चीन, कार्तिक ७: चिनिया राष्ट्रपति सी जिनपिङ र हङ्कङकी प्रमुख कार्यकारी क्यारी ल्यामको उपस्थितिमा मंगलबार उद्घाटन गरिएको समुद्रमाथिको संसारकै लामो पुल बुधबारबाट खुला गरिएको छ। नौ वर्षमा २० अर्ब अमेरिकी डलरको लागतमा बनाइएको उक्त पुल ५५ किलो लामो छ।
हङकङ मकाउलगायत दक्षिणी चीनका नौ सहरलाई समेटेर तयार गर्न लागिएको ग्रेटर बे एरिया बनाउने चिनियाँ योजनाको एउटा अंशको रूपमा यो पुल निर्माण गरिएको हो। ग्रेटर बे एरियामा ६ करोड ८० लाख मानिस बसोवास गर्छन्। पुल निर्माणपूर्व झुहाईदेखि हङकङ पुग्न चार घन्टा लाग्नेमा नयाँ पुल बनेपछि ३० मिनेटमै यात्रा पूरा हुनेछ।
‘ग्रेटर बे एरिया’ नाम दिएको यो क्षेत्र अमेरिकाको चर्चित सिलिकन भ्यालीलाई प्रतिस्पर्धा दिन सक्ने गरी बनाइँदैछ। अघिल्लो महिना मात्र चिनियाँ मूलभूमिसँग हङकङलाई तीव्र गतिको रेलमार्गले जोडियो।
आलोचकहरुले अबौं डलरको यस पुल हङकङमा बढ्दै गएको चीन विरोधी धारणालाई मत्थर पार्नको लागि हङकङको चीनसँगको समायोजनको गति बढाउन बनाइएको आरोप लगाएका छन्।
हङकङ र मकाउ चीनको अभिन्न अंग भए पनि उनीहरु आफ्नै अलग सरकार, कानुनी प्रणाली र नीति भएका विशेष प्रशासनिक क्षेत्र हुन् । स्वशासनका पक्षधरहरुले यस पुल हङकङमाथि चीनको नियन्त्रण बढाउन ल्याइएको बताइरहेका छन् ।
पुलमा गाडी चलाउने चालकहरुको मुटुको रफ्तार र ब्लड प्रेसरको निगरानी निरन्तर गरिनेछ। र यी सुचना पुलको कन्ट्रोल सेन्टरमा पुग्नेछ । हङकङका मिडियाको रिपोर्ट अनुसार पुलमा गाडि चलाइरहेका ड्राइभरमाथि पनि क्यामेराको निगरानी हुनेछ ।
यदी कुनै चालककले २० सेकेण्डभित्र तीन पटकभन्दा बढी हाई गरेमा ‘हाई निगरानी क्यामेरा’ले खतराको सुचना दिनेछ ।
निश्चित व्यक्तिलार्इ मात्र पहुँच
हुनत पुलले चिनियाँ स्वशासित क्षेत्रहरु हङकङ र मकाउलाई चिनियाँ मुलभूमीको अझ नजिक ल्याउन लक्ष्य लिएको छ तर चुनिएका मानिसहरुले मात्र यस पुलमा पहुँच पाउनेछन् ।
हङकङका जनतालाई पुल पार गर्नको लागि विशेष परमिटको आवश्यकता पर्नेछ । हङकङबाट झुहाई प्रवेश पाउनको लागि केही कडा सर्तहरु पुरा गर्नेलाई मात्र दीर्घकालिन खालको विशेष परमिट दिइने रिपोर्टहरु पनि आइरहेका छन् । यी सर्तहरुमा चीनलाई उलेख्य कर बुझाएको, चीनको दक्षिण प्रान्त ग्वाङदोङ क्षेत्रमा ठूलो रकम अनुदानमा दिएको र थुप्रै मध्य एक राजनीतिक संगठनको सदस्यता रहेको मानिएको छ ।
अन्यले भने एक निजी बस लिन सक्छन् । यो पुलमा सार्वजनिक यातायात भने चल्ने छैनन् ।
पुललाई लिएर हङकङवासीमा असन्तुष्टि
हङकङका अनलाईन प्रयोगकर्ताहरुले पुलको सिमित प्रवेशप्रति गुनासो गरेका छन् ।
“हङकङकै करदाताले तिरेको त्यत्रो पैसा प्रयोग भएका पुल… तर हामीहरु सबैलाई नै खुल्ला गरिएको छैन,” एक जना हङकङ निवासीले साउथ चाइना मर्निङ पोष्टमा टिप्पणी गरेका छन् ।
लोकतन्त्र पक्षधर कानुनकर्मी एडीले यस पुललाई ‘तत्काल आवश्यक नहरेको एक राजनीतक रुपले प्रेरित विशाल संरचना’ भने ।
झुहाईको उत्तरतर्फ अर्को पुल सेनझेन र झोङशान नजिक बनिरहेको छ । उक्त पुलको निर्माण पछि सन् २०३० सम्ममा हङकङ–झुहाई–मकाउ पुलमा यातायातको चाप उलेख्य घट्नेछ ।
“यो कुराले पनि यो अनावश्यक रहेको देखाउँछ,” उनले भने ।
कुन साइडमा चल्ने छन् गाडी ?
हङकङ र मकाउमा सवारीसाधन देब्रेबाट चलाइन्छ । तर मुलभूमि चीनमा भने गाडी दाँयाबाट चल्छ । यसले पुलमा गाडि कुन साइडमा चल्ने भनेर मानिसहरुमा अन्यौलता निम्त्यीएको छ ।
पुललाई मुलभूमि चीनको भूभाग मानिने भएकाले चालकहरुले पुलमा रहँदा गाडि दाहिनेबाट चलाउनुपर्ने हङकङको यातायात विभागले बताएको छ । विभागका अनुसार यस सहरका चालकले पनि पुलमा सोही नियम पालना गर्नुपर्नेछ।
हुन त सुरुमै साइड बदल्नका लागि केही सिर्जनात्मक समाधानका विकल्पहरु पनि अघि ल्याइएका छन्। यसमा डच आर्किटेक्टको समुहले प्रस्ताव गरेको पर्ल रिभर नेकलेस नाम दिइएको एक ‘फ्लिपर पुल’ विशेष चर्चामा रह्यो । तर पछि भने परम्परागत उपाय अपनाइयो । अब कारलाई पुल प्रवेश गर्नु अघि विशेष रुपमा निर्माण गरिएको ‘मर्ज पोइन्ट’मा रोकेर साइड बदल्न लगाइनेछ।