महिलालाई छुट्टै बस कि कडा अनुशासन ?

रिपोर्ट नेपाल | 2023 Aug 09 | 04:52 pm 3957

✍ बबिता बस्नेत

राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनको क्षेत्र नं. २ मा महिलाका लागि छुट्टै बस सञ्चालनमा ल्याएको कुरा अहिले चर्चामा छ । सार्वजनिक यातायातमा महिलामाथि यौन हिंसाका घटनाहरू बाहिर आएपछि २०७१ सालमा बागमती यातायातले महिलाका लागि राजधानीका सडकमा छुट्टै बसको ब्यवस्था गरेको थियो । तर महिलालाई मात्र लिएर गुड्ने भनिएको उक्त बसले निरन्तरता भने पाउन सकेन । अहिले सांसद रवि लामिछानेले सुरु गरेको बसको उद्देश्य पनि यात्रामा महिलालाई सहज होस्, महिलाले यौन हिंसा भोग्नु नपरोस् भन्ने नै हो भनेर बुझ्न गाह्रो पर्दैन । राम्रो उद्देश्यले गरिएको भएपनि यस प्रकारको ब्यवस्था समस्याको स्थायी समाधान भने होइन ।

अहिलेका महिलाको लैङ्गिक भूमिका विगतको तुलनामा निकै परिवर्तन भएको छ । विभिन्न क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दो छ । बिहान कार्यालय समयमा स्याँस्याँ र फ्याँफ्याँ गर्दै महिलाहरूको दौडादौड हुन्छ । पुरुषहरू पनि अवश्य नै घर बाहिर काम गर्छन् तर उनीहरूको दौडाइ महिलाको भन्दा अलि फरक हुन्छ, खासै दौडधुप देखिँदैन, कारण- घरको काम ! महिलाको सार्वजनिक लैङ्गिक भूमिकामा परिवर्तन भएपनि घरेलु भूमिकामा परिवर्तन नहुँदा दोहोरो कामको बोझले उनीहरू सधै थिचिएका छन् । तर पुरुषहरूको भूमिका समाज, परिवार र मुलुकमा हिजो जे थियो आज पनि त्यही छ । बाहिरी कामकाजको मात्र भूमिका निर्वाह गर्ने भएकाले महिलालाई जस्तो कामको दोहोरो बोझ अधिकांश पुरुषलाई छैन । कामकाजी महिलाको बढ्दो सङ्ख्यासँगै सडकमा महिलाको ‘मोवीलिटी’ पनि त्यत्तिकै छ । कामकाजी महिलाको कुरा मात्रै होइन गृह ब्यवस्थापक महिलाहरू पनि कुनै न कुनै कामले बसयात्रा गरिरहेकै हुन्छन् । सडकमा यात्रा गर्दा कतिबेला ‘महिला बस’ आउँछ भनेर पर्खिएर बस्नु त्यति ब्यवहारिक होला जस्तो देखिँदैन ।

सार्वजनिक यातायातमा यात्रा गर्नेहरूमध्ये अधिकांशको अनुभवमा गाडीमा अलि कोचाकोच हुँदा ‘अब धेरै मान्छे नराख्नु न, उभिने ठाउँ नै छैन’ भनी बसका सहयोगीलाई भन्यो भने ‘आरामले बस्न खोज्नेले त ट्याक्सी चढे भइहाल्यो नि’ भन्ने जवाफ सुन्नुपरेको छ । अब महिलाका लागि छुट्टै बस राखेपछि त झन् महिलाहरूले यसप्रकारको गुनासोको जवाफ ‘आफ्नै बस चढे भइहाल्यो नि, महिलालाई छुट्टै बस छँदैछ क्यारे’ भन्ने पाउन पनि सक्छन् । अर्को कुरा महिलामाथि यौनहिंसा जताततै छ, घर, स्कुल, कार्यालय, सार्वजनिक यातायात अनि कहाँ मात्रै यस प्रकारको ब्यवस्था गर्ने ? महिलाले महिलाका लागि अर्थात ‘वीमेन इन डेभलप्मेन्ट’को अवधारणाले त्यति राम्रो परिणाम नल्याएपछि विश्वमै लैङ्गिकता र विकास अर्थात् ‘जेण्डर एण्ड डेभलप्मेन्ट’को अवधारणा ल्याइएको हो । महिला या पुरुष मात्रै हुने स्कुल कलेजहरू भन्दा केटाकेटी दुवै भएको स्कुल/कलेजमा शिक्षा पाएकाहरू नै बढी आत्मविश्वासी हुने गरेको कुरा पनि विभिन्न अध्ययनहरूले प्रमाणित गरिसकेका छन् ।

महिला मात्र एकातिर पुरुष एकातिर बनाएर हिंसा कम हुने पटक्कै होइन । के–के कुरामा मात्रै अलग गर्ने ? स्कुल, कलेज या कार्यालय ? महिलाले मात्रै काम गर्ने कार्यालय भन्न थालियो भने के होला ? महिलाका लागि सबै भन्दा असुरक्षित र बढी हिंसा हुने ठाउँ आफ्नै घर हो । घर पनि महिलाका लागि छुट्टै पुरुषलाई अलग्गै भन्ने त पक्कै गर्न सकिँदैन । महिला महिला या पुरुष पुरुषले काम गर्ने स्थानमा भन्दा महिला पुरुष दुवै मिलेर काम गर्ने ठाउँमा बढी उपलब्धि हासिल भएको पनि अध्ययनले देखाएको छ । साथै विभिन्न मुलुकमा सेनामा काम गर्ने सिपाही तथा अधिकृतहरूले पुरुषहरू मात्रै रहेर काम गर्दा भन्दा महिलाको सहभागिता भएपछि सेनाका कार्यालय तथा ब्यारेकका मेसहरू बढी अनुशासित भएको बताएको भन्ने कुरा पनि अध्ययनमा देखिएका छन् ।

