यसरी बिताएका थिए बीपीले कालकोठरीमा छ महिना

रिपोर्ट नेपाल | 2019 Mar 23 | 06:22 am 1893

पुस महिना । काठमाडौंको तापक्रम निरन्तर ओरालो झरिरहेको थियो । २००५ सालको कुरा हो, कालो चस्मा लगाएका बीपीलाई हिजो देख्यौं, आज देख्यौं भन्ने रिपोर्ट प्रधानमन्त्री मोहन शमशेरसम्म पुगिरहेका थिए । चाकरीदार आफ्ना भारदार र जासुसमार्फत प्राप्त रिपोर्टबाट आक्रोशित प्रधानमन्त्रीले बीपीलाई पक्राउ गर्न पुलिस विभागको जिम्मेवारी पाएका छोरा विजयमाथि दबाब बढाइरहेका थिए । विजय भने बीपीलाई तत्कालै समाइहाल्ने पक्षमा थिएनन् । उनको निकट रहेर काम गरेका प्रशासक भीमबहादुर पाँडे लेख्छन्, “चाहेको भए विजयले बीपी उपत्यका छिरेको भोलिपल्टै उनलाई गिरफ्तार गर्न सक्थे ।”

“दरबार स्कुलनजिकै कमलाक्षीको एक पुलिस सुचिकारबाट बीपीका हरेक गतिविधिको रिपोर्ट मेजर जनरल विजय शमशेरकहाँ पुग्थ्यो । तर पनि उनलाई समाउन चाहेका थिएनन् विजयले । बीपीलाई नसमाएको भन्दै बाबु मोहन रिसाएपछि मात्र आठपहरिया पठाएर ज्याठास्थित त्रिरत्न मानन्धरको घरमा रहका बीपीलाई पक्रने आदेश उनले जारी गरे । त्यो दिन भोटो सुरुवाल लगाएर मोटो चादर ओढेको बीपी गोप्य ढंगले संगठन विस्तार र आन्दोलनका विषयमा छलफल गरिरहेका थिए ।

कर्णेल चन्द्रबहादुर थापाको कमाण्डमा आठपहरियाले उनी बसेको घर घेरा हाले । त्यति बेला कति त टोपी भुइमा छोडेर सुइँकुच्चा ठोके । बीपीले भनेका छन्, “अब भाग्नुपर्यो भनेर घरमाथि उक्लिँए । अर्को घरमा फाल हाल्ने सोच्दै थिँए । त्यहाँ पनि छानाभरी प्रहरी तैनाथ रहेछन् ।” चारैतिरबाट घेरा हालिसकेका थिए । घरको छिँडीमै उनी प्रहरीको फन्दामा परे ।

केदारमान व्यथित प्रहरीको हाताबाट उम्किए । बीपीसँगै, त्रिरत्न र गौरीभक्त प्रधान पक्राउ परे । ठूलो माछा फेलापर्यो भनेर प्रहरी पनि व्यथितलाई खोज्नतिर लागेन । कब्जामा लिइसक्दासमेत कर्णेल चन्द्रबहादुर पक्राउ परेका व्यक्ति बीपी नै हुन भनेर आश्वास्त हुन सकिरहेका थिएनन् । र उनले सोधे, “तिमी को हौं ?” बीपीले भने, विश्वेश्वरप्रसाद कोइराला । चन्द्रबहादुरले छक्क पर्दै फेरि सोधे, के रे ? के ? कड्कीएर उनी भन्न थाले, चिनाउने मानिस पनि छन् । चिनौला । बीपी काठमाडौंमा रहेको सुइँको पाउनासाथ विराटनगरबाट उनलाई चिन्ने मान्छे बोलाइएको थियो । जति सक्यो चाँडो महाराजकहाँ उनलाई हाजिर गराउन चाहन्थे कर्णेल ।

बीपीसँगै पक्राउ परेका मानिसलाई हतकडी लगाइयो । उनलाई चाहिँ टुकाले बाँधे । आफ्ना साथीहरुलाई हतकडी लगाएको देखेर बीपी भन्न थाले, उनीहरुको के दोष ? म हुँ मुख्य नेता । उनीहरुलाई दुःख नदिनुस् । हतकडी लगाउनु छ भने मलाई लगाउनुहोस् । चन्द्रबहादुर पनि कड्किए, तिमीलाई महाराजकहाँ लिएर जान्छौं । जे हुकुम हुन्छ, त्यही हुन्छ । सीधै सिंहदरबार लगियो ।

