राजाले मलाई दिएको त्यो वचन : वामदेव गौतम

| 2018 Jun 02 | 08:52 am 3037

(सन्दर्भ : राजदरबार हत्याकाण्ड)

कम्युनिस्ट पार्टीका अरू नेताहरूले राजा वीरेन्द्रलाई कसरी हेरेका छन् मलाई थाहा छैन, तर मैले ०५० सालको मङ्सिरदेखि सधैंभरि श्रद्धा र सम्मानका साथ हेरेँ । गत १९ गते राति नारायणहिटी राजदरबारमा आफ्ना सम्पूर्ण पारिवारिक सदस्यहरूका साथ हृदयविदारक, बीभत्स र क्रूरतम हत्याकाण्डमा मैले हृदयदेखि सम्मान गर्ने आफ्नो मुलुकका अत्यन्तै लोकप्रिय राजाको मृत्यु भएको खबर सुन्दा म भारतको लखनउ प्रवासमा थिएँ । पार्टीको दुई स–अभियानअन्तर्गत अन्य चारजना प्रशिक्षकहरूका साथ २० गते बिहान नेपालगन्ज हुँदै काठमाडौं आउने क्रममा ट्याक्सीको बन्दोबस्त गर्दै थियौँ । त्यसैबेला एकजनाले तपाईंको देशमा राति राजकुमारले राजारानीसहित १५ जनालाई मारेर आफूले पनि आत्महत्या गरे भनेर सुनाए । मैले मात्रै होइन, हामी कसैले यो दुर्भाग्यपूर्ण समाचारलाई पत्याउन सकेनौँ । मैले तुरुन्तै लखनउबाट काठमाडौंमा विभिन्न व्यक्ति र पार्टी केन्द्रीय कार्यालयमा फोन सम्पर्क गरेँ । नपत्याउँदा–नपत्याउँदै पनि हामीले समाचारको पुष्टि पाएपछि अन्तिम श्रद्धाञ्जली दिन जसरी पनि त्यसै दिन रातिसम्म काठमाडौं पुग्ने योजना बनायौँ । अरू कमरेडहरूलाई ट्याक्सीबाटै जान अनुरोध गरेर म र क. केशवलाल लखनउदेखि दिल्ली जाँदा प्लेनको टिकटले गर्दा भएभरको पैसा सबै सकियो । हामीसित डोमेस्टिकदेखि इन्टरनेसनल एयरपोर्टसम्म जानका लागि पनि खर्च गर्ने पैसा थिएन ।

दिल्लीदेखि काठमाडौं पुग्नका लागि २ जनालाई आठ हजार भारु न्यूनतम लाग्नेमा हामीसित रु. १ सयसम्म थिएन । तर, मैले दिल्ली पुगेर नेपाली राजदूतावासमा महामहिम राजदूत भेषबहादुर थापालाई फोन गरेँ । उहाँले फोन रिसिभ गर्नुभयो र आरएनएसीमा आफूले पैसा तिर्ने गरी टिकटको व्यवस्था पनि गरिदिनुभयो । त्यस दिन हामी साँझ ५ बजेसम्म दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालय रहेको ६ नं. कोठामा बसेर बितायौँ । ५ः१५ बजे काठमाडौंबाट शानेवानिको उडान रद्द गरिएको खबर आयो । त्यस दिन श्री ५ लाई अन्तिम श्रद्धाञ्जली दिने र शवयात्रामा सामेल हुने मेरो इच्छा चकनाचुर भयो । निराश भएर हाम्रा एकजना मित्र नारायण श्रेष्ठजीको निवासमा गएर रात बितायौँ । उहाँले नै हामीलाई दिल्ली आउनासाथ आफ्नो गाडी लिएर सहयोग गर्न आउनुभएको थियो । भोलिपल्ट जेठ २१ गते दिउँसो राष्ट्रिय ध्वजावाहकबाट १ बजे मात्र हामी काठमाडौं आइपुग्यौँ । आउनासाथ पार्टी पोलिटब्युरोको बैठक ३ः३० बजे केन्द्रीय कार्यालयमा आयोजना गरियो र राष्ट्राध्यक्ष श्री ५ महाराज र बडामहारानीसहित अन्य व्यक्तिहरूका बारेमा प्रस्तावहरू पारित गरी प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्ने काम पनि गरियो । आज पनि अत्यन्त दुःखी बनेर केही वर्ष पहिलेदेखिका संस्मरणहरू मानसपटलमा दौडाइरहेको छु ।

