महेन्द्र पाण्डेय
नेपाल प्रहरीका २६ औं प्रहरी महानिरीक्षकका रुपमा २०७४ चैत्र २८ गते देखि कार्यरत रहेका सर्वेन्द्र खनालका विषयमा अनेक किसिमका चर्चा परिचर्चा भइरहेका बेला वीरगंजका प्रतिष्ठित उद्योपतिसँग यो पंतिकारको गत २५ गते सोमबार जम्का भेट भयो । मुलुकको सुरक्षा र प्रहरी कर्मचारीका विषयमा कुरा गर्दै जाँदा उनले वर्तमान प्रहरी प्रमुख खनालको मुक्तकण्ठले प्रशंसा गरे । वीरगंजमा दिनदहाडै गोली हान्नेदेखि विद्यालय गएको बच्चा र व्यवसायमा भएका मान्छे जिवित आउँछ आउँदैन वा लुटिएर आउँछ कि स्वच्छ आउँछ भन्ने परिवारमा तनाव हुने गरेको ति उद्योगपतिले बताएका थिए ।
त्यसरी आतंकित बनेको वीरगंजलाई यिनै सर्वेन्द्र खनालको उपस्थितीले रामराज्यमा परिणत बनाईदिएको पनि ति उद्योगपतिको भनाई थियो । उनले महानिरीक्षक सर्वेन्द्र खनालको मात्रै प्रशंसा गरेनन् कि नेपाल प्रहरीको समेत प्रशंसा गरे । एउटा व्यक्ति मात्रै आफ्नो कर्तव्यमा अडिग रहने हो भने सिङ्गो समाज परिवर्तन हुने कुराको प्रमाण सर्वेन्द्र खनल नारायणी अञ्चलको प्रमुख हुँदा देखिएको ति उद्योगपतिको भनाई रहेको थियो ।
सर्वेन्द्र खनाललाई नेपाल प्रहरीमा आउनु पूर्व चिन्नेहरुले पनि उनी विद्रोही स्वभावको भएको बताउँछन । विद्यार्थीकालमा समेत अन्याय र अत्याचारको विरुद्ध खरोसँग उत्रने र बोल्ने स्वभावका उनी प्रहरी संगठन भित्र छिरेपछि आफ्नो स्वभावलाई अन्याय र अत्याचारमा परेका जनताको पक्षमा सधै अडिग राख्न सफल भए । खनालको सेवाको दौरानमा अनेक आरोह अवरोह नआएका होइनन् तर उनी सधैं आफ्नो कर्तव्यमा चुकेनन् । जनताले खाली खुट्टा हिडेर नाङ्गै र भोकै बसेर तिरेको करबाट आफूले सुविधा पाएको सम्झने सर्वेन्द्र जागिरको दौरानमा जहाँ जहाँ गए त्यहाँ उनले वाही वाही पाए । उनले जनताको वाही वाही पाउनु उनको गोरो अनुहार र फूर्तिलो जिउडाल नभएर उनको काम गर्ने शैली र जनता रिझाउने तरिकाले हो । खनाल जहाँजहाँ पुगे त्यहाँ त्यहाँ सुरक्षाका दृष्टिले रामराज्य नै भएको थियो भन्ने कुरा वीरगंजका ति उद्योगपतिको कथनले पनि प्रमाणित हुन्छ ।
अपराध कर्मलाई कम गर्ने क्रममा र अपराधी नियन्त्रणमा लिने क्रममा खनालले थुप्रै जोखिम मोलेका छन् । तराईको जिल्लामा बस्दा त्यहाँ भएका अपराध गर्ने अपराधीलाई नियन्त्रणमा लिनका लागि उनी अनेक पहिरनमा भारतका विभिन्न ठाउँमा पुगेका कुरा पौराणिक कथा जस्तै लाग्न सक्छ । खनालले अपराधीलाई नियन्त्रणमा लिनका लागि सुराकी मार्फत सूचना प्राप्त गरी धोती कुर्ता लगाएर आफ्नो हुलियालाई परिवर्तन गरी भारतमा गएर अपराधी नियन्त्रणमा लिएको कुरालाई नेपाल प्रहरीमा कार्यरत नयाँ अधिकृत र कर्मचारीहरुले मार्ग निर्देशका रुपमा लिने हो भने जनताले न्याय पाउने कुरामा दुईमत रहँदैन ।
