चन्द्र शमशेरको पालामा देशनिकाला भएपछि कोइरालाहरुको काठमाडौंमा आफ्नै निवास थिएन । २००७ मा बीपी जब काठमाडौं आए, उपयुक्त निवासको खोजी भयो । सुरुका केही दिन उनी नक्सालस्थित सहिद थिरबम मल्लको घरमा बसे । सहिद परिवारसँग भावनात्मक सम्बन्ध बनाउन र कार्यकर्ता पंक्तिलाई सकरात्मक सन्देश दिन उनी त्यहाँ बसेका थिए ।
भारत प्रवास रहँदा दुःखका दिनमा समेत उनी प्रायः प्रथम श्रेणीको टिकटमा मात्र रेलयात्रा गर्थे । सुविधासम्पन्न होटल चाहिन्थ्यो । मल्ल निवासमा चिसोतातो पानीको सुविधा थिएन । फागुन महिना, काठमाडौंको जाडो । जीउ नै कठ्याङ्ग्रीने चिसो पानीमा नुहाउनुपरेपछि एकै दिनमा उनका सातो गयो । यस प्रसंगमा गणेशमानले भनेका छन्, उहाँको सातो गयो । अरु असुविधा खेप्न उहाँ तयार हुनुहुन्थ्यो । तर बिहान नुहाउँदा उँहालाई तातो पानी नभई नहुने । आदत बदल्न सक्नु भएन ।
मल्ल निवासमा एक रात बसेर भोलिपल्टै बीपी सुवर्ण शमशेरको बालुवाटारस्थित दरबार ललिता निवास सरे । गृहमन्त्री भएपछि त्रिपुरेश्वरस्थित सरकारी गेष्ट हाउसलाई गृह मन्त्रालय र मन्त्रीको निवास बनाइयो । त्यसपछि मात्रै बीपीको परिवार विराटनगरबाट काठमाडौं आयो । गोर्खादलको आक्रमणपछि सुरक्षाका दृष्टिले त्रिपुरेश्वरस्थित निवास बस्न उपयुक्त रहेन । अनि राजा त्रिभुवनको आग्रहमा सपरिवार उनी तीन साता नारायणहिटी दरबारमै बसे ।
गृहमन्त्रीमाथि भएको आक्रमणको निन्दा गर्दै २००७ साल चैत ३१ गते राजा त्रिभुवन स्वयम्ले वक्तव्य जारी गरी भनेका थिए, हिजो गोर्खादल भनाउँदा केही गुण्डाहरुले जुलुस निकाली मनपरी नारा लगाउँदै टुँडिखेलमा कवाज खेलिरहेका सिपाहीलाई समेत बहकाउन खोजेछन् र त्यहाँबाट मैले बनाएको अन्तरिम मन्त्रीमण्डलका गृहमन्त्रीको व्यवस्थापनमा हमला गर्न गएछन् । यो सुनेर मलाई दुःखका साथै सरम पनि लाग्यो ।
२००८ साल बैशाख ३ गतेको गोरखापत्रमा प्रकाशित समाचार अनुसार राजाको वक्तव्यमा भनिएको थियो, मलाई ती देशभक्त वीर सिपाहीहरुमाथि साह्रै नै खुसी लाग्यो, जसले ती गोर्खादल भनाउँदाको बहकाउनमा नपरी आफ्नो सरकारप्रति बफादार भई अनुशासनमा बसी नै रहे ।
बीपी सुरक्षाका कारण नारायणहिटी दरबारभित्र त सरे । तर दरबारको चालचलन र परम्परासँग घुलमिल हुन अप्ठ्यारो लागेपछि आमा दिव्याचाहिँ केही दिनपछि नै सुवर्ण शमशेरकहाँ बस्न थालिन् । बीपीले भनेका छन्, नारायणहिटीमा एकलङ खाली गरिएको थियो ।
त्यस्तो सुखसुविधा मैले बडो कम देखेको छु । नुहाउने पानीको इन्तजाम, हेरविचार गर्ने तीनचार जना केटी । खाने कुराको व्यवस्था । त्यसपछि उनी राजदरबार पश्चिम केशर शमशेरको दरबार (केशरमहल) भित्रको एउटा भवन रङ्गमहलमा सरे । जगत नेपालद्वारा लिखित बीपीको विद्रोह