दशैंमा खिचिएका यी तस्बिर किन भए भाइरल ?

| 2018 Oct 22 | 10:29 am 10374

काठमाडौं, कार्तिक ५ : नेपालीहरुको महान चाड बडादशैं सकिने संघारमा छ। बडादशैंको दिन खिचिएका तस्बिरहरु सामाजिक सञ्‍जालमा छ्‍याप्छ्याप्ती भए। सबैले आफन्तसँग खिचेका तस्बिरहरुले आफ्ना सामाजिक सञ्‍जालका भित्ताहरु रंग्याए। तिनैमध्ये केही तस्बिरहरु प्राय सबैका समाजिक सञ्‍जालका भित्तामा साझा रुपमा झुण्ड्याइए। ती तस्बिहरु राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलार्इ टीका, जमरा लगाउँदै गरेको र केही अन्य व्यक्तिहरुलार्इ टीका-जमरा लगाएका तस्बहरु हुन्।

प्रश्‍न यहाँ उब्जिन्छ कि, आखिर किन यी तस्बिर भाइरल भए र अन्य व्यक्तिहरुले आफ्ना आफन्तसँग खिचेका तस्बिरहरु केवल उनीहरुमा भित्तामा मात्र सिमित किन भए। यसको जवाफ जति सजिलो छ, त्यती नै गम्भीर। किनकी यी विशिष्ठ व्यक्तित्वहरु हुन्। कुरा ठिकै हो। विशिष्ठ व्यक्तिहरुको विशेष महत्‍व हुन्छ, त्यसकारण यती धेरै भाइरल भए होलान्। तर, कुरो यतिमामात्र सिमित छैन।

पहिले राजाको शासनकालमा राजालार्इ भगवानका रुपमा मानिन्थ्यो र राजालार्इ पुजा गर्ने प्रचलन थियो। विस्तारै राजा जनतासँग नजिक भए जनतालार्इ बोलाएर एकदिन टीका लगाउने परम्परा बन्‍यो। पछि त्यही उनको संस्कार बन्‍यो र हरेक दशैंमा राजाले सर्वसाधारणलार्इ टीका जमरा लगाएर आशिष दिन थाले। त्यसलार्इ जनताले पनि भगवानकै आर्शिवादको रुपमा लिन्थे।

दशैंमा आफूभन्दा अग्रज तथा मान्‍यजनबाट टीकाजमरा लगाउनु पर्ने प्रचलन छ। तर, पदीय हिसाबमा मुलुककै शक्तिशाली प्रधानमन्त्री र राष्ट्रपतिले पनि दशैंमा सर्वसाधारणलार्इ टीकाजमरा लगाइदिन थालेको प्रति केही उनकै पार्टीभित्र र बाहिरबाट विरोध र आलोचना भयो। पूर्वप्रधानमन्त्री बाबुराम भट्टरार्इले त सार्वजनिक रुपमै हुकुमीशैली भयो भन्दै विरोध गरे। प्रधानमन्त्री जननिर्वाचित हुन् र राष्ट्रपति पनि। यी दुवै पदीय हिसाबमा उच्च भएपनि जनताकै मतबाट उनीहरु त्यो ठाउँमा पुगेका हुन्। त्यसकारण उनीहरु जनताका सेवक हुन्, शासक होइनन्। राजाहरु शासक थिए। उनीहरु जननिर्वाचित थिएनन्। त्यसकारण राजाको अघि पर्दा टाउको झुकाउनुपर्ने, बस्दा भुँइमा बस्नुपर्ने र घुँडा टेक्नुपर्ने प्रचलन राजाहरुले नै बसाएका थिए।

यसरी जनताले राजाको अघि झुक्नुपर्ने भयो, राजाले दमन गर्न थाले भनेर मुलुकमा अनेक आन्दोलन भए र १७ हजार मानिसको अकालमा ज्यान लिइयो र हजारौं अझै वेपत्ता छन्। त्‍यो सब हुनुको पछि जनताले मुक्ति खोजेका हुन्, स्वतन्त्र हुन चाहेका हुन् र सरकार शासक नभएर सेवक खोजेका हुन्।

तर, अझै राष्ट्रपति र प्रधानमन्त्रीले भगवानजस्तै वा पूर्वाराजाहरुजस्तै जनतालर्इ आफ्नै दैलोमा बोलाएर टीका-जमरा लगाउनुपर्ने, टीका जमरा लगाउँदा अघि भगवानलार्इ जस्तै हात जोड्नुपर्ने र घुँडा टेक्नुपर्ने दिनका लागि जनताले आन्दोलन गरेका थिएनन्। फेरी दुर्इ दशकपछि पनि उही र उस्तै शैली दोहोरिँदा यी तस्बिरहरु आलोचनाका स्वरसहित भाइरल भएका हुन्।

केहीले भन्लान की कांग्रेसले केही विषय नपाएर कम्युनिस्ट सरकारको विरोध गर्न तस्बिर भाइरल बनाएका हुन्। केही कांग्रसीहरुको त्यो मनासय पनि हुनसक्छ। तर, यथार्थ त्यती मात्र होइन्। लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा नवसामन्तवादको झल्को दिने गरी भइरहेका गतिविधिको विरोध गर्न तस्बिर भाइरल भएका हुन्। तिनै आफन्त वेपत्ता पारिएका जनताले दिएको मतबाट त्यो पदमा पुगेका नेताले तीनै जनतालार्इ घुँडा टेकाएर टीकाजमरा थाप्‍न बाध्‍य पार्दा उनीहरुको मनमा कति चोट पुगेको होला ? के नेपाली जनताले खोजेको परिवर्तन यही हो। शपथ खुवाएका प्रधानन्यायाधीशलार्इ नै घुँडा टेकाएर टीमाजमरा लगाउनु भनेको कतिसम्म दासता हो भन्‍ने प्रस्ट हुन्छ।

मुलुक संघीय संरचनामा प्रवेश गरेको छ। प्रधानमन्त्रीले गर्नुपर्ने कामहरु धेरै छन्। उनी सुखी नेपाली समृद्ध नेपालको नारा सारा नेपालीलार्इ जपाइरहेका छन्। विकास निर्माणका काम अलपत्र छन्, दिनानुदिन बालिका, युवती र वृद्धाहरु बलात्कृतको क्रम रोकिएको छैन, सडक सञ्‍जाल व्यवस्थित र भरपर्दो नहुँदा दैनिक दुर्घटना बढिरहेका छन्। तर, यही मुलुकका प्रधानमन्त्री पुरै फुर्सदिला बनेर दैनिक दुर्इ घण्टा सर्वासाधारणको नामधारी कार्यकर्ता र आसेपासेलार्इ दैलोमा बोलाएर टीकाजमरा लगाइरहेका छन्।

के मुलुकमा प्रधानमन्त्रीले गर्ने काम सकिएकै हो ? उनी फुर्सदिला बनेका हुन्? चौतर्फी विरोधका स्वरहरु आइरहेका छन्। सरकार मौनजस्तै बनेको छ। फेरि नेपालीको महान चाड दशैंमा टीकाजमरा लगाउन रस्साकस्सी गरेको देखेर जनताले विरोध गरेका हुन्। त्यही विरोध र आलोचनाका स्वरहरुलार्इ बल पुर्‍याउन यी तस्बिरहरु भाइरल भएका हुन्। यसको मतलब सरकार गलत बाटोमा छ र, सच्चिन जरुरी छ भन्‍ने जनताको सन्देश पनि हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.