जनताको नजरमा भगवान रुपी प्रहरी र अपराधीको नजरमा आफ्नो मार्गको तगारो वा आँखाको कसिंगर भएका खनालले सधै जनतालाई केन्द्रबिन्दुमा राखेर काम गरेका कारण आज यहाँसम्म आउन सफल भएका हुन् । भगवानका त अन्जानमा गल्ती हुन्छन भने सर्वेन्द्र खनाल त मान्छे हुन् उनका एकाध गल्ती नभएको भनेर ठोकुवा गर्न सकिन्न । एउटा गल्तीले सय सत्यलाई ढाक्न मिल्छ वा मिल्दैन त्यो मात्र प्रश्न हो ।
२०७६ सालको कात्तिक महिनासम्म आउँदा उनले नेपाल प्रहरीको कमाण्ड संम्हालेको १९ महिना बितेको छ । आग्रह र पूर्वाग्रह नभई भन्ने हो भने यो छोटो अविधिमा नेपाल प्रहरीले आमुल परिवर्तन गरेको छ । लामो समयसम्म रोकिएको सरुवा र बढुवाको जाम उनले नेतृत्व संम्हालेकै दिन देखि खुलेको थियो । संगठनको नेतृत्व संम्हाल्दै गर्दा प्रहरी संगठन भित्रको व्यक्तिवादी प्रवृत्तिले भएको फोहोरको डुङ्गुरलाई सफा गर्न चुनौती नै थियो । कार्यभार संम्हाल्दै गर्दा संगठनको आन्तरिक सदृढीकरण, शान्तिसुरक्षाको सवलिकरण लगायत दर्जनौ चुनौतीको सामना गर्नुपर्ने थियो । एकातिर संगठन भित्रको सुदृढीकरण आवश्यक थियो भने अर्को तर्फ भूमिगत विप्लव समुहको गतिविधि नियन्त्रण गर्ने कुरा थप चुनौती थियो ।
खनालले सबै कुराको लामो समय देखि सुक्ष्म किसिमले अनुसन्धान गरेकै कारण नेतृत्व संम्हाल्न साथ १० बुँदे सांगठनिक प्राथमिकता तय गरेर अघि बढेकै कारण मुलुक अहिले शान्ति सुरक्षाको दृष्टिले यो अवस्थामा आएको हो । सर्वेन्द्र खनालको व्यक्तिगत आलोचना गर्नेहरुले टिकाटिप्पणी गरे जस्तो अपराध भए जस्तो यो पंतिकारलाई लाग्दैन । अपवादका रुपमा केही घटनाका अपराधी पत्ता लाग्न नसकेको कुरालाई नकार्न सकिन्न तर अघि उल्लेख भए झै एकसय राम्रोलाई एक नराम्रो कार्यले मेट्न खोजियो भने त्यसको परिणम स्वयम् हामीले भोग्नु पर्ने कुरामा दुईमत छैन ।
विप्लव समुहको गैह्र कानूनी गतिविधिलाई पूर्ण रुपमा निस्तेज पारिएको छ भने एकाध घटना बाहेक हरेक घटनाको पूर्ण कर्तव्य पालना अनुसार सफल अनुसन्धान भइरहेको छ । खनालको यो छोटो कार्यकालमा अन्तराष्ट्रिय अध्ययन प्रतिवेदनले पनि सुरक्षा स्थिती थप सदृढ हुँदै गएको छ । संगठनलाई भन्दा आफूलाई सर्वोपरी ठान्ने केही ऐजेरु बाहेक जनताको करबाट रासन र आसन पाएको महसुस गर्ने प्रहरी कर्मचारीले खनालको आजसम्मको गतिविधि प्रशंसनीय भएको बताउँछन । धमिलो पानीमा माछा मार्न पल्केका केही व्यक्तिहरुले समय समयमा महानिरीक्षक खनालका विषयमा अफवाह फैलाए पनि खनालले त्यसलाई शाहसिक ढंगले प्रतिवाद गर्दै आएका छन् । संगठनको प्रमुख बन्नासाथ आर्थिक अनुशासन देखि सुधारको सुरुवात घरबाट हुनुपर्छ भन्ने कुरालाई लागू गराएका थिए ।
