ययन, अनुसन्धान र वस्‍तुस्थितिको नजरअन्दाज गरिएका थिएनन्। उनले पहिलोपटक प्रधानमन्‍त्रीको पदभार ग्रहण गरेकै दिन उनले आफैँ अध्यक्ष रहेको लगानी बोर्डबाट हावाबाट तीन हजार मेगावाट विद्युत निकाल्ने घोषणा गरेका थिए। त्यसको अहिलेसम्म कुनै सम्भाव्यता अध्ययन समेत भएको पाँदैन। उनको बोली केवल हावामै सिमित भएको छ।

त्यसपछि पहिलो कार्यकालमै पाइपलाइन जोडेर घर-घरमा ग्यास पुर्याइदिने घोषणा गरेका थिए। त्यसको कार्यान्वयनको कुनै अत्तोपत्तो छैन। सोही कुरालार्इ जोड दिंदै आफ्नो दोस्रो कार्यकालमा एक सहकारीले निर्माण गरेको गोबरग्यास उद्घाटन गर्दै अब सिलिण्डरका डल्ला बोक्ने युगको अन्त्य भएको घोषणा भएका थिए। उक्त घोषणाको एक महिना नबित्दै उक्त गोबरग्यास प्लान्ट बिग्रियो र अहिलेसम्म बन्‍न सकेको छैन।

काठमाडौंमा पाँच वर्षभित्र मेट्रो रेल चलाउने घोषणा गरेका थिए। काठमाडौंमा मेट्रो रेल चलाउने प्रधानमन्त्रीको सपनाबारे रेल विभाग भने पूर्ण रुपमा अनविज्ञ छ। प्रधानमन्त्री ओलीले अरु देशले पानीजहाज खरिद गरेर संचालन गर्न सक्छन् भने नेपालले किन सक्दैन भन्दै नेपालले अब आफ्नै पानी जहाज चलाउने घोषणा गरे। त्यसको न त कुनै अध्ययन गरिएको छ न त फलोअप नै गरिएको छ।

प्रधानमन्त्री ओलीको अर्को दाबी हो, दुई वर्षभित्र नेपालमै पेट्रोल उत्पादन गर्ने। यता पेट्रोलको मूल्य आकासिएर जनता सडकमा आउँदा पनि प्रधानमन्त्री, सरोकारवाला निकाय वा सोही पार्टीका कुनै नेता कार्यकर्ताले ओलीकै कुरा दोहोर्‍याएर जनतालार्इ आश्वासन दिन सकेनन्। उनले बोलेको विषयमा प्रधानमन्त्री ओलीबाहेक अरु अनविज्ञ छन्।

एउटै विषयमा भारतीय प्रधानमन्त्रीको बोलीको प्रशं‌सा, ओलीको आलोचना

नेपाली क्रिकेटर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) मा गरेको प्रदर्शनबारे प्रधानमन्त्री केपी शर्मा ओलीको बोली निकै आलोचित बन्‍यो। जहाँकी सोही प्रसंगमा बोलेका भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिको भने सबैले प्रशंसा गरेका थिए। ओली भनेका थिए, ‘सन्दीप लामिछानेलाई नै हेर्नुस् न, दुई–चार डल्ला के फ्याँकेको थियो, चम्किहाल्यो । चान्स पायो कि नेपालीले गर्छ । चान्स पाउनुपर्‍यो नि ?’

जुन दिन सन्दीप लामिछानेले आइपिएलमा आफ्नो पहिलो खेल खेले, त्यस दिन बिहानै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि उनको चर्चा गरेका थिए । नेपाल भ्रमणमा रहेका मोदीले भनेका थिए, ‘भारतमा अहिले आइपिएल चलिरहेको छ, नेपाल पनि आइपिएलमा जोडिएको छ, सन्दीप लामिछानेले आइपिएलमा भाग लिइरहेका छन्, आउने समयमा क्रिकेटबाट मात्र होइन, अन्य खेलका माध्यमबाट पनि दुई देशबीच र जनता–जनताबीचको सम्बन्ध मजबुत हुनेछ ।’

भाषण गर्दा हँसाउन सक्ने भए पनि यस्ता विषयमा बोल्दा मोदी प्रधानमन्त्री पदमा हुनुपर्ने गम्भीरता कायम राखेका थिए भने नेपालका प्रधानमन्त्रीको टिप्पणी भने आलोचित बन्न पुग्यो। प्रधानमन्त्रीले नै खेल र खेलाडीलार्इ होच्याएर बोलेको भन्दै गुनासो गरे। उनीहरुले प्रधानमन्त्रीले सम्मानित शब्द चयन नगरेको भन्दै गुनासो गरेका थिए।

