सरकारले पैसालाई केन्द्रमा राखेर राजनीति गर्ने नयाँ वर्ग जन्माउँदैछ : नेता पौडेल

रिपोर्ट नेपाल | 2018 Sep 03 | 02:55 pm 2140

दमौली, भदौ १८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट सरकार पैसालाई केन्द्रमा राखेर राजनीति गर्ने नयाँ वर्ग जन्माउन लागेको बताएका छन् । तनहुँको आँबु गाउँपालिकाका विभिन्न स्थानमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले उक्त कुरा बताएका हुन् ।

नेता पौडेलले पैसालाई केन्द्रमा राख्ने राजनीति भइरहेकाले राजनीतिक पार्टी जनताको नजरबाट गिर्दै गएको बताए । उनले भने, ‘कम्युनिष्ट सरकार त्यही पैसालाई केन्द्रमा राखेर राजनीति गर्ने नयाँ वर्ग जन्माउँदैछ । यो वर्ग नै अब लोकतन्त्रका लागि सबैभन्दा खतरा हुन सक्छ । पार्टीका एक(एक नेतालाई सिध्याएर पार्टी राजनीति र लोकतन्त्र सिध्याउने खेल भइरहेको छ ।’

नेता पौडेलले कांग्रेस नेता(कार्यकर्ताहरुलाई आचरणलाई सुधार गरेर अब नयाँ कांग्रेस बनाउने अभियानमा लाग्न आग्रह समेत गरेका छन् ।‘पार्टीलाई माफियातन्त्रबाट जोगाउन कांग्रेस कार्यकर्ताहरु अगाडि आउनुपर्छ । राजनीतिक पार्टी जनताको नजरमा गिर्दै गएका छन्, यसबाट जोगाउने मेरो लक्ष्य हो । आजको आवश्यकता पनि यही हो । पैसालाई केन्द्रमा राखेर राजनीति गर्यो भने देश दुर्घटनामा जान सक्छ,’ उनले भने , ‘हिजो मैले पार्टीको नीतिमा रहेर काम गरे । संविधानसभामा कम्युनिष्टहरुसंग झगडा गरेर लोकतान्त्रिक संविधान बनाएको हो । चुनावका बेलामा हिजो साथीहरुबाट गल्ती भएको हो । अब त्यो विषयमा पश्चत्ताप गरेर पार्टी संगठनमा लाग्नुस् ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.