कञ्चनपुर २२ जेठ : युवा अवस्थामै कमाउनका लागि भारत पुगेका शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका ५५ वर्षीय गणेश ऐरले आधा जीवन जेलमा बसेर घर र्फकेका छन् ।
कमाउनका लागि भारततर्फ जाने बेला रु चार हजार मूल्यबराबरका क्यामेरा, क्यामेराको रिल, टेपरेकर्डर र आवश्यक कपडा बोकेर निस्केका ऐरलाई त्यही सामानले भारतमा २४ वर्ष जेल जीवन बिताउन बाध्य बनायो ।
पञ्जाव प्रान्तको जालन्धर नाकामा भारतीय प्रहरीले जाँच गर्दा झोलामा ती सामान फेला पारेपछि तस्करीको आरोपमा उनलाई जालन्धरको कपुरथला सेन्टर कारागारमा पुर्याइयो र पूरै युवा उमेर सोही कारागारमा बिताए । कारागारबाट छुट्नका लागि वकिलको व्यवस्था गर्न नसक्दा र आफन्तले खोजखबर नपाउँदा लामो समय कारागार बस्नु परेको ऐरले बताए ।
कारागारमा रहँदा दुई छाक खानबाहेक अन्य सुविधा दिइएको थिएन भनले भने, “ कारागारमा कैदीका लागि खाना पकाउने र कपडा सफा गर्ने कार्यमा लगाइन्थ्यो तर अन्य कैदीसरह दैनिक दिइने पैसा समेत दिने गरिएको थिएन ।” कमाउने पूरै उमेर कारागारमा बिताएपछि छ महिनाअघि रिहाइ गरिएको हो ।
रिहाइ भएपछि काठ बोक्ने ट्र्याक्टरमा काम गर्न थालेँ । सोही क्रममा नेपालीसँग भेट भयो । मैले तपार्इंहरु नेपाली हो भनेर सोधेँ उउनले भने, “उनीहरुले नेपाली भएको बताएपछि आफ्नो सबै कथा व्यथा सुनाएँ । उनीहरुले फेसबुकमा मेरो फोटो र अवस्थाबारे लेखेर नेपालमा रहेका आफन्तलाई पठाए । छोराहरुले जानकारी पाएपछि खोज्दै भारत पुगेर भेटी घरमा ल्याए ।” सोमबारमात्रै उनी घरमा पुगेका हुन । जेठो छोरा आठ वर्ष र कान्छो छोरा डेढ वर्षको छँदा भारततर्फ लागेका थिए। श्रीमतीले छोराले फेसबुकमा देखाइएका बुबा नै भएको बताएपछि उनीहरु चार दिनका लागि भारत जाँदै छौँ भनेर गएका गणेशकी श्रीमती ईश्वरीदेवीले भने, “धेरै ठाउँमा खोजतलास गर्दासमेत भेटाउन सकेका थिएनौँ ।”
“यहाँबाट भारत जाने क्रममै भारतीय प्रहरीले तस्करीको आरोप लगाएर कारागार पु¥याएछन् । पूरै जीवन कारागारमा काटे पनि मर्ने बेला भेट्न पाउँदा निकै खुसी छौँ”, उनले बताए
भारतका धेरै ठाउँमा खोजतलास गर्दासमेत नभेटेपछि कुसको मूर्ति बनाएर किरिया गर्ने भनेर आफन्तमा कुरा चल्दै थियो भतिजा रमेशबहादुर ऐरले भन्नुभयो, “भेटिएपछि खुसीको सीमा नै रहेन ।”