उनको यो १९ महिने कार्यकालमा कारबाहीमा पर्नेको संख्या भन्दा पुरस्कृत हुनेको संख्या बढ्ता भयो । नीति र निर्देशन विपरित कार्य गर्ने कैयौ कमाण्डरहरु कारबाहीमा पनि परे । गुण्डागर्दी भन्ने कुरा आफ्नो शब्दकोषमा नभएको बताउँदै आएका महानिरीक्षक खनालले मातहतका सबै निकायलाई गुण्डागर्दी नियन्त्रण नभएर निर्मुल पार्न निर्देशन दिए । निर्देशन बमोजिम अहिले गुण्डाराज नियन्त्रण भएको छ । संगठनको सुदृढीकरण दुरगामी विकास र प्रहरी कर्मचारीको मनोवल उकास्न उनी अहोरात्र लागिपरेका छन् । महानिरीक्षक खनालको १९ महिने कार्यकालमा प्रहरी वर्दीवाला नागरिक हुन भने नागरिक विना वर्दीका प्रहरी हुन् भन्ने नारालाई व्यवहारमै लागू गराउन सफल भए ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम घोषणा गर्दा कुरा काट्नेहरुको दाँतमा यतिखेर ढुङ्गा लागेको छ । ७ सय ५३ स्थानीय तहसँग सहकार्य गर्दै यो बीचमा २३ हजार समिति गठन गर्न नेपाल प्रहरी सफल भएको छ । अपराध कर्म गर्ने व्यक्ति नागरिककै घरमा बस्ने भएकोले यो कार्यक्रमले अपराध घटाउन ठूलो सहयोग मिलेको छ । सार्वजनिक सुनुवाईमार्फत नागरिकका गुनासा सुन्ने र सुझाव लिने कार्यले गर्दा प्रहरी शासक नभएर जनताको सेवक हो भन्ने कुरालाई प्रमाणित गरिदिएको छ । महानिरीक्षक खनालको यो कार्यकालमा गरिएका कार्यले गर्दा पछिल्लो समय नेपाल प्रहरी प्रति जनताको विश्वास बढ्दै गएको छ ।
खनालको कार्यकालमा देशमा ठूलो सम्मेलन हुनुका साथै शक्तिशाली राष्ट्रका प्रमुख र अन्य विशिष्ट व्यक्तिहरुको भ्रमण भएको छ । यि भ्रमणमा खनालले बनाएको सुरक्षा रणनीति र चुस्तताले देशकै शिर उचो भएको कुरालाई कसैले नचाहेर पनि नकार्न सकिन्न । नेपालमा अपराध गरेर विदेशी भूमिमा गएर मोज गर्ने अभियुक्तहरुलाई समेत अन्तराष्ट्रिय स्तरमा भाइचाराको सम्बन्धलाई विस्तार गरेर कानूनको दायरामा ल्याएको कुरा पनि उल्लेख गर्ने लायकका छन् ।
स–साना कुरालाई समाजमा फैलाएर प्रहरीलाई कमजोर बनाउनु र अब साढे तीन महिना पछि स्वत अवकास हुने खनालको दोहोलो काढ्नु भन्दा प्रहरीलाई कसरी सवल बनाउन सकिन्छ भन्नेतिर सोच्न जरुरी छ । अत्यन्तै न्यून साधन र स्रोतको कमिका बाबजुद पनि हाम्रो हरेक दुःख सुखमा सकृय प्रहरीको टिकाटिप्पणी होइन आत्मबल बढाउन लागौं यसैले हाम्रो भलो हुनेछ । व्यक्तिभन्दा संगठन ठूलो कुरा हो भन्ने कुरालाई पनि प्रहरी कर्मचारीले आत्मसात गर्न जरुरी छ ।