युएईमा देखिएका कुरा

| 2023 May 10 | 10:07 am 1169

✍ बबिता बस्नेत

‘खाडी मुलुक’ भन्नेबित्तिकै हामीलाई लाइन लागेर युवाहरू विदेशिएको दृष्य आँखाअगाडि आउँछ । हाम्रा गाउँघरमा हिजोआज प्रायः खाडीबाट ल्याएको कम्तिमा एउटा ब्ल्याङ्केट हुने गर्छ । कतिले ग्र्याण्डर लगायतका केही विद्युतीय सामान पनि ल्याउने गरेका छन् । विगतमा एउटा टेलिभिजन, केही तोला सुन पनि ल्याउने चलन थियो तर सुनमा लगाइएको सीमा र आफ्नै देशको एयरपोर्टमा दिइने दुःख र तनावका कारण हिजोआज सामान ल्याउने चलन घट्दै गएको छ । अरबबाट फर्कंदा युवाहरूले ल्याएको डेट्स (आलो छोकडा) नचाख्ने नेपालीको सङ्ख्या त कमै होला । लाखौँ नेपाली युवाहरू कार्यरत रहेको युनाइटेड अरब इमिरेट्स (युएइ) नेपालीका लागि चर्चा गर्नलाई नयाँ ठाउँ होइन ।

प्रत्येक वर्ष विश्वभरीका पत्रकारलाई विविध विधामा पुरस्कृत गर्दै आएको ‘फेतिसोभ जर्नलिजम अवार्ड’ वितरण समारोहमा भाग लिने क्रममा अप्रिलको तेश्रो हप्ता दुबई र अबुधावीको यात्रा गर्ने अवसर मिल्यो । विभिन्न देशको भ्रमण गर्ने क्रममा ट्रान्जिटमा रहँदा कतार र दुबई एयरपोर्टमा समय बिताएको भएपनि मेरो लागि मध्यपूर्वको भ्रमण नयाँ थियो । फराकिला सडक, भब्य भवन, सडकवरिपरि बाहिरबाट ल्याएर रोपिएका बोटबिरुवा, बस्तीक्षेत्रमा एउटै रङ्गका घरहरू, नजिकै समुद्र, सडकमा मानिस कमै देखिने, ठाउँ-ठाउँमा पार्कहरू दुबईको तुलनामा अबुधाबी निकै शान्त शहर रहेछ । बाटोवरिपरि प्रायः ‘निम’का बिरुवा लगाइएका रहेछन् । निम औषधीय गुणहरू धेरै हुने आयुर्वेदका ज्ञाताहरूले बताउने गरेका छन् । बाहिरबाट ल्याएर रोपिएका स-साना रुख र बिरुवाहरू हेर्दा हाम्रो देशमा झैँ आफै उम्रिने या जहाँ पनि बिरुवा सर्ने भए शहरलाई कति हरियाली बनाउँथे होला जस्तो लाग्यो । प्रकृतिले हामीलाई के दिएको छ भन्ने कुरा महसूस गर्नका लागि विभिन्न देशका भ्रमण महत्वपूर्ण लाग्छ । कतै आधा वर्ष हिउँ त कतै मरुभूमि, कतै बाहिर निस्कनै नसकिने घाम त कतै बाहिर देशबाट खानेपानी ल्याएर खानुपर्ने बाध्यता । हामीलाई प्रकृतिले घाम पानी, मौसम सबै मिलाएर दिएको छ तर पनि देशको अवस्था के छ हामीलाई थाहै छ ।

