आईजीपीको नाम बेच्दै असईको आर्थिक आतंक

| 2022 Sep 04 | 05:23 pm 2613

बारा, भदौ १९ः प्रहरी चौकी पथलैया बाराका असई मनोज यादवले सानो व्यापारीलाई सताउने ठूला तस्करलाई छाडेर त्यहाँ एक किसिमको आर्थिक आतंक मच्चाएका छन् । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको नाम बेचेर यादवले आतंक मच्चाएका हुन् ।

सेवामा प्रवेश गरेदेखि सादा पोशाकमा नामी घुमुवा प्रहरी भएर हिडेका यादव प्रहरी भित्र बदनामी जुनीयर अधिकृत हुन् । केही समय अगाडी प्रहरी अस्पतालमा काज बसेका बेला बालाजुबाट एक व्यक्तिलाई अपहरण गरेर पैसा लिंदै गर्दा अख्तियारले पक्राउ गरी पाँच महिना डिल्लीबजार कारागारमा पुर्पक्षका लागि राखेका थिए ।

विशेष अदालतबाट सफाई पाएपछि तुरुन्तै सर्लाहीको घुमुवा बनेर नगद उठाउनमा सकृय भएका थिए । उनको सबैगतिविधि थाहा पाएपछि तत्कालिन महानिरीक्षक शैलेस थापा क्षेत्रीले एक नम्बर गण नक्साल तानेका थिए ।

हवल्दारबाट असईमा बढुवा भएपछि च्यानल मिलाएर सर्लाही सरुवा भएका मनोज यादव तत्कालिन एसपी सन्तोष सिंह राठौरको घुमुवा बसेका थिए । तत्कालिन दुई नम्बर प्रदेशका डिआइजी वर्तमान महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहको आफू खास मान्छे भएको भन्दै तस्करसँग बार्गेनिङ गर्ने गरेका थिए ।

उनको गतिविधिलाई नियालीरहेका तत्कालिन महानिरीक्षक शैलेस थापाले त्यहाँबाट हटाएर जनकपुर गणमा लखेटेका थिए । बाघ कराउनु बाख्रो हराउनु भने जस्तै धिरजप्रताप सिंहले प्रहरी नेतृत्व सम्हाले देखि सई दरबन्दी भएको चौकीमा सईलाई हटाएर असई यादवलाई राखिएको छ ।

केही दिन अघि झापाको काँकडभिट्टाबाट बसमा आएको ६० बोरा पाउडर दूध समाएर राजस्वमा ४० बोरा बुझाएर २० बोरा बिक्रि गरेको विषयलाई त्यहाँका व्यापारीले आवाज उठाइरहेका छन् । व्यापारीले बिरोध गर्दा आफू आइजीपी सिंह, दुई नम्बर प्रदेशका डिआईजी आलम र बाराका एसपी बोगटीको मान्छे भएले उनीहरुको पैसा उठाउनको लागि सईलाई हटाएर मलाई यहाँ ल्याएको भन्दै असई यादवले जवाफ फर्काउँदै व्यापारीलाई थर्काउने गरेको व्यापारीहरु बताउँछन् ।

उनले यतिखेर झण्डै ५ सय साना व्यापारीसँग मासिक २५ देखि ३० हजार उठाइरहेको एक साना व्यापारीले रिपोर्ट नेपालले बताएका छन् ।

खुद्रे व्यापारीलाई, राजस्व बुझाउने व्यापारीलाई तर्साउने र ठूला तस्करलाई लाइन मिलाइदिने यादवलाई पैसा उठाउनकै लागि राखिएको त होइन ? प्रश्नचिन्ह खडा भएको छ । उनको गतिविधि बारे प्रहरी महानिरीक्षक सिंह कति जानिफकार छन् त्यो भने बुझ्न सकिएको छैन । निज असईलाई के कारबाही हुन्छ त्यो भने हेर्न बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.