सुनसरी, असोज ३०: चाडपर्व नजिकिएसँगै सुनसरीमा भारतीय बजारबाट विष्फोटक सामग्री भित्रिने क्रम शुरु भएको छ । खुल्ला सीमाका कारण तस्करहबाट अवैध रुपमा विष्फोटक सामग्री भित्र्याउने क्रम बढेसँगै प्रहरीले सुनसरीको हरिनगर गाउँपालिका सिसुवा धर्मपुरबाट ठूलो परिणाममा विष्फोटक सामान बरामद गरेर सोमबार सार्वजनिक गर्यो ।
सुनसरी जिल्ला प्रहरी कार्यालयले सदरमुकाम आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त स्थानबाट नागीन पट्टका करीब छ बण्डल र झिरझिरे करीब १०० प्याकेट बरामद गरिएको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । भारतीय बजारबाट अवैध रुपमा नेपालतर्फ विष्फोटक पदार्थ ल्याइरहेका व्यक्ति प्रहरीलाई देखेपछि ती सामान छोडेर भागेको उनको भनाइ थियो।
बैकिङ कसुरमा पक्राउ
यसैबीच प्रहरीले बैकिङ कसुरमा सुनसरी देवानगञ्ज गाउँपालिका–७ घर भई हाल काठमाडौँ नगार्जुन नगरपालिका–४ बस्ने मिथिलेशकुमार बर्मालाई पक्राउ गरेर सोमबार सार्वजनिक गरेको छ।
प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुयाँलका अनुसार बर्माले विराटनगर उपमहानगरपालिका–४ का नरेशकुमार साहलाई सनराइज बैंकको रु १३ लाख ८५ हजारको चेक दिएको र सो चेक बाउन्स रहेको कसुरमा नगार्जुन–४ बाट उनलाई पक्राउ गरी अनुसन्धान थालिएको हो ।