नेपाली जनताले राज्य सञ्चालनमा हात नहाल्दासम्म पृथ्वीनारायणपछिका कालमा राजदरबार सधैंभरि भोलविलास र षड्यन्त्रको अखडा बनेको थियो । तर, यसपटक यति ठूलो अभूतपूर्व बीभत्स घटना घट्न पुग्यो । विश्वमा विरलै पाइने यस्ता घटना त्यो पनि राजा जनताको पक्षमा देखापर्दै आउन थालेको अवस्थामा घटेको छ । आज नेपाली जनतालाई कसरी शोकमुक्त बनाउने र राष्ट्रलाई कसरी समृद्ध बनाउने भन्नेबारेमा सोच्नुपर्ने र आफ्नो योग्यता, क्षमता र प्रतिभालाई यसै दिशामा समर्पित गर्नुपर्ने अवस्थामा फेरि एकपटक राष्ट्रलाई भयावह र आतङ्कित बनाउने गरी १९ गतेको घटना घटेको छ । यसले सम्पूर्ण नेपाली जनता खासगरी प्रबुद्ध वर्गलाई अत्यन्त गम्भीरतापूर्वक सोच्नुपर्ने अवस्थामा ल्याइपुऱ्याएको हुनुपर्छ । त्यति धेरै कडा सुरक्षा व्यवस्थाभित्र अत्यन्त गोपनीयता अपनाइने ठाउँमा, प्रत्येकका सशस्त्र सुरक्षागार्डहरू रहेको अवस्थामा त्यति सजिलै, त्यति धेरै महत्वपूर्ण व्यक्तिहरूको सामूहिक हत्या गर्न सक्नु आफैंमा नसुल्झिने प्रश्न बनेर खडा भएको छ । इतिहासमा यस्ता जघन्य पारिवारिक हत्याकाण्डहरू ठूलो कुलीन र राजघरानाहरूमा नै सबैभन्दा धेरै भएका छन् । सायद जनताको निगरानीको सुरक्षा नभएको हरठाउँमा यस्ता दुर्घटनाहरू दोहोरिन सक्छन् ।

म एउटा कम्युनिस्ट हुँ । अहिलेसम्मको जीवनको सबभन्दा धेरै समय कम्युनिस्ट आन्दोलनकै निम्ति लगाएको छु । म सिद्धान्तनिष्ठ कम्युनिस्ट हुँ । जीवनभर कम्युनिस्ट बनिरहने र कम्युनिस्ट बनेकै अवस्थामा मृत्युवरण गर्ने इच्छा पनि हो । यति हुँदाहुँदै पनि म नेपाल राष्ट्रको जिम्मेवार नागरिक पनि हुँ । मेरो भावना कम्युनिस्टभन्दा पहिले नेपाली भावना हो । कम्युनिस्ट बनेपछि पनि मेरो कार्यक्षेत्र मेरै राष्ट्र हो । मैले धेरै ठाउँमा पटक–पटक कुनै सङ्कीर्णताबिना म राष्ट्रवादी कम्युनिस्ट हुँ भनेको छु । यही मेरो भावनाका कारणले श्री ५ वीरेन्द्रसितको पहिलो भेटदेखि नै उहाँप्रति सम्मान उत्पन्न हुन पुग्यो । मैले श्री ५ वीरेन्द्रसँग पहिलोपटक ०५० कात्तिकमा नारायणहिटी राजदरबारको मंगलसदनमा दर्शनभेट पाएको हुँ । त्यसबेला एमालेका महासचिव माधवकुमार नेपाल कतै जाँदै हुनुहुन्थ्यो र उहाँको अनुपस्थितिमा राजाले भेट गर्न चाहेको विकल्पमा उहाँले मेरो नाम दिनुभएको रहेछ । पार्टीअध्यक्ष मनमोहन अधिकारीले पनि राजाले बोलाएपछि भेट्न जानुपर्छ भन्नुभयो । दरबारबाट त्यसबेलाका प्रमुख सचिव रेवतीरमण खनालले मलाई खबर गर्नुभयो । मलाई गते र बार अहिले सम्झना भएन । तिथिमिति सधैभरि बिर्सिने मेरो ठूलो कमजोरी नै हो । मलाई त्यही कात्तिकको अन्तिम हप्तामा जस्तो लाग्दै छ ।

