दुर्घटना हुन नदिन १२ स्थानमा ट्राफिक जाँच

रिपोर्ट नेपाल | 2018 Oct 15 | 09:14 am 1750

बैतडी, असोज २९ : दशैँको समयमा ट्राफिक नियम उल्लङ्घन गरेका सवारीसाधनलाई कारवाही गर्न बैतडी प्रहरीले जिल्लाको १२ बढी स्थानमा जाँचस्थल स्थापना गरेको छ।

चाडपर्वका बेला हुने यात्रुलाई हुने समस्या समाधानका लागि एक दर्जन बढी जाँचस्थल स्थापना गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए।

चाडपर्वको अवसरमा धेरै यात्रु राखेर ओहोरदोहोर गराउने र तीव्रगतिमा चलाउने प्रवृत्तिले दुर्घटना भएको भन्दै नियन्त्रणका लागि सवारी जाँच तथा कारवाहीको लागि मुख्यमुख्य सडकखण्डमा ट्राफिक जाँचस्थल राखिएको प्रहरीले जनाएको छ।

जिल्ला सदरमुकाम गोठलापानी, शाहीलेक, सीमानाका झुलाघाट, महाकाली राजमार्ग, दशरथचन्द राजमार्ग जयपृथ्वीराजमार्ग, पाटन–पञ्चेश्वर सडकखण्डलगायतका स्थानमा सवारी जाँच तथा ट्राफिक नियम पालन गराउने कार्यसम्बन्धी जानकारी प्रहरीले दिइरहेको छ। जाँचस्थलमा बसेका प्रहरीले सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु नराख्‍न र नचढ्न आग्रह गरेका छन्।

छतमा बस्न नदिने, तोकिएको शुल्कभन्दा बढी भाडा लिएमा फिर्ता गराउने, पशु चौपायालाई छत र डिकीमा राखेर ओहोरदोहोर गराउन रोक लगाएको छ। प्रहरीले यसअघिनै दशैँतिहारलाई लक्षित गर्दै विशेष सुरक्षा योजनासमेत लागू गरिसकेको छ।

नेपाल–भारत सीमानाका झुलाघाटमा पनि चेकजाँचमा पनि कडाइ गरेको छ । यात्रुको सजिलोको लागि सदरमुकाम गोठलापानी र खोडपे बजारमा सहायता कक्षसमेत स्थापना गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.