काठमाडौं छिरेपछि युवतीहरू किन र कसरी बन्छन् यौनकर्मी ?

| 2018 Jul 19 | 05:28 pm 4540

राजधानीमा फस्टाउँदो यौन व्यवसाय

– नवीन राई

गाउँघरमा जन्मिएका प्रायः सबै युवायुवतीको सपना हुन्छ शहर जाने । अध्ययनको निम्ति होस् वा जागिर/रोजगारीका निम्ति, उनीहरूको सपना शहर–बजारकै हुन्छ, त्यसमा पनि देशकै राजधानी काठमाडौंलाई उनीहरूले मूख्य गन्तव्य बनाएका हुन्छन् ।

शहर जाने, राम्रो पढ्ने र सफल व्यक्ति बन्ने लक्ष्य राख्नु नराम्रो कुरा पनि होइन । यस्तो सपना नदेख्ने कम नै होलान् आजकल गाउँका युवायुवती । … ‘शहरमा त काम पाइन्छ, सुरुमा सानोतिनो नै भए पनि काम गर्दै आफ्नो पढ्ने खर्च आफैं जुटाउन सकिन्छ । शहर छिरेपछि धेरै कुरा बुझिन्छ । छोराछोरीलाई शहर पठायो भने चलाख बन्छ ।’… प्रायः गाउँका वासिन्दा सबैले यस्तै सोच बनाएका हुन्छन् ।

गाउँका विद्यालयबाट राम्रो रिजल्ट ल्याउने प्रायः सबैलाई अभिभावकले दुःखजिलो सहेर भए पनि उच्चशिक्षा अध्ययनका लागि शहर पठाउँछन् । आर्थिक स्थिति मजबुत भएकाहरूले कक्षा १० पास गरेपछि प्रायः शहर पठाउँछन् त आर्थिक स्थिति कमजोर हुनेहरूले पनि गाउँमा प्लस–टु सकेपछि जसोतसो पठाउँछन् नै । प्लस–टु पास गरेपछि शहरमा काम पनि पाइन्छ, अनि आफैं काम गर्दै अध्ययन अघि बढाउन सकिन्छ भन्ने सोच सबैको हुन्छ । यो स्वाभाविक नै हो ।

देशको पूर्वी पहाडी एक जिल्लाबाट रीमा (परिवर्तित नाम) पनि उच्चशिक्षा अध्ययन गरी ठुलो मान्छे बन्ने सपना बोकेर ०६९ सालमा काठमाडौं छिरिन् । काठमाडौंमा केही काम गर्दै राम्रोसँग पढ्छु अनि ठुलो मान्छे बन्छु भन्ने उनको तीव्र धोको थियो । काठमाडौंमा गएर केही काम गर्दै पढ्छु भनी जिद्दी गरेपछि रिमाका आमाबाबुले पनि रोक्न सकेनन् उनलाई । छोरीले आफैं काम खोज्छु, पढ्छु, घरमा दुःख दिन्न भनेपछि अभिभावकले रोक्ने कुरा पनि भएन । यसरी परिवारको सल्लाहबमोजिम नै काठमाडौं आएकी थिइन् रिमा ।

तर भने जस्तो कहाँ सजिलो छ र काठमाडौं ? आफूले चिनेजानेकाहरूको मुखबाट राजधानीबारे सुनेको आधारमा गाँउबाट जे सोचेर आएकी थिइन्, त्यसको एक छेउ पनि पाइनन् रिमाले । सुरुमा काठमाडौं मित्रपार्कमा फुपुदिदीको परिवारसँग बसेकी थिइन उनी । आफन्त दिदीसँग बस्दा एकदमै गाह्रो हुन थाल्यो । दुईवटा कोठामा फुपू–फुपाजु अनि भाइबहिनीसमेत भएकाले उनलाई त्यहाँ दिनचर्या गुजार्न अत्यन्त कठिन हुन थाल्यो । फुपुले पनि बोझ ठान्न थालेको अनुभूति उनले गरिन् । हुन पनि मुखै फोरेर भन्न मात्र नसकेकी थिइन् फुपुले, यो राम्रोसँग बुझेकी रिमाले अन्ततः छुट्टै एक्लैै अन्यत्रै कोठा खोजेर बस्ने निर्णय गरिन् ।

कामको खोजी

त्यसपछि कपन साततलेमा एउटा कोठा भाडामा लिएर सरिन् रिमा । त्यसका लागि घरबाट केही पैसा पठाइदिएका थिए । सुरुमा नयाँ कोठामा स्थापित हुनका लागि सबै जोरजाम गर्नुपर्ने हुँदा उनको सबै पैसा सकियो । त्यसपछि उनलाई गाह्रो हुँदै गयो । उनको न कुनै काम छ न त घरबाटै पैसा पठाइदिने स्थिति नै थियो । अब उनी कामको खोजीमा लागिन् ।