साँझ ६ बजे दरबारमा म पुगें । मलाई दौरासुरुवाल, कोट र टोपी लगाएर आउन भनिएको थियो । त्यसैगरी म पनि उपस्थित भएँ । त्यसबेला राजासितको पहिलो भेटमा मलाई मनमा दरबारिया भाषा नआएर समस्या पर्ने हो कि भन्ने आशङ्का उत्पन्न भएको थियो । म दरबार जानुभन्दा पहिले नै मनमोहनजीसँग र त्योभन्दा पहिले माधवजीसित राजासित के–कस्ता कुरा गर्ने भनेर विषय चयन गरिसकेको थिएँ । त्यसबेला काङ्ग्रेसी ज्यादतीका अरू धेरै घटनाहरू पनि घटेका थिए । चारैतिर काङ्ग्रेसीकरण चरम अवस्थामा थियो । अन्त्यमा मैले श्री ५ समक्ष ‘राष्ट्रप्रमुखसित बारबार भेट भइरहन सम्भव छैन र यसरी हुने दर्शनभेटहरू महत्वपूर्ण हुनुपर्दछ ।

मलाई श्री ५ वीरेन्द्र सादा जीवन उच्च विचार राख्ने मितव्ययी र अरूलाई हार्दिक सम्मान गर्न सक्ने, कुनै पनि तर्कयुक्त कुरालाई सहज समर्थन गर्ने, कुनै पनि आडम्बर नभएको देशभक्त प्रजातन्त्रवादी, विद्वान् र महान् व्यक्ति लाग्यो । मेरा एकजना मित्रले मलाई बारम्बार भन्ने गर्नुहुन्छ, ‘राजा, राजा हो, ऊ आफूलाई जनता–जनार्दन ठान्दैन, राजा विशेष खालको मानिस हुन्छ, ऊ कस्तो ठाउँमा जन्मन्छ, कस्तो ठाउँमा हुर्कन्छ, उसका दिमागमा जन्मेदेखि मर्दासम्म कस्तो मनोविज्ञान भर्ने काम गरिन्छ, यसका आधारमा नेपालका राजा वीरेन्द्रको योगदानको मूल्याङ्कन गर्नुपर्छ ।’ मलाई यो तर्क उपयुक्त नै लागेको छ ।

यसपटक मैले पाएको यो दर्शनभेट पनि अविष्मरणीय बनाउन मैले राखेको प्रस्तावको स्वीकृतिको वचनबद्धता माग गर्दछु’ भनेर पुनः कुरा दोहोऱ्याएँ । त्यसबेला राजा बोल्नुभएन । आफ्नो कुर्सीबाट उठेर हात जोडेर नमस्कार गर्दै पुनः त्यही कुरालाई दोहोऱ्याएँ । तैपनि श्री ५ को बोली फुटेन । फेरि पनि मैले भनेँ, ‘सरकार, नेपाली जनता र नेपाल राष्ट्र हितका निम्ति मेरो प्रस्तावका पक्षमा हुकुम बक्सन चाहन्छु ।’ त्यसपछि श्री ५ वीरेन्द्रले ‘ल वामदेवजी, राष्ट्रिय हित र राष्ट्रियताको पक्षका सम्बन्धमा म कम्युनिस्टसित मिलेर जान तयार छुु, मैले आफ्ना मानिसलाई पनि यो सल्लाह दिनेछु, यो मेरो वचन भयो’ भन्नुभयो । म ज्यादै खुशी भएँ । फेरि नमस्कार गर्दै त्यहाँबाट बिदा भएर म बाहिर निस्केँ ।