बीपीले भनेका छन्, म पक्राउ पर्दा मेरो खल्तीबाट मैले महाराज मोहन शमशेरलाई लेखेको चिठी उनीहरुले फेला पारे । साथै टंकप्रसादले लेखेका तीन ओटा चिठी र मेरो कार्ययोजना, छ महिनाको कार्यक्रम पनि फेला पारे । त्यति बेला एउटा कोट, भोटो, पातलो एकजोर मोजाबाहेक उनको शरीरमा तातो लुगा र खुट्टामा जुत्तासमेत थिएन । राती १० बजे सिंहदरबार मुल ढोकाबाट भित्र दक्षिणपट्टिको दाहिने गोलो एकतले पल्टन बस्ने घरको बीचतिरको कोठामा उनलाई पुर्याइयो, जहाँ लहरै मानिस सुतेका थिए । पुसको महिना काठमाडौंको मुटु कमाउने जाडो । हिउँजस्तै चिसो छिडीमा नाङ्गै नेल र हतकडी लगाएर अमानवीय ढंगमा उनलाई त्यहाँ पुर्याइएको थियो ।

ढुङ्गा छापेको सिमेन्टेड भुइँमै सुत भन्न थाल्यो प्रहरी सयौँ सिपाहीहरु त्यसैगरी भुइँमा लडेका थिए । त्यस घटनाले बीपीले भनेका छन्, मलाई न बिछ्याउने दिएको छ, न आढ्ने । तीन दिनसम्म खाली भुईमा सुत्न बाध्य पारियो । जाडोको कारण उनी काँपिरहन्थे । एक पटक त उनी मुर्छा नै परे । बीपीले भनेका छन्, म त्यहीँ मर्छु कि जस्तो लाग्थ्यो । मेरो दिमागले काम गर्न छोड्यो, आफ्नो मानसिक सन्तुलन कायम राख्न म कहिले उठ्थे, कहिले बस्थे र कहिले कुक्रुक्क पर्ने गर्थे ।

हतकडी र गोडमा नेल ठोकी कम्मरमा साङ्लो बाधिँएको थियो भने सैनिक गार्डले अहोरात्र पहरा दिइरहेको हुन्थ्यो । पहिलो दिन खाना पनि दिइएन । बन्दीलाई खाना दिने कि नदिने रु दिए के दिने भन्ने मामुली निर्णयका लागि समेत प्रधानमन्त्रीकै आदेश चाहिन्थ्यो । धर्मकर्ममा असाध्यै लगन भएका प्रधानमन्त्री मोहन शमशेर हरेक दिन बिहान १० बजेसम्म पूजामा बस्थे । प्रधानमन्त्रीको ओदेश नआउँदा बीपीले खान पाएका थिएनन् । पूजा सेकर महाराजले आदेश सुनाए, थुनुवालाई खाना दिनु ।

त्यसपछि मात्र मूला, आलु, चिउरा र तारेको भटमास एउटा कागजमा राखेर बीपीको कोठाभित्र छिराइएको थियो । बिनाकपडा रात काटेपछि ओढ्नेओछ्याउने कपडा दिनुपर्यो, जाडोले मर्ने भएँ भने बीपीले । राणाका कर्मचारी भन्न थाले, आफन्तकहाँ मगाऊ । असह्य दुःख दिएर राखेपछि बीपीको सम्पर्कसूत्र पत्ता लगाउन सकिन्छ भन्ने राणाहरुको रणनीति थियो । तर बीपीले केही गर्दा पनि मुख खोलेनन् । उनी भन्ने गर्थे, यहाँ मेरा कोही मानिस छैन ।

कोसँग मागौं ? थुनामा परेको तेस्रो दिन राति बीपी मुर्छा परे । उनको आँखाअगाडी एकै चोटी रातो, नीलो, पहेंलोको समिश्रण इन्द्रेणी आयो । त्यपछि निष्पट्ट अन्धकारको एउटा झड्काले छोप्यो । उनी मुर्छा परे । ब्युँझिँदा कसैले आगो बालिदिएको थियो । सेनाले लगाउने कोट ओढाइदिएको थियो । मुर्छा पर्नुअघि आफूलाई थुनामा रहेको कोठाबाहिर पहरा दिइरहेका सिपाहीको राइफल खोसी खुट्टाले ट्रिगर थिचेर आफैंलाई गोली हान्नेसम्मको सोचाई उनमा आएको थियो।