पत्रिकामा कामको आवश्यकतासम्बन्धी विज्ञापन हेर्दै विभिन्न ठाउँमा पुगिन् तर भनेजस्तो कहीँ पनि भेटिनन् । त्यही क्रममा मित्रपार्कको ‘प्रगतिशील महिला विकास’ कार्यालयमा पुगिन् । त्यहाँ काम त पाइन तर कामको कुनै अनुभव नभएकोले काम शुरु गर्नुभन्दा अगाडि एक हप्ताको तालिम लिनुपर्छ भन्यो सम्बन्धित कार्यालयले । जसरी पनि काम गर्नैपर्ने हुँदा दुई हजार रुपैयाँ सरसापट गरी ‘डल’ (खेलौना) बनाउने तालिम लिइन् उनले ।

एक हप्ताको तालिम सकिएपछि उनले डल बनाउन थालिन् तर उनले बनाएका खेलौना स्तरीय नभएको भन्दै कार्यालयले रिजेक्ज गरिदियो । अलिक पछि त राम्रो हुन्छ भन्दै उनले लगातार दुई महिनासम्म काम गरिन् तर पनि भएन । एक रुपैयाँ पनि कमाइ भएन त्यहाँ उनको उल्टै दुई हजार ऋणको बोझ थपियो । दुई महिना समयसमेत ब्यर्थ गएकोमा चुकमाइ नभएपछि उनले डल बनाउने काम छाडिन् । उनको दुई महिनाको परिश्रम र दुई हजार रुपैयाँ खेर गयो ।

उनी फेरि काममा भौँतारिन थालिन् । कामको खोजीमा काठमाडौंको धेरै ठाउँ पुगिन् । धेरै कार्यालय चहारिन् काम त पाइन् तर त्यस्तै डल बनाउने, सिन्केधुप बनाउने, माला उन्ने, तर त्यसको पनि सुरुमा त तालिम नै लिनुपर्ने रहेछ पैसा तिरेर । उनको अनुभवले भन्यो कि यो काम गर्दा कमाई हुँदैन, त्यसैले त्यस्ता कामको चक्करमा नअल्झिने सोच उनले बनाइन् । बरु एक चिनजानका व्यक्तिको सहयोगमा सेक्युटरी अफिसमा काम गर्न पुगिन् उनी । उनलाई ‘रिसेप्सन गर्ल’ भनेर राखिएको थियो तर उनले चिया–खाजा बनाउने, सरसफाइ गर्ने र सबैले खाएको भाँडाकुँडा पनि धुनु पर्थ्यो कार्यालयमा ।

कामसँगै यौन शोषण

जसोतसो काम त पाइन् तर तलब एकदमै कम थियो । धेरै काम थोरै तलब, महिनाको जम्मा चार हजार मात्रै । चार हजारले के गर्ने नगर्ने ? कोठाभाडामा मात्रै उनले २५ सय तिर्नुपर्थ्यो । अनि केले कलेजको शुल्क तिर्ने ? खाने केले र अरु खर्च कसरी चलाउने ?

कम छाडौँ भने पनि फेरि कहाँ खोज्ने ? त्यसैले थोरै तलबमा नै उनले चित्त बुझाएकी थिइन् । थोरै कमाइ पनि अफिसका ‘बोस’हरूले उनलाई सजिलै दिँदैन थिए । गाउँकी सोझी केटी, १८÷ १९ वर्षको जवानी । अफिसका मालिक भनाउँदाहरूले उनको जवानीको फाइदा लिन थाले । सुरु–सुरुमा उनले प्रतिकार गरिन् तर पनि उनको केही लागेन । काम खोज्दाको हैरानीले गर्दा उनले त्यो काम छाडिहाल्न पनि सकिनन् । यौन शोषण सहेरै भए पनि कामलाई निरन्तरता दिने सोच बनाइन् ।

अरू कसैलाई सुनाउँ त मनमिल्ने कोही थिएन, त्यसमाथि अफिसका बोसले कसैलाई नभन्नु भनेर धम्की समेत दिन्थे । उनी यौन शोषण सहेर बस्न बाध्य भइन् । पछि

–पछि त अफिसमा मात्रै होइन कोठामै पनि आउन थाले अफिसका बोस । घरमा आउँदा उनलाई हजार, पाँच सय पनि दिन्थे । त्यही पैसाले उनले आफ्नो कोठा भाडा, कलेजको शुल्क तिर्न थालिन् । उनलाई जसोतसो काठमाडौंमा बाँच्न पुग्थ्यो । यसका लागि उनले बोसले भनेको हरदम मान्नुपर्ने बाध्यता भने आइलाग्यो । सम्झौता गरिन् रिमाले ।

