सम्मान र शक्तिका प्रतीक हनुमानजीका बारेमा

| 2023 Feb 01 | 08:57 am 1349

सही जानकारी नलिइ सम्मान, आदर, समर्पण, इमान र शक्तिका प्रतीक हनुमानलाई चाकरीको अर्को नाम झैँ गरी ब्यङ्ग्य गर्नु गलत हो । सकिन्छ, सम्मान गरौँ, आदर गर्न सकिँदैन भने नाम नै उल्लेख नगरौँ, तर अपब्याख्या र अपमान नगरौँ ।

बबिता बस्नेत

‘हनुमानजी’ शब्द हिजोआज सामाजिक सञ्जालमा निकै प्रयोग गर्ने गरिएको छ । कसैलाई ब्यङ्ग्य गर्नुपऱ्यो भने अन्तमा ‘हनुमानजी’ लेख्ने, कसैले चाकरी गऱ्यो भन्ने अर्थमा ‘यो त उसको हनुमान हो’ भन्ने । कसैलाई ‘हनुमानगिरी गरेर पाएको पद’ भन्ने त कसैले कसैलाई लगातार समर्थन या प्रशंसा गऱ्यो भने ‘हनुमानहरूको बिगबिगी’ भनिदिने, त कतै ‘हनुमानहरू आज खुशीले भुइँमा न भाँडामा भएका छन्’ भनेर लेख्ने, बोल्ने । सनातन धर्म र हनुमानजीको महत्वका बारेमा जानकारी नभएकाहरूले प्रायः यस्ता कुराहरू लेख्ने/बोल्ने गरेका छन् । कतिले चाहिँ थाहा पाएर पनि लहैलहैमा यस्ता शब्दहरू प्रयोग गर्ने गरेका छन् । हिन्दु मात्रै यस्तो धर्म हो जहाँ कुनैपनि भगवान्लाई जसले जे भने पनि खासै वास्ता गरिँदैन । किन यस्तो भनेको या लेखेको ? भनेर मुद्दा बनाइँदैन ।

हरेक धर्मका ग्रन्थहरूमा धर्म र अधर्मको ब्याख्या गरिएको छ । चमत्कारिक भगवानहरूको वर्णन गरिएको छ । सनातन धर्ममा भगवानहरू धेरै भएकाले ग्रन्थपिच्छे फरक भगवानको चर्चा छ । तर हनुमानजीको चर्चा अधिकांश ग्रन्थमा कुनै न कुनै रूपले छ । ढुङ्गेयुगपछिका विभिन्न युगमा अहिले झैँ कानून थिएन, धर्म नै कानून मानिन्थ्यो । न्याय-अन्यायसँग जोडेर धर्मको ब्याख्या गरिन्थ्यो । हिंसा अधर्म थियो, दया धर्म थियो । कसैलाई राम्रो गर्नु धर्म थियो, नराम्रो गर्नु, दुःख-कष्ट दिनु पाप थियो । जे गर्दा पनि पाप-धर्मको ख्याल गर भन्ने गरिन्थ्यो । त्यसको अर्थ न्याय, अन्यायको ख्याल गर भनिएको हो । धर्म संस्कृत शब्द हो, पाली भाषामा यसलाई धम्म भनिन्छ । प्राणी जगत्मा जसले जे गरिरहेको छ त्यो इमान्दारीपूर्वक गर्नु धर्म हो । आफ्नो कर्तब्य निर्वाह गर्नु धर्म हो । आफूले आफैलाई नियममा बाँध्नु स्वधर्म हो । ‘स्व’ को अर्थ आफू र धर्मको अर्थ नियम, कानून, न्याय, कर्तब्य । हनुमानजीलाई चारै युगमा सशरीर उपस्थित हुनसक्ने भगवान मानिएको छ । अष्ठ चिरञ्जीवी अर्थात् आठ अजम्बरीमध्ये हनुमानजीलाई विशेष मानिन्छ ।

