प्राकृतिक विपत्तिको डरलाग्दो तथ्यांक: चार महिनामा ५२९ को मृत्यु, २ अर्बको क्षति

| 2018 Aug 14 | 06:36 am 2033

काठमाडौं, साउन २८: प्राकृतिक विपत्ति पछिल्लो समय डरलाग्दो गरी भइरहेको छ। वर्षातको समयमा आउने बाढी, पहिरो तथा डुबानमा परी ज्यान गुमाउनेको संख्या निकै नै धेरै छ। चार महिनामा प्राकृतिक विपद्का कारण मात्रै ५ सय २९ जनाले अकालमा ज्यान गुमाएका छन्। करिब दुई अर्ब रुपैयाँबराबरको धनमालको क्षति भएको छ।

चार महिनामा बाढी, पहिरो तथा डुबानमा परी ज्यान जानेको संख्या ३०० छ। १ अर्ब ९९ करोड १ लाख मूल्यबराबरको धनमालको क्षति भएको छ।

‘नेपालमा प्राकृतिक विपत्तिका घटना खासगरी १५ जेठदेखि १५ भदौसम्म तीन महिना बढी हुने गरेको खबर नयाँ पत्रिकामा छ। मनसुनको अवधि भएकाले बाढी र पहिरो बढी जान्छ । नदी तथा खोलाको बहाव पनि यही वेला बढ्छ। यो अवस्थामा प्राकृतिक विपत्ति निम्तिन्छ र दुःखद् घटना हुन पुग्छन्,’ प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले भने।

एक हजार सात सय १९ घटना, ८८ जना बेपत्ता

गृहको तथ्यांकअनुसार चार महिनाको अवधिमा प्रकृतिक विपत्तिका १ हजार ७ सय १९ घटना भए । घटनामा परी ८८ जना अझै बेपत्ता छन्। २ हजार २ सय ८७ सर्वसाधरण घाइते भए। ४ हजार १ एक सय ९४ घरपरिवार प्रभावित भए। १ हजार ९ सय ८४ घरमा क्षति पुगेको छ। प्राकृतिक विपद्मा मुलुकभर १ हजार ५ सय ४९ चौपाया मरेका छन् भने २ सय ३२ गोठ नष्ट भएका छन्।

७ वर्षमा साढे १२ हजारको मृत्यु

गृहको तथ्यांकअनुसार ७ वर्षको अवधिमा प्राकृतिक विपद्मा १२ हजार ७ सय ६२ ले ज्यान गुमाएका छन् । यो अवधिमा सबैभन्दा धेरै ०७२ मा भूकम्पका कारण क्षति भएको छ। भूकम्पमा मात्रै ८ हजार ९ सय ७० जनाको त ज्यान नै गयो।

सात वर्षमा प्राकृतिक विपद्मा बेपत्ता हुनेको संख्या एक हजार पुगेको छ । बेपत्ता हुने पनि सबैभन्दा धेरै भूकम्पकै वेला धेरै छन् । यस अवधिमा मुलुकभर १ सय ९७ सर्वसाधारण बेपत्ता हुन पुगेका थिए।

कुन वर्ष कतिको मृत्यु ?
साल मृत्यु
०६८ ५१९
०६९ ३९९
०७० ४१७
०७१ ५३९
०७२ ९,२७९
०७३ ४८३
०७४ ५९७
०७५ साउनसम्म ५२९
जम्मा १२,७६२

प्रत्येक वर्ष कम्तीमा तीन अर्बको क्षति

प्राकृतिक विपद्मा मात्रै प्रत्येक वर्ष कम्तीमा सवा ३ अर्बको धनमाल क्षति हुने गरेको छ। गृहको तथ्यांकअनुसार प्रत्येक वर्ष सबैभन्दा धेरै बाढी, पहिरो र आगलागीका कारण धनजनको क्षति हुने गर्छ। गत वर्ष मात्रै २ अर्ब ५९ करोड ९१ लाखबराबरको क्षति भएको थियो। यो विपद्मा ३३० ले ज्यान गुमाए।

धनजनको क्षति हुने अर्को कारण अत्यधिक वर्षा र हुरी पनि हो। जसकारण गत वर्ष मात्रै १७ जनाको ज्यान गयो भने ३ करोड ७२ लाख ७७ हजारको क्षति भयो। त्यस्तै, चिसोका कारण गत वर्ष १०५ जनाको ज्यान गयो भने ५३ लाख १५ हजार रुपैयाँ मूल्यबराबरको धनमालको क्षति भयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.