शिशुको हत्या गरी फरार भएका भरत साह पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 20 | 03:58 pm 1879

जनकपुरधाम, कार्तिक ३: महोत्तरीको औरही नगरपालिकाका ८ महिने शिशु सोनालिका चौधरी हत्याका फरार अभियुक्त डेढ महिनापछि पक्राउ परेका छन्। सोनाली हत्याका अभियुक्त महोत्तरी भंगहा नगरपालिका–६ जमुनिया बस्ने २५ वर्षीय भरत साहलाई शनिबार सुनसरीको भण्टाबारीबाट प्रहरीले पक्राउ गरेको हो।

महोत्तरी प्रहरीले पठाएको फोटोको आधारमा साहलाई पक्राउ गरिएको सुनसरीका डीएसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए। साहले आमासँगै रहेकी सोनालाई खेलाउने बहानामा लगेर हत्या गरी फरार भएका थिए । महोत्तरी प्रहरीले साहलाई पक्राउ गर्न खोजतलास तिव्र पारेको थियो ।

साह भारत भागेको हुनसक्ने आशंकामा महोत्तरी प्रहरीले भारतीय प्रहरीसँग समेत सहकार्य गर्दै आइरहेको थियो। तर साह सुनसरीबाट पक्राउ परेको महोत्तरीका एसपी ईश्वर कार्कीले जानकारी दिएका छन् ।

औरही नगरपालिका–१ का सन्तोष चौधरीकी ८ महिने छोरी सोनालिकाको १० भाद्रमा पसलबाटै अपहरण भएको थियो । औरहीमा किराना पसल सञ्चालन गर्दै आएका चौधरीका छोरी सोनालिकाको शव अपहरण भएको भोलीपल्ट गाउँको एक खेतमा फेला परेको थियो।

सोनालिका पसलमा आमासँगै रहेको बेला साहले खेलाउने बहानामा काखमा उठाएर लगेका थिए । आमासँगै रहेकी सोनालिकालाई साहले उठाएर लगेको दृष्य पसलमा रहेको सीसीटीभी क्यामरामा रेकर्ड भएको थियो । सीसीटीभी फुटेजकै आधारमा शिशुलाई उठाएर लाने व्यक्ति साह रहेको सार्वजनिक भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.