श्री ५ सित मेरो पहिलो दर्शनभेट भएको करिब आठ वर्ष पूरा भएको छ । यसबीच अरू पनि महत्वपूर्ण भेटघाटहरू श्री ५ सित भएका छन् । तर, त्यो पहिलो भेटघाट र कुराकानी मेरो निम्ति अविष्मरणीय रह्यो । त्यसबेला मैले जे कुरा गरेँ, श्री ५ ले कसरी लिनुभयो मलाई थाहा छैन । आज पनि हाम्रो भेटघाटमा नोट गर्दै सँगै बस्नुभएका रेवतीरमण खनालले सम्झना राख्नुहुन्छ होला । पछिका भेटमा धेरैजसो श्री ५ सित एक्लै कुरा हुने गर्दथ्यो र प्रसङ्गवश मात्रै प्रमुख सचिवको पनि उपस्थिति हुने गर्दथ्यो ।

यो आठ वर्षको अन्तरालमा मलाई श्री ५ वीरेन्द्र सादा जीवन उच्च विचार राख्ने मितव्ययी र अरूलाई हार्दिक सम्मान गर्न सक्ने, कुनै पनि तर्कयुक्त कुरालाई सहज समर्थन गर्ने, कुनै पनि आडम्बर नभएको देशभक्त प्रजातन्त्रवादी, विद्वान् र महान् व्यक्ति लाग्यो । मेरा एकजना मित्रले मलाई बारम्बार भन्ने गर्नुहुन्छ, ‘राजा, राजा हो, ऊ आफूलाई जनता–जनार्दन ठान्दैन, राजा विशेष खालको मानिस हुन्छ, ऊ कस्तो ठाउँमा जन्मन्छ, कस्तो ठाउँमा हुर्कन्छ, उसका दिमागमा जन्मेदेखि मर्दासम्म कस्तो मनोविज्ञान भर्ने काम गरिन्छ, यसका आधारमा नेपालका राजा वीरेन्द्रको योगदानको मूल्याङ्कन गर्नुपर्छ ।’ मलाई यो तर्क उपयुक्त नै लागेको छ ।

राजतन्त्र एउटा सामन्तवादी संस्था हो । यो संस्था जनताको रगतको आहालमा जन्म्यो र हुक्र्यो । राजा सामन्तवादकै प्रतीक हुन्छ । तर, साम्राज्यवादको हस्तक्षेप, दमन, नियन्त्रण र त्यसको विरुद्ध अन्तर्राष्ट्रिय सर्वहारावर्गको आन्दोलनको यो युगमा संसारमा बाँकी रहेका राजाहरूमा देशभक्तिको भावना विकसित हुने र जनताको शक्तिका अगाडि झुक्न सक्ने चरित्रको विकास हुन सक्ने सम्भावना पनि त्यत्तिकै हुन्छ । राजालाई उपयोग गरेर न त जनवादी क्रान्ति नै हुने हो, न जनवाद नै स्थापित हुने हो । यसो भएर देशभक्त राष्ट्रवादी राजाहरूलाई अरू बढी राष्ट्र र जनताको पक्षमा लाग्न प्रेरित गर्नु नेपाली सर्वहारावर्गको एउटा अभिभारा पनि हो । ऐतिहासिक रूपमा निश्चित गरिएका हरेक संस्थाको भूमिका ऐतिहासिक रूपले नै सीमाबद्ध हुन्छन् । हामीले नेपाली सर्वहारावर्गको भूमिकालाई यसरी नै अगाडि बढाउन सक्नेछौँ ।

(साभार : २४ जेठ, २०५८ जनआस्था साप्ताहिक, काठमाडौं)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.