२०४६ सालको प्रजातन्त्रपछि राजधानीमा भएको एक बालिका बलात्कारको घटनालाई लिएर तात्कालिन अन्तरिम सरकारका गृहमन्त्री योगप्रसाद उपाध्यायले महिला सुरक्षाका लागि दिएको अभिब्यक्तिले निकै चर्चा पाएको थियो । उक्त बलात्कार र महिला सुरक्षाका सवालमा उनले महिलाहरूले आफू सुरक्षित रहन लामा लामा नङ पाल्नुपर्ने र खुर्सानीको धुलो साथमा बोकेर हिँड्नुपर्ने बताएका थिए । गृहमन्त्रीको त्यस प्रकारको गैरजिम्मेवार अभिब्यक्तिको त्यतिबेला खुब आलोचना भएको थियो । यदि त्यतिबेलैदेखि बलात्कारका मुद्दामा कडा सजाय गरिएको भए अहिलेसम्म यस प्रकारका घटनामा कमी आएको पनि हुन सक्थ्यो । तर यौन हिंसा तथा बलात्कारलाई हल्का फुल्का विषयका रूपमा लिने प्रवृत्तिका कारण घटनाहरू वर्षौंदेखि दोहोरिइरहेका छन् ।

वास्तवमा भन्ने हो भने यौनहिंसा या कुनै पनि हिंसाको सन्दर्भमा समस्या महिला र पुरुषसँगै हुनु, सँगै काम गर्नु या सँगै यात्रा गर्नुमा होइन मानिसको पवृत्तिमा छ, मानसिकतामा छ । प्रवृत्ति अर्थात् ‘एटिच्युड’ नै सबैभन्दा ठुलो समस्या हो । साथै कानून र त्यसको कार्यान्वयन अर्को महत्वपूर्ण पक्ष हो । यो अनुशासनसँग जोडिएको कुरा पनि हो । हुर्काइदेखि नै उचित नैतिक शिक्षा दिलाउन सके यसले पनि फरक पार्न सक्थ्यो । यदि यौनहिंसामा कडा कानून हुने हो भने कार्यालय होस् या सार्वजनिक यातायात या घर सबैतिरको अवस्था अहिले जस्तो नहुन सक्थ्यो ।

कानूनले कति फरक पार्छ भन्ने कुरा विकसित मुलुकहरूमा हुने ब्यवहार र हामीकहाँ हुने ब्यवहारलाई हेरेर पनि प्रष्ट हुन्छ । कुनै नेपाली पुरुषले लण्डन या न्युयोर्कको रेष्टुरेन्टमा खान गएका बेला त्यहाँ काम गर्ने वेट्रेसलाई जिस्काउन सक्छ ? सम्भवै छैन । जिस्काउनु त परको कुरा अनुहारमा एकोहोरो नजर लाउन पनि सक्दैन । तर हाम्रा कतिपय दोहोरी र क्याविन रेष्टुरेन्टहरूमा कतिपय ग्राहकहरूले वेट्रेसलाई गर्ने ब्यवहारको दृष्य निकै पीडादायी देखिन्छ । आफ्नो देशमा यस्तो ब्यवहार गर्ने तिनै ब्यक्तिहरू विदेश जाँदा भने सोही काम गर्ने वेट्रेसहरूलाई ब्यवसायिक ब्यवहार गरिरहेका हुन्छन् । किन त ? किनभने यहाँको जस्तै ब्यवहार त्यहाँ गरियो भने उनीहरूले तुरुन्तै जेलको छिँडीमा पुग्नुपर्ने हुन्छ र, उक्सिनका लागि आफूसँग भएको सम्पत्तिले नपुग्न पनि सक्छ । त्यसैले कानून र त्यसको कार्यान्वयन महत्वपूर्ण कुरा हो । चाहे सार्वजनिक स्थलमा होस् या घरमा महिलामाथि हुने यौन तथा अन्य प्रकारका हिंसाको न्युनीकरण गर्नका लागि अस्थायी प्रकारका भन्दा पनि राज्यको तर्फबाट स्थायी समाधान नै खोज्नु आवश्यक छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले सुरु गरेको महिला बसको उद्देश्य राम्रो हुँदाहुँदै पनि परिणाम सोचेजस्तो नहुन सक्छ । महिलाका लागि छुट्टै बसभन्दा पनि उक्त क्षेत्रमा चल्ने सबै बसहरू महिलाका लागि सहज र सुरक्षित बनाउने कामचाहिँ महत्वपूर्ण हो । तथापि, सांसद रवि लामिछानेले सुरु गरेका कारणले नै यति बहस गर्न पाइएको हो भन्नेचाहिँ बिर्सनु हुँदैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.