संसदमै गैरजिम्मेवार अभिव्यक्ति

संसद्‍मै उठेका कतिपय विषयमा पनि प्रधानमन्त्री ओलीले गैरजिम्मेवार जवाफ दिएका थिए। पेट्रोलियमको मूल्यवृद्धिका विषयमा संसद्मा जवाफ दिँदै उनले भनेका थिए, ‘म अलिक सानो हुँदा ५० पैसा माना घ्यू, ९० रुपैयाँ तोला सुन आउँथ्यो । अब अहिले त्यो भाउ निकै बढिसक्यो, सभामुख महोदय, तीन महिनाको मात्र हिसाब गर्नुभएछ साथीहरूले ।’

प्रधानमन्त्रीजस्तो सम्मानित व्यक्तिले संसदमा बोल्दा यसरी गैरजिम्मेवार जवाफ दिंदा जनताले के अपेक्षा गर्छन। स्वभाविक मूल्यवृद्धि हरेक वस्तुमा भएपनि त्यसलार्इ बोल्दा मर्यादित र सुन्दा औपचारिक लाग्‍नुपर्छ। एक जना गोठाले अर्को गोठालालार्इ फर्काएको जवाफ संसदमा दिंदा मुलुकको गरिमामा नै आँच पुग्छ। मुलुकको प्रधानमन्त्रीजस्तो मान्छेले पदीय उचाइको मर्यादा राखेर बोल्नु व्यक्तित्व र देशका लागि पनि हितकर हुन्छ।

अझ अरू मुलुक वा विदेशी निकायसँग जोडिएको विषयमा प्रधानमन्त्रीको बोल्ने शैली अपरिपक्व रहेको कूटनीतिका जानकारहरूले पटक-पटक टिप्पणी गरेका छन्। प्रधानमन्त्रीले आफूले बोल्नैनपर्ने विषयमा हतारमा बोल्ने र मुलुकको कार्यकारी प्रमुखलाई नसुहाउने शैलीमा बोल्ने गरेको उनीहरूको भनाइ छ।

‘हावा’ घोषणा कहिलेसम्‍म ?

घर–घरमा ग्यास पाइप लाइन पुर्‍याउने घोषणा गरेका प्रधानमन्त्री ओली फेरि एकाएक ६ कार्तिक मंगलबार ललितपुरमा लुम्बिनी विकास कोषसँगको सहकार्यमा साझा यातायातले सञ्चालनमा ल्याएको बिजुली बसको उद्घाटन गर्दै भने, ‘ अब ग्यास पाइपलाइन होइन् सबै चुलोमा बिजुलीको तार पुगाइन्छ।’ प्रधानमन्त्री ओलीले विज्ञान–प्रविधिको विकासले चाँडो-चाँडो फड्को मारेकाले अब ग्यास नभई बिजुली तिर लाग्‍ने बताए।

उनले बोलेको कुरा असम्भव भने होइन। तर, हावामा घोषणा कहिलेसम्म ? त्यसको आधार र अध्ययन नभर्इ हावामा बोल्नु लोकलार्इ हसाउनु सिवाय केही होइन्। प्रधानमन्त्रीजस्तो मान्छले विना अध्ययन मुखमा आएको बोल्दा पदप्रतिको विश्वसनियतामाथि प्रश्‍न उठ्छ। प्रधानमन्त्रीजस्तो गरिमामय र सम्मानित संस्थालार्इ सतही कुरा गरेर हसीमजाको विषय बनाउनु गम्भीर गल्ती हुनेछ।

प्रधानमन्त्रीले अमरत्व प्राप्त गर्दे उद्देश्‍ले ‘मैले उहिले भनेको थिए, अहिले आएर भयो’ वा त्यो बेला परिस्थिति मिलेन भनेर आफूले घोषणा गरेको भन्‍ने आत्मरतिमा कति रमाउने। कार्यान्वयन र लगानी गर्न सके असम्भव भने केही छैन। तर, प्रधानमन्त्रीले यस्ता विषयमा गैरजिम्मवार र आत्मरतिमा रमाउने उद्देश्‍यले दिइएका यस्ता अभिव्यक्ति भने जनतालार्इ आश्वस्त पार्ने भन्दा पनि वितृष्णा पैदा गराउँछ।

प्रधानमन्त्रीले समृद्ध नेपाल र सुखी नेपालीको नारा अघि सारेका छन्। त्यसका लागि राज्यकै ढुकुटीबाट तलब सुविधा पाउने गरी सल्‍लाकार टोली, विज्ञ टोली, अध्ययन, अनुसन्धान र अनुगमन आवश्‍यक गर्ने निकाय पनि छ। तर, उनीहरुले सल्लाह नदिएर हो वा प्रधानमन्त्रीले सल्लाह नलिएर हो ? प्रधानमन्त्रीले बोलेका हरेक अभिव्यक्ति आलोचित हुने गरेका छन्। त्‍यसको मुल कारण हो विना अाधारप्रमाण हावाका भरमा बोल्नु। अब यो क्रम कहिलेसम्म ?

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.