एक दिन रातको १०–११ बजेतिर ठूलो राडी बोकेर कराउँदै एउटा मान्छे बन्दीकक्षमा पुग्यो । ऊ भन्दै थियो, महाराजको आदेश छ यो राडी थुनुवालाई दिनु । अनि त्यही एउटै राडी ओछ्याउने र ओढ्ने गर्न थाले बीपी । इँटको तकिया बनाए । महाराजको आदेशमा नेल, हतकडी र कम्मरमा जन्जिर लगाइएको थियो । हुन त त्यस अघि भारतीय स्वतन्त्र आन्दोेलनका क्रममा पनि उनी पक्राउ परेका थिए । विराटनगर मजदुर आन्दोलनका क्रममा पध्म शमशेरको बन्दी भएका उनलाई जेलमा त्यस तहको यातना दिएर बन्दीलाई राख्छन् भन्ने कल्पनासमेत थिएन ।

राणाहरु अंग्रेजको तुलनामा कैयौं गुणा क्रुर थिए । बीपीले भनेका छन्, नेल लगाउँदा ठोक्नुपथ्र्यो, एकदमै क्रुर र अमानवीय तवरले । अलिकति विचार पुर्याएन भने हथौडा चिप्लिएर खुट्टामै बज्रिन्छ कि भन्ने डर हुन्थ्यो । एक पटक हथौडाले हानेर नेल लगाउन लाग्दा कौ ९लोहार०को हात चिप्लिएर नेल अड्क्याएको ढुङ्गामा लाग्यो । बीपीले भनेका छन्, त्यहाँ बसेको अफिसरले कौंलाई हप्कायो, ए उसको खुट्टाको हाड फुट्यो भने त जोडदिन्छस् ।

अब त दिन्छस् भने त्यो ढुङ्गाको पैसा । नेलबाट केही समयका लागि भएपनि मुक्ति पाउने उपाय निकाल्दै बीपीले महाराजकहाँ खबर पठाए, बाहुन हुँ । दिनहुँ ननुहाई म खान सक्दिनँ । अनि महाराज मोहनको आदेशमा उनलाई नुहाउने अनुमति प्राप्त भयो । बिहान नुहाउनुअघि नेल खोलिन्थ्यो, नुहाइसकेपछि फेरि ठोकिन्थ्यो । थुनामा राखेको १५ दिनपछि उनलाई अदालतमा हाजिर गराइयो ।

सिंहदरबारभित्र ग्यालरी हाउस (संसद् भवन) नजिक काठेघरको एउटा कोठामा सफा मेच र कार्पेट राखी अदालतको रुप दिइएको थियो । मुख्य न्यायधीश हरि शमशेर(राजा महेन्द्रको ससुरा) सहित अरु १०–१५ न्यायधीश र दुई जना सहायक थिए । गणेशमानको बाजे रत्नमान र प्रहरी प्रमुख पनि इजलासमा थिए । उनीहरु कुनै हैसियतमा त्यहाँ थिए भन्ने थाहा नभएको बीपीले उल्लेख गरेका छन् । एक जना कानुन विषयका ज्ञाता र अर्का गुरुज्यू पनि इजलासमा थिए ।

काठमाडौंमा क्रियाशील सहयोगी र सम्पर्कसूत्र पत्ता लगाउन सकिन्छ कि भन्ने उद्देश्यले अत्यन्त अमानवीय रुपले आफूलाई खाली भुइँमा सुत्न बाध्य परिएको तथ्य बीपीले इजलास पुगेपछि मात्र थाहा पाए । थुनामा परेको दुई सातासम्म उनको खोजखबरका लागि कोही आएन । बयानको सुरुमै नेपाल आएपछि उनी लुकिछिपी बसेको ठाउँबारे सोधियो ।