यसरी दिनहुँ अफिस र कोठामा समेत यौन शोषण हुन थालेपछि भने सहन सकिनन् र काम छोडिन् । तर, जसरी भए पनि काठमाडौंमा टिकेर पढाई त पूरा गर्नु नै थियो उनलाई । कसरी गुजारा चलाउने भन्ने चिन्ता दिनहुँ पर्न थाल्यो । अन्ततः एउटा कठोर निर्णय गर्न पुगिन् रिमा– यौन धन्दा गरेरै भएपनि कमाउने । यसरी आफ्नो शरीर बेच्ने निर्णयमा पुगिन् उनी ।

यौन व्यवसायको सुरुवात

उनी कोठा सरेर गोङ्गबु गइन् र आफ्नै कोठामा यौन धन्दा सञ्चालन गर्न थलिन् । केही रोजगारी नपाएपछि यौन धन्दामा लागेकी रिमाले राम्रै आम्दानी गर्न थालिन् । उनले बेला–बेलामा गाउँका आमाबुबालाई समेत पैसा पठाउन थालिन् । बाबुआमा पनि खुसी भए छोरीको कमाइले घर व्यवहार चलाउन पाउँदा । तर छोरीले कसरी कमाइरहेकी छिन् भन्ने घरपरिवारलाई चासो भएन ।

यौन धन्दामा लाग्दा भएको कमाइका कारण विस्तारै उनले आफ्नो पढाइ पनि छाडिन् । यौन पेसालाई नै निरन्तरता दिँदै गइन् । यौन व्यवसायबाटै मनग्गे कमाई गर्न थालिन् । उनलाई पैसाको खाँचो हुन छाड्यो । यस्तैगरी यौन व्यवसायमा उनको ४–५ वर्ष बित्यो । रिमा दशैँको बेला घरमा जान्थिन्, घर जाँदा आमाबुबा र भइबहिनीहरूलाई कपडा तथा घरका लागि आवश्यक पर्ने सबै सामान लिएर जान्थिन् । गाउँका सबैले रिमाको प्रशंसा गर्न थाले । सबैले फलानोकी छोरीले राम्रो प्रगति गरिछे भन्थे । तर के थाहा उनीहरूलाई रिमाले काठमाडौँमा भोगेको बाध्यता के थियो र कसरी भएको थियो ‘प्रगति’ ?

यौन रोगको चपेटा

रिमालाई यौन रोगबारे थाहा त थियो तर पनि उनले सावाधानी अपनाउन सकिनन् । ०७४ साल माघ १४ गते चावहितस्थित हेल्पिङ हेण्ड अस्पतालमा चेक गराउँदा एचआइभी–पोजेटिभ भएको पुष्टि भयो । एचआइभी लागेपछि धेरै पछुतोमा परिन् । घरबाट काठमाडौं हिँड्दा बोकेका ठूलो सपना चकनाचुर भयो । एचआइभी लागेको थाहा हुँदा पनि अझै यौन धन्दा भने उनले जारी नै राखिन् । अब त केहीको डर नभएको उनको धारणा बन्यो ।

आफू त एचआइभीको सिकार भइन्–भइन् अरूलाई पनि अहिले एचआइभीको सिकार बनाउँदै छिन् रिमा । उनले भनिन्, ‘मलाई पनि अरूले नै सारेको हो । अरूले मलाई सार्दा हुन्छ भने मैले सार्दाचाहिँ के हुन्छ ?’ अरूलाई किन जानाजान मृत्युको मुखमा पुर्याउनुहुन्छ भनेर प्रश्न गर्दा उनले भनिन्, ‘मलाई पनि उनीहरूले नै यस्तो हालतमा पुर्याएको हो । अरूको भलो गरेर यहाँ बाँच्न गाह्रो छ । अब त झन् काम पनि केही पाइँदैन । अब कति दिन बाँचिन्छ यहीँ काम गर्ने हो । यो काममा नफस्नुपर्ने थियो फसिहालियो । अब यही काम गरेरै मर्ने हो ।’

रिमाको अकालमा नै ज्यान जाँदैछ । तर उनको रहरले होइन बाध्यताले गर्दा उनले आफ्नो जीवनलाई मृत्युको मुखमा डोर्याएकी हुन् । राम्रो रोजगारी नपाएकै कारण उनी आज यो अवस्थामा पुगेकी हुन् । रिमा एक प्रतिनिधि पात्र मात्रै हुन्, काठमाडौंमा बाध्यताले गर्दा रिमाजस्ती यौनकर्मी बनेका हजारौँ युवती छन् । उनीहरूको यौन व्यवसायचाहिँ रहर नभई बाध्यताकै उपज हो, अपवाद केहीलाई छोडेर ।

