रुपन्देही, कात्तिक ४ : गस्तीमा खटिएका सशस्त्र प्रहरी बल नेपाल राजश्व भन्सार ३८ नम्बर गुल्म रुपन्देहीले अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा आज आइतबार बिहान तीन हजार ५ सय ब्रोइलर कुखुराका चल्ला बरामद गरेको छ ।
जिल्लाको रोहिणी गाउँपालिका–७ टिकर क्षेत्रमा गस्तीमा गएको सशस्त्रको टोलीले लुकाइछिपाई भारतबाट ल्याइँदै गरेको अवस्थामा चल्ला बरामद गरेको राजश्व भन्सार ३८ नम्बर गुल्म रुपन्देहीको सूचना शाखाले जनाएको छ ।
सशस्त्र प्रहरी निरीक्षक सुरज रिजालको नेतृत्वमा खटिएको टोलीले उक्त अवैध चल्ला बरामद गरेको गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक गोविन्दबहादुर खातीले बताए ।
सीमा क्षेत्रबाट तस्करले भरिया प्रयोग गरेर खेतको बाटो चल्ला नेपाल ल्याउँदै गरेको सूचना पाए लगत्तै गस्तीले उक्त चल्ला बरामद गर्नाका साथै बरामद चल्ला पशु क्वारेन्टाइन चेकपोष्ट बेलहिया, नेपाल ह्याचरी सङ्घ, सञ्चारकर्मी र स्थानीय बासिन्दाको रोहवरमा नष्ट गरिएको गुल्मले जनाएको छ ।
पछिल्लो समय रुपन्देहीमा अवैध चल्ला भारतबाट नेपालतर्फ व्यापक रुपमा भित्रिने गरेको गुनासो स्थानीयस्तरमा उठेको छ । यसको रोकथाममा सशस्त्रले विशेष अभियान थालेको पछिल्लो दुई महिनामा १० हजार अवैध चल्ला बरामद गरी नष्ट गरिएको बताएका छन् ।