बीपीको जवाफ थियो, मैले त्यो कुरा कसैलाई नभन्ने कसम ईश्वरसँग खाएको छु । त्यसैले तपाई मानिसहरुसँग म त्यो कसम तोड्न सक्दिनँ । सूचना चुहाउन सकिन्छ कि भनेर सात दिनसम्म हरि शमशेरको इजलासमा उनलाई केरकार गरियो । तर बीपीले कुनै कुरा खोलेनन् । अनी कोर्रा लगाउने डर देखाइयो ।
तिम्रा नामः विश्वेश्वरप्रसाद कोइराला ।
पिताजीको नामः कृष्णप्रसाद कोइराला ।
घरः विराटनगर
तिमी यहाँ राजकाज उडाउन आएका होइनौं ?
बीपीः हामीले राज्य ताकेको होइन, नागरिक अधिकार खोजेको हो । वैधानिक र उत्तरदायी शासन खाजेको हो ।
हरि शमशेरः कोको छने तिम्रा मतियार बताऊ ?
बीपीः सारा कुरा बताउँछु । तर त्यो बताउन सक्दिनँ । मैले भगवानको नाममा प्रतिज्ञा गरेको छु । तपाईका अगाडि आफ्नो त्यो प्रतिज्ञा तोड्न सक्दिनँ । बीपीको जवाफ सुनेपछि न्यायाधीश जर्नेल हरि शमशेरमा क्रोधको ज्वाला उत्पन्न भयो । इजलासमै रहेका गुरुतिर फर्केर उनले भने, के गर्ने गुरु ? ल भन्नुस् त । बाहुनको छोरालाई केही गर्न नमिल्ने । फेरि हरि शमशेरले थपे, ल ठीक छ, आजलाई भैहाल्यो, अब नमाने कोर्रा लगाउनुपर्ला ।

बीपीले ठाने अब कोर्रा त लाउने नै भए । मानसिक रुपले यातना सहन तयार भए उनी । गोप्यता भंग गर्दिन भन्ने प्रतिज्ञा गरे । बीपीले भनेका छन्, कोर्रा लगाउँदा मठ्ठी कस्छु । दाँत किटेर सहन्छु । बेहोस भएपछि त थाहै हुँदैन । बाल्यकालमा बनारसमा भएको घटना सम्झिए, आकस्मत २४ घण्टाभित्र अप्रेसन गर्नुपर्ने भयो । एनेस्थेसिया दिन ७५ रुपैयाँ थिएन । बेहोस बनाउने औषधी बिनै अपरेसन गरियो । त्यो बेला जसरी सहें, त्यही उपाय लगाउँछु । अनि आमा दिव्याले सम्झाएको र हजुरआमाले मेरो नाति बहादुर छ भनेको सम्झिए । अपरेसन गरेर फर्किदा डाक्छरले भनेको सम्झिए, यो जस्तो साहसी बालक मैले देखेको थिइनँ । त्यति बेला पैसाको अभावमा पीडा सहनु परेको थियो, यतिखेर राणाशासकको क्रुरता अगाडि केही नलागेर ।

भोलिपल्ट पुनः केरकारका लागि उनलाई इजलासमा हाजिर गराइयो ।
हरि शमशेरः ठीक छ । सजिलै नबके कोर्रा लगाउनुपर्ला ।
बीपीः कोर्रा लगाउनुस् वा जे गर्नुस् । भगवानलाई साक्षी राखेर गरेको प्रतिज्ञा म तोड्न सक्दिनँ ।
जनिसुकै तर्साउँदा पनि केही नलागेपछि बीपीलाई जेल पठाउने आदेश भयो । तर कति समय थुनामा राख्ने भन्ने खुलाइएन ।
यता कोइराला परिवारका सदस्य सबै सत्ताको कोपभाजन भएका थिए । दुई छाक खान धौधौ थियो । प्रवास बस्दाको घटनाबारे बीपीले भनेका छन्, बिहान हामी सबै आँगनका जान्थ्यौं । आमाले भिजाएर टुसा उम्रेको चना र ताडीको झोल नास्ताको रुपमा खान दिनुहुन्थ्यो । भारतका विभिन्न सहरमा भौंतारिँदा सहर्सा(बिहार) टेढी पुगेपछि मात्र उनीहरुको पौष्टिक आहार पाएका थिए । बीपी आफैंले टेढी पुगेपछि मात्र दूध र घिउ खान पाइएको उल्लेख गरेका छन् ।

