काठमाडौं, साउन ३०: स्थानीय तह र प्रदेशमा कर्मचारी पूर्ति गर्न नसकिरहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लोकसेवा आयोगबाट हुने सबैखाले पदपूर्ति रोक्ने तयारीमा लागेको छ।
तीन वर्षसम्म लोकसेवाबाट खुला र आन्तरिक पदपूर्ति रोक्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारीमा मन्त्रालय लागेको छ । मन्त्रालयको तयारीमा कर्मचारी भने सशंकित भएका छन्।
पदपूर्ति रोकिँदा कर्मचारीको वृत्तिविकासमा गम्भीर असर पर्नुका साथै हरेक वर्ष निजामती सेवामा प्रवेश गर्ने युवाहरूका लागि अवसर बन्द हुने चिन्ता कर्मचारीको छ।
मंगलबार विभिन्न मन्त्रालयमा कार्यरत उपसचिव र अधिकृत तहका कर्मचारीले मन्त्री लालबाबु पण्डित र सचिव दिनेशकुमार थपलियालाई भेटेर सचेतसमेत गराएका छन्।