एसियाली राजमार्गले छाेयाे काँकडभिट्टा

| 2020 Sep 13 | 08:43 am 1744

झापा, भदाै २८ः एसियाली राजमार्गको नेपाल–भारत सीमाअन्तरगत सडकसँगै ६ लेनको मेचीपुल निर्माण भएपछि झापाको मुख्य नाका काँकडभिट्टा छोएको छ । यसअघि काँकडभिट्टा र भारतको पानीट्याङकी जोडने दुई लेनको पुल जीर्ण भएसँगै आवतजावतमा घन्टौं समय लाग्ने गरेको थियो ।

नयाँ पुल निर्माण भइसकेपछि यो समस्या अन्त्य हुने भएको छ । २०७४ सालबाट औपचारिकरुपमा काम शुरु भएको पुलको निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ ।

२०७३ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले पुल निर्माणका लागि सम्झौता गरेपछि निर्माण शुरु भएको सो पुलको ९० प्रतिशत बढी काम सम्पन्न भइसकेको छ ।

३ वर्षअगाडि भारतीय पक्षले निर्माण थालेको ६ लेनको क्षमता रहेको मेची पुल सम्पन्न हुँदा काँकडभिट्टा आन्तरिक पर्यटनको केन्द्र बन्दै गएको छ । सहज वातावरणपश्चात् सो पुल चल्दा व्यापारिक कारोबारमा परिवर्तनसँगै पूर्वी नेपालको समृद्धिमा एउटा इँटा थप्ने निश्चित भएको स्थानीय निरबहादुर कार्कीले बताए ।

पुल र सडकको सम्बन्ध जोडिएयता नेपाल भारत प्रवेशद्वार काँकडभिट्टा पुग्दा नौलो ठाउँको अनुभूति हुन थालेको उनको भनाइ छ । नयाँ पुलसँगै काँकडभिट्टा क्षेत्रको संरचनात्मक काँचुली फेरिएको छ ।

सधैं भीडभाड र अव्यवस्थित आवागमन देखिने काँकडभिट्टा पानीट्याङकी सडकलाई नयाँ पुलले काँचुली फेरिदिएको छ । ५ सय मिटर पहुँच मार्ग निर्माणका लागि पुराना संरचना सबै भत्काइएपछि बनाइएका फराकिलो र चिटिक्क परेको सडक सबैको आकर्षणको केन्द्र बनेको छ  । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.