भारतको प्रवासमै हुँदा कुपोषणबाट बीपीका एक भाइको मृत्यु भयो । अन्तिम संस्कारका लागि कात्रो किन्ने पैसासमेत थिएन । स्कुल पढ्ने बेलासम्म पनि बीपीको खुट्टामा न एक जोर जुत्ता हुन्थ्यो, न फेर्ने कपडा नै । उनले आफैं भनेका छन्, मैले जे लगाएको थिएँ, मसँग त्यति मात्रै थियो । चरम कष्ट अभाव भोग्नुपरेका कारण पनि उनले बाँचुन्जेल सादगीपूर्ण जीवन यापन गरे । परिवारका सदस्य र कार्यकर्तालाई सादगीका साथ जिउन प्रोत्साहित गरिरहे । बीपीपुत्र शशांक सम्झन्छन्, एक पटकको दशैंमा मैले बाबालाई कपडा किनिदिन निकै कर गरें । उहाँले सोध्नुभयो, तसँग कतिवटा सर्टपाइन्ट छ ? मैले जवाफ दिएँ त्यही पाँच छ जोर । बाबाले फेरि सोध्नुभयो, एक पटकमा तँ कति जोर कपडा लगाउँछस् ?शशांकः एक जोर ।
बीपीः बाँकी के गर्छस् ?
शशांकः दराजमा राख्छु ।
बीपीः जा बजारमा गएर हेर् । दराजमा राखिएका सबै कपडा मेरा हुन् भन्ने ठान्, आखिर लगाउँने त एक जोर न हो ।

त्यहीँ दिन उनले कान्छा छोरालाई सम्झाउँदै भनेका थिए, बनारसमा पढ्दा म सँग एक जोर कपडा मात्र थियो । जीउको कपडा मैलो भएपछि गंगाजीमा गएर धुन्थे र सुकेपछि लगाएर हिड्थे । लगाएको कमिज झुत्रो भएपछि मात्र खादीको पसलबाट अर्को तयारी कमिज किन्थे, १० आनामा । बीपी छोराछोरीलाई सम्झाउँदै भन्ने गर्थे, तिमीहरु त राजकुमार जस्ता छौ । दुःख कस्तो हुन्छ थाहा छ ?

त्यतिबेला नेपाली समाजबारे गणेशमान सिंहले लेखेका छन्, एक प्रतिशन जागिरदार र व्यापारीबाहेक ९९ प्रतिशत खेतिकिसानी, दुःखजिलोगरेर गुजारा गर्दथे । त्यो एक प्रतिशतचाहिँ दरबारको ढोकाढोकामा पुगेर चाकरी पुर्याउथ्यो र आफूमुनिकालाई चाकरी गराएर प्रतिष्ठा आर्जन गरेको ढोङ गर्दथ्यो । राणाको चाकडी गरेर मानप्रतिष्ठा आर्जन गर्ने, नोकरी र व्यापारमा उन्नति गर्ने नेपाली चन्द्र शमशेरको कोपभाजनमा परी देशनिकाला गरिएका कोइरालासँग सम्बन्ध बढाउनु त परै जाओस्, उनीहरुको छायासमेत नपरोस् भन्ने चाहन्थे । कृष्णप्रसाद र उनको परिवारका सदस्यलाई भेट्दा राणाबाट राजद्रोहीसरह सजाय पाउने त्रास व्याप्त थियो ।

धर्मकर्मका लागि काशी पुग्ने नेपाली हुन् वा व्यापारका लागि कलकत्ता जानेहरु, राणाको छात्रावृत्तिमा पढ्न गएका विद्यार्थी हुन् वा पढेर राणाको चाकरीबिना जागिर खान पाइँदैन भन्ने मानसिकता बोकेको बुद्धिजिवी, सबै कोइराला परिवारसँग तर्सिन्थे । इष्टमित्र र आफन्तहरुसमेत भित्ताले समेत सुनि पो हाल्छ कि भन्ठानेर डाराउँदै गोप्य तवरबाट भेट गर्थे । जतिसुकै पढेर आएपनि जागिर पाउन राणा प्रधानमन्त्रीलाई दाम राखेर दर्शन गर्नुपथ्र्यो । जागिर दिने कुरा सबै प्रधानमन्त्रीको इच्छा र विवेकमा भर पथ्र्यो । बीपीले भनेका छन्, म त्यो खुलमखुला विद्रोही परिवारका सदस्य थिएँ, जोसँग संसर्गमा रहँदा दरबरका आशामुखीहरुलाई जोखिम थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.