विश्वको ब्यापारिक हब दुबईबाट ‘भारत’ शब्द निकालिदिने हो भने दुबई नरहने रहेछ । ठुला ब्यापार भारतीयका, भवन बनाउने कम्पनीहरू भारतीय, साना ब्यापार र कामको सेरोफेरोमा भारतीयहरूको पकड, मठ-मन्दिर भारतीयले बनाएका, ठुला ब्यापारिक कम्पनीका विज्ञापनमा भारतीय हिरोइनका तस्बिर, भाषा प्रायः हिन्दी नै बोल्ने, गाडीमा, मलमा भारतीय सिनेमाका गीत, कतिपय ठाउँमा सामानको मोलमोलाइ लगायतका कुराले टाढा अरु नै देशमा छु जस्तो खासै नलाग्ने । युएइको राजधानी अबुधावी भने दुबई भन्दा निकै फरक रहेछ । दुबईमा भीडभाड, अबुधावी शान्त, बाटोमा मानिस पनि कमै हिँडेको देखिने । यी दवै ठाउँमा स्थानीय भन्दा बाहिरकै मानिसहरूको चहलपहल देखियो । न्युयोर्कमा जस्तै विश्वभरीका मानिस दुबई र अबुधावीमा भेटिँदा, देखिँदारहेछन् ।

अबुधाबीमा अनौठो लागेका केही कुरामध्ये मदिरा पसलहरू पनि हुन । विभिन्न ठाउँमा भएका रक्सी पसलका ढोकाहरू दिउँसो, राति जहिलेपनि बन्द हुने रहेछन् । बन्द पसलका ढोकामा बाहिरबाट ‘इन्ट्रान्स’ लेखिएको हुने रहेछ । बन्द ढोकामा लेखिएको ‘इन्ट्रान्स’ अर्थात ‘भित्र पस्ने ठाउँ’बाट भित्र पस्ने र आफूलाई चाहिएको मदिरा किन्ने ।

नियमकानून कति ठुलो हो भन्ने कुरा अन्य विभिन्न देशमा देखिएको भएपनि अबुधावीमा अझ फरक देखियो । महिलाले बाटो काट्न लाग्दा बाटोमा गाडीहरू रोकिने रहेछन्, रोक्नैपर्ने रहेछ । महिलाप्रतिको सम्मानका लागि बनाइएको यो नियम अन्य मुलुकमा देखेकी थिइनँ । हिँड्दै गएको मान्छे बाटो काट्न लागेपछि सडकमा गुडिरहेका गाडीहरू टक्क रोकिने । त्यो दृष्य हेर्न निकै रमाइलो लाग्यो । आफूले अनुभव गर्नका लागि पनि बाटो काटिरहुँ जस्तो । सधैं यस्तै हुन्छ ? भनेर एक जना ट्याक्सी ड्राइभरलाई सोध्दा उनले भने- पुरुषहरू हिँड्दा मतलब हुँदैन तर महिला हिँड्दा यहाँ त गाडी रोक्नैपर्छ । एकपल्ट मैले सडकमा उभिएका छन् के होला र ? भनी खासै वास्ता नगरेर ट्याक्सी लगेँ । केही समयपछि मलाई पुर्जी काटियो र महिला हिँडेको बेला नरोकेकोमा सडक कानून उल्लङ्घन र महिलाको आदर-सम्मानको ख्याल नगरेको भनी जरिवाना गरियो । सीसी टिभीबाट सबै हेरिएको हुन्छ, यहाँको नियम कडा छ ।’ अबुधाबीका सडकका बसस्टपहरूमा मानिसहरूलाई गाडी पर्खिनका लागि बस्ने बेन्च र एसीसहितको सानो कोठाझैँ बारिएको स्थान हुने रहेछ । धेरै गर्मी हुने भएकोले त्यस्तो ब्यवस्था गरिएको हुन सक्छ । बस स्टपमा उभिएका मानिस देखेपछि खाली भए हरेक ट्याक्सीले गति ढिलो गरेर उनीहरूलाई ट्याक्सी आवश्यक छ कि ? भनेर टक्क हर्न दिँदारहेछन् । नजिक जाओस् कि टाढा, मानिस चढ्नुअघि ट्याक्सीवालाले कहाँ जाने ? भनेर सोध्न नपाउने रहेछन् । हामीकहाँ ट्याक्सीले कस्तो ब्यवहार गर्छन्, थाहै छ । यदि नीति, नियम कडा हुन्थ्यो र त्यसको कार्यान्वयन हुन्थ्यो भने हामीकहाँ पनि ट्याक्सीवालाको ‘कहाँ जाने ? त्याहाँ त नजाने…’ वाला दबदबा सजिलै बन्द हुनसक्थ्यो ।