यदि सरकारले युवायुवतीको लागि राम्रो रोजगारीको सिर्जना गरिदिने हो भने यस्तो काम गर्न नपर्ने रिमा बताउँछिन् । रहरले भन्दा बाध्ताले धेरै युवतीहरू यौन व्यवसायमा लाग्ने गरेको उनको ठहर छ । यदि सरकारले रोजगारी सिर्जना गरिदिए विदेशिने युवायुवतीको सङ्ख्या पनि घट्ने उनको तर्क छ ।

नेपालमा पछिलो समय महिला–पुरुष यौन कर्मी धेरै बढेको छ । यौन व्यवसायमा संलग्नमध्ये धेरैजसो पढेलेखेका छैनन् । उनीहरूमध्ये अधिकांश जीवन निर्वाह गर्न पुग्ने रोजगारी नपाएर यो क्षेत्रमा आएका हुन् । रहरले यो पेसामा आएका भए पनि त्यो सङ्ख्या निकै कम र अदृश्य छ । पछिल्ला दिनमा कलेज पढ्दापढ्दै यो व्यवसाय अँगाल्ने युवतीको सङ्ख्या पनि बढ्दै गइरहेको छ ।

शहरमा हाइफाई जीवनशैली ज्युन चाहने तर घरबाट बाबुआमाले पढाइका लागि भनेर पठाएको सीमित खर्चले पुग्ने अवस्था नभएपछि कलेज अध्ययनरत युवतीहरू यो व्यवसायमा आउने गरेका छन् । काठमाडौंमा राजधानीमा रोगजारी पाउन मुस्किल छ । काम पाए पनि तलवले महिनाको खर्च टार्न धौ–धौ हुने भएकाले सजिलै धेरै पैसा कमाउने पेसाको रूपमा उनीहरूले यो व्यवसाय सुरु गर्ने गरेको पाइन्छ ।

व्यवस्थित गर्न आवश्यक

यौनकर्मी महिलाको सङ्ख्या ह्वात्तै बढ्नु सामाजिक विकृति मात्र नभई स्वास्थ्यको दृष्टिले पनि जोखिमपूर्ण मानिन्छ । एचआईभी र एड्सको जोखिममा रहेका समूहमध्ये महिला यौनकर्मी पहिलो नम्बरमा आउँछन् । जानेर होस वा नजानेर होस्, कहिलेकाहीँ बाध्यताबस समेत उनीहरू असुरक्षित यौन सम्पर्कको अवस्थामा पुग्ने गरेका छन् । धेरैलाई असुरक्षित यौन सम्पर्कका कारण यौनरोगका साथै एचआईभी सङ्क्रमण हुने थाहा भए पनि उनीहरूका ग्राहकले कण्डम लगाउन नमान्ने प्रवृत्तिले उनीहरू उच्च जोखिममा रहेका हुन्छन् ।

त्यसैले सरकारले यो समूहसम्म एचआईभी जनचेतना जस्ता कार्यक्रम लैजानुपर्छ । यो कार्यक्रममा धेरै लगानी भित्रिए पनि लक्षित समुहसम्म पुग्न सकेको छैन । कति पीडितलाई त यसको बारेमा थाहा समेत छैन । थाहा पाएकाहरू पनि खुलस्त हुन सक्दैनन् । समाजले थाहा पायो भने एकदमै नराम्रो हुने सोचले उनीहरू रोग लुकाएर बस्न बाध्य छन् ।

स्वास्थ्य सेवासम्म पहूँच नभएकाले अधिकांश यौनकर्मी आफ्ना स्वास्थ्य समस्या लुकाएर राख्ने गरेका छन् । किनकि यौनकर्मी भएको थाहा पाएपछि भर्ना गरिएको बिरामीको समेत उपचार हुने अवस्था छैन । अधिकांश यौन व्यवसायी आफ्नो पेसा परिवर्तन गर्न चाहन्छन् तर उनीहरूका सामुन्ने उचित विकल्प छैन ।

केहीले भने सानोतिनो काम सुरु गरे पनि त्यो व्यवसायबाट त हातमुख जोड्न पनि सकिँदैन । त्यसपछि उनीहरू त्यही पेसामा फर्कन बाध्य छन् । सरकारले साँच्चिकै यौनकर्मी महिलालाई यो पेसाको विकल्प दिने हो भने उनीहरूको जीविकोपार्जन हुने किसिमको रोजगारीको प्रबन्ध गर्नुपर्छ । नत्र यो व्यवसाय घटेर भन्दा पनि बढेर जाने निश्चित छ । सानोतिनो व्यवसाय गरेको नाममा झनै यौन व्यवसाय फस्टाएर जानेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.