टोकियाे, असार २४ः गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ । जापानको पश्चिमी शहर नारामा आयोजित कार्यक्रमलाई सम्बोधन गरिरहेका बेला शुक्रबार बिहान उहाँमाथि गोली प्रहार भएको थियो ।
भाषण गर्दागर्दै उनीमाथि गोली प्रहार भएको थियो । गोली लागेपछि उनी सडकमै ढलेका थिए । उनको शरीरबाट रगत बगेको थियो उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो।
स्थानीय समयानुसार बिहान साढे ११ बजे उनीमाथि गोली प्रहार भएको थियो। गोली प्रहारमा संलग्न एक जनालाई पक्राउ गरिएको छ। आगामी आइतबार जापानको माथिल्लो सदनका लागि चुनाव हुँदैछ। सो चुनावी अभियानमा उनी भाषण गरिरहेका थिए ।
प्रहरीले गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ । आबे सन् २०१२ देखि २०२० सम्म जापानको प्रधानमन्त्रीमा भएका थिए ।