अबुधाबीमा अनौठो लागेका केही कुरामध्ये मदिरा पसलहरू पनि हुन । विभिन्न ठाउँमा भएका रक्सी पसलका ढोकाहरू दिउँसो, राति जहिलेपनि बन्द हुने रहेछन् । बन्द पसलका ढोकामा बाहिरबाट ‘इन्ट्रान्स’ लेखिएको हुने रहेछ । बन्द ढोकामा लेखिएको ‘इन्ट्रान्स’ अर्थात ‘भित्र पस्ने ठाउँ’बाट भित्र पस्ने र आफूलाई चाहिएको मदिरा किन्ने । यसरी भित्रबाट २४सै घण्टा खुल्ला र बाहिरबाट सधै बन्द गरिनुको उद्देश्य मदिरा खुल्ला देखाएर अरुलाई खान प्रेरित नहोस् भनेर रहेछ । खानेहरूले किनुन्, खाउन् तर देखाएर बेच्न र किन्नचाहिँ भएन । स्थानीय र बाहिरका सबैले, महिला, पुरुष जसले जतिबेला किनेपनि भयो, जति मात्रामा किनेपनि भयो तर देखाएर बाटोमा हिँड्न भएन । यस्ता पसलहरू बाहिरबाट हेर्दा हाम्रा दाल चामल पसलमा पनि देखिने गरेर छ्याप्छ्याप्ती राख्ने गरिएका बोतलका दृष्य आँखामा आए ।

विभिन्न मलमा घुम्दै गर्दा र रेष्टुरेन्टहरूमा खान जाँदा देखिएका फरक दृष्यचाहिँ के हो भने त्यहाँका स्थानीय पुरुषहरूले महिलाको आँखामा हेरेर कुरा नगर्ने रहेछन् । सामान देखाउँदा होस् या पैसा लिँदा आँखा जुधाएर बोलेको देखिएन । कुनै रेष्टुरेन्टमा या मलमा पैसा तिर्न लाइन बसेको बेला त्यहाँका स्थानीयलाई बाहिरका मानिसहरूले ठाउँ छोडिदिँदा रहेछन् । अन्य कतिपय मुलुकमा ‘तिमी त बाहिरको पर्यटक, तिमी अगाडि बस’ भन्ने हुनसक्छ । हामी पनि पर्यटकहरूलाई ‘तिमी पहिला गर न, तिमी त हाम्रो पाहुना हौ’ भन्छौँ तर त्यहाँचाहिँ स्थानीयलाई लाइन छोडिदिएको देखियो । कतिपय स्थानीयले त्यसलाई ठिकै छ भन्ने रूपमा लिने र कतिपयको चाहिँ ‘हैन.. तिमी नै बस न म लाइन बस्छु’ भन्ने ‘बडील्याङ्ग्वेज’ हुने रहेछ ।

युएइको पत्रकारितामा पनि हामीकहाँ जस्तै कोभिडले असर पारेको रहेछ । युएइ पत्रकार सङ्घका अध्यक्ष मोहमद अल्हामदीले अबुधाबीमा हार्दिकतापूर्वक स्वागत गरे । उनको भनाइमा त्यहाँ पनि छापामाध्यमहरू धमाधम अनलाइनतिर ‘सिफ्ट’ हुँदैछन् । विज्ञापनको बजार साँघुरिँदै गएको छ । मिडियामा महिला पत्रकारहरूको प्रवेश बढिरहेको छ, केही त सम्पादक पनि भइसकेका छन् । राजनीतिमा पनि महिलाको सङ्ख्या बढिरहेको रहेछ । शिक्षा, ज्ञान सिप, खुशी तथा सुस्थिति, युवा, वातावरण, विज्ञानलगायत गरी त्यहाँको मन्त्रिमण्डलमा ९ जना महिला मन्त्री रहेछन् । ‘ह्यापीनेस एण्ड वेलबिइङ’ मन्त्रालयको यो नाम निकै राम्रो लाग्यो । कुनै देशमा मन्त्रालय नै खडा गरेर जनताको खुशी र सुस्थितिको बारेमा काम हुन्छ भन्ने यसअघि थाहा थिएन । घटना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.