हिन्दु धर्ममा जिन्दगीका फरक अवस्थामा विभिन्न भूमिका निर्वाह गर्ने भगवानहरूको परिकल्पना गरिएको छ । त्यसमध्ये हनुमानजीलाई आदर, सम्मान र शक्तिको प्रतिकका रूपमा मानिन्छ । हनुमानजीको भगवान रामप्रतिको समर्पण अवर्णनीय छ । रामसँग जोडिएका प्रत्येक पात्रसँग उहाँको भक्तिभाव थियो । सीतालाई रावणले हरण गरेर लङ्का पुऱ्याएपछि हनुमानजीले लङ्का जलाएर उहाँलाई फर्काएको सम्पूर्ण कथामा मानिसको जीवनमा आइपर्न सक्ने कठिनाइहरूको बारेमा सजग गराइएको छ । रामायणले यो संसारमा असल र खराब दुवै प्रवृत्तिका मानिसहरू हुन्छन् भन्ने मात्र सन्देश दिएको छैन कतिपय हामीले दानवीकरण गर्ने या गरेका मानिसमा राम्रा गुणहरू पनि हुन्छन् भन्ने सन्देश पनि दिएको छ । रावण त्यस्तै पात्रमध्येका एक हुन । सीताको रूपबाट मोहित भइ अपहरण गरेर लगेपनि उनले सीतालाई छुएनन्, हातपात गरेनन् । रामायणमा हनुमानजीको भूमिका समर्पण, आदर र शक्तिको छ ।

हाम्रा हिन्दु धर्म शास्त्रहरूमा पुष्पक विमानको परिकल्पना गरि प्रयोग गरिएको छ, जुन अहिलेका हवाइजहाज, हेलिकोप्टरहरू हुन् । हनुमानजीलाई पुष्पक विमान नचढी हावामा उड्न सक्ने मानिएको छ, जुन अहिलेका सिनेमाहरूमा सुपरम्यानको भूमिका हुने गर्छ । हाम्रा धर्मग्रन्थमा अहिले भइरहेका प्रायः सबै कुराको परिकल्पना र अभ्यास गरिएको छ । त्यसमध्ये एक प्रत्यक्ष प्रशारण पनि हो । महाभारतमा धृतराष्ट्रलाई संजयले दिएको युद्धको प्रत्यक्ष जानकारी अहिलेका ‘लाइभ कास्ट’ हुन् । अहिले टेलिभिजन या फेसबुकबाट दिइने प्रत्यक्ष प्रशारणको परिकल्पना महाभारतकालमै गरिएको थियो । हनुमानजीलाई महाभारतमा भीमभन्दा शक्तिशाली भनी वर्णन गरिएको छ । जंगलमा यात्रा गर्दै गरेका भीमले हनुमानको पुच्छर सार्न नसकेपछि तपाई को हो? भनेर प्रश्न गर्छन् । हनुमानजीले आफ्नो रूप देखाएपछि नतमस्तक हुन्छन् ।

पवन र अञ्जनीका पुत्र हनुमान आजीवन ब्रम्हचारी हुन् । हिन्दु धर्ममा विवाह नगरी एकल बस्ने भगवान पनि हनुमानजी नै हुन् । हनुमानजी बाहेक प्रायः सबै भगवानका साथमा पत्नीको परिकल्पना गरिएको छ । आफूले गरेको काममा पनि अरुलाई ‘क्रेडिट’ दिने हनुमानजी चाकरीका होइन आदर र सम्मानका प्रतीक हुन् । रामायणका सबैभन्दा शक्तिशाली पात्र हनुमानजीको शीर देखि पाउसम्म सिन्दुरले भरिएको छ । हनुमानजीलाई किन सिन्दुरले रंगाएको ? या हनुमानजी किन सिन्दुरमय ? यसको पनि कथा छ । एक दिन सीताजीले सिउँदोमा सिन्दुर लगाउँदै गरेको हनुमानजीले देखेपछि ‘यो सिन्दुर किन लगाउनु भएको माता?’ भनेर सोध्नुभएछ । जवाफमा सीताले ‘यो सिन्दुरले तिम्रो भगवान् श्रीरामको आयु बढाउँछ’ भनेपछि उहाँले सीतामाताले सिउँदोमा मात्रै लाउँदा त आयु बढाउँछ भने मैले शरीरभरी लाएँ भने भगवान् रामलाई कहिल्यै केही पनि हुँदैन र नहोस् भन्ने विश्वासका साथ सिन्दुर लगाएको भन्ने छ । त्रेतायुगमा भगवान् रामलाई सहयोग गर्न हनुमान अवतारको जन्म भएको हो भन्ने मान्यता छ । अहिले पनि त मानिसलाई जीवनमा सहयोग गर्ने कसै न कसैको साथ चाहिन्छ, निःशर्त र नि:स्वार्थ साथ दिने मानिस साथमा भए जीवन सहज हुन्छ ।

