काठमाडौं, कार्तिक १: हिन्दू नेपालीको महान् चाड बडादशैंको महानवमीको दिनमात्रै खुल्ने तलेजु मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ।
हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज एक दिन मात्र सर्वसाधारणका लागि खुला गरिए हो। तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ।
आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ।
प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने परम्परा छ।
उक्त कलशको जल अभिषेक गरी टीका-प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने धार्मिक विश्वास रहँदै आएको छ।
आज बिहानैदेखि हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरुमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि दिएर जंगी निसानपूजा तथा कोतपूजा भइरहेको छ।
आजै सवारी साधनहरुलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ ।