कुसको मूर्ति बनाएर किरिया गर्ने बेला जो घर फर्किए

रिपोर्ट नेपाल | 2018 Jun 05 | 01:43 pm 1877

– राजेन्द्र पनेरु, कञ्चनपुर

अनाहकमा भारतको जेलमा २४ वर्ष

युवा अवस्थामै कमाउनका लागि भारत पुगेका शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका ५५ वर्षीय गणेश ऐरले आधा जीवन जेलमा बस्नु पर्ला भनेर सपनामा समेत चिताएका थिएनन् । कमाउनका लागि भारततर्फ जाने बेला रु चार हजार मूल्यबराबरका क्यामेरा, क्यामेराको रिल, टेपरेकर्डर र आवश्यक कपडा बोकेर निस्कएका उनलाई त्यही सामानले भारतमा २४ वर्ष जेल जीवन बिताउन बाध्य तुल्यायो ।

पञ्जाव प्रान्तको जालन्धर नाकामा भारतीय प्रहरीले जाँच गर्दा झोलामा ती सामान फेला पारेपछि तस्करीको आरोपमा उनलाई जालन्धरको कपुरथला सेन्टर कारागारमा पु¥याइयो र उनले पूरै युवा उमेर सोही कारागारमा बिताए । कारागारबाट छुट्नका लागि वकिलको व्यवस्था गर्न नसक्दा र आफन्तले खोजखबर नपाउँदा लामो समय कारागार बस्नु परेको ऐरको दुःखेसो छ ।

कारागारमा रहँदा दुई छाक खानबाहेक अन्य सुविधा दिइएको थिएन भन्दै ऐरले भने, ‘कारागारमा कैदीका लागि खाना पकाउने र कपडा सफा गर्ने कार्यमा लगाइन्थ्यो तर अन्य कैदीसरह दैनिक दिइने पैसा समेत दिने गरिएको थिएन ।’

कमाउने पूरै उमेर कारागारमा बिताएपछि ६ महिनाअघि उनलाई रिहाइ गरिएको हो । रिहाइ भएपछि काठ बोक्ने ट्र्याक्टरमा काम गर्न थाले। सोही क्रममा नेपालीसँग भेट भयो । उनले तपार्इंहरु नेपाली हो कि भनेर सोधेपछि उनीहरुले नेपाली भएको अवगत गराए । अनि उनले आफ्नो सबै कथा व्यथा सुनाए ।

उनीहरुले फेसबुकमा उनको फोटो र अवस्थाबारे लेखेर नेपालमा रहेका आफन्तलाई पठाए । छोराहरुले जानकारी पाएपछि खोज्दै भारत पुगेर भेटी घरमा ल्याए । सोमबार मात्रै उनी घर पुगेका हुन् । जेठो छोरा आठ वर्ष र कान्छो छोरा डेढ वर्षको छँदा उनी भारततर्फ लागेका थिए । फेसबुकमा देखाइएका बुबा नै भएको छोराले श्रीमतीलाई बताएपछि उनीहरु चार दिनका लागि भारत जाँदै छौँ भनेर गएका गणेशकी श्रीमती ईश्वरीदेवीले बताइन्, ‘धेरै ठाउँमा खोजतलास गर्दासमेत भेटाउन सकेका थिएनौँ ।’

‘यहाँबाट भारत जाने क्रममै भारतीय प्रहरीले तस्करीको आरोप लगाएर कारागार पु¥याएछन् । पूरै जीवन कारागारमा काटे पनि मर्ने बेला भेट्न पाउँदा निकै खुसी छौँ’, उनले बताए ।

भारतका धेरै ठाउँमा खोजतलास गर्दासमेत नभेटेपछि कुसको मूर्ति बनाएर किरिया गर्ने भनेर आफन्तमा कुरा चल्दै थियो भतिजा रमेशबहादुर ऐरले भने, ‘भेटिएपछि खुसीको सीमा नै रहेन ।’

वर्षौंअघि हराएका उनी भेटिएपछि गाउँका सबै बासिन्दामा खुशियाली छाएको छ । गाउँका सबैजना भेट्न उनको घरमा जम्मा हुन थालेका छन् । कारागार पर्नुअघि र परेपछिको कुरा भेट्न आउने सबैलाई गणेशले बिनाहिचकिचाहट सुनाउने गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.