१६औँ शताब्दीमा कवि तुलसी दासले हनुमानलाई समर्पण गरेर हनुमान चालिसा लेख्नु भएको थियो । भनिन्छ, त्यतिबेला उहाँ जेलमा हुनुहुन्थ्यो । हनुमान चालिसा एकै ‘सिटिङ’मा लेखिएको थियो । जेल परेको ४० दिनका दिन तुलसी दासले हनुमान चालिसा लेखिसकेपछि चमत्कारिक रुपमा उहाँ जेलमुक्त हुनुभएको थियो । तुलसी दासले आफूले हनुमानजीलाई सशरीर भेटेपछि हनुमान चालिसा लेखेको र उक्त भेटमा उहाँले आफू हरेक युगमा हुने र कलियुगमा मानिसको शरीरमा हुने बताउनु भएको विभिन्न धार्मिक दस्ताबेजमा उल्लेख छ । हनुमान चालिसा विश्वप्रसिद्ध छ । सन् २०१६ मा अमेरिकाका तात्कालिन राष्ट्रपति बाराक ओबामाले हनुमान चालिसाको सानो किताब साथमा राख्ने गर्नुभएको भनी मिडियामा ब्यापक चर्चाको विषय बनेको थियो । विभिन्न भारतीय मिडियाले यो कुरालाई महत्वपूर्ण स्थान दिएर प्रचारप्रसार गरेपछि तथ्य जाँच (फ्क्याक्ट चेकिङ) गर्ने संस्थाहरूले केलाउँदा ओबामाले हनुमान चालिसा होइन हनुमानजीको सानो प्रतिमा लिएर हिँड्ने गरेको बताउनुभएको तथ्य सत्य भएको पत्ता लागेको थियो । सन् २०१६ को जनवरी १६ मा राष्ट्रपति ओवामाले दिनु भएको एउटा भिडियो अन्तवार्तामा ‘म अन्धविश्वासी होइन तर म हनुमान र बुद्धको प्रतिमा साथमा राख्छु, जब म थकित र हतोत्साही महसूस गर्छु त्यस्तो बेलामा म पकेटमा भएको हनुमानको प्रतिमा हेर्छु र ‘ओभर कम’ हुन्छु’ भन्दै साथमा रहेको पित्तलको झैँ लाग्ने हनुमानजीको सानो प्रतिमा देखाउनु भएको छ । उक्त भिडियो क्लिप अहिले पनि इण्डिया टुडेको अर्काइभमा भेट्न सकिन्छ ।

हिन्दु मात्र नभइ विभिन्न धर्मावलम्बीहरूले हनुमानजीलाई श्रद्धाभावका साथ हेर्ने गर्छन् । सही जानकारी नलिइ सम्मान, आदर, समर्पण, इमान र शक्तिका प्रतीक हनुमानलाई चाकरीको अर्को नाम झैँ गरी ब्यङ्ग्य गर्नु गलत हो । सकिन्छ, सम्मान गरौँ, आदर गर्न सकिँदैन भने नाम नै उल्लेख नगरौँ, तर अपब्याख्या र अपमान नगरौँ । घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.