अलबिदा क्याप्टेन दिपेन्द्र भाई

| 2023 Sep 06 | 01:57 pm 4713

मंगलवार विहान नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति आदणिय दाजु त्रैलोक्य प्रताप सेनले मेरो अफिस तलबाट फोन गरेर ओर्लिन भन्नुभयो। हामी दाजु भाई महाराजगन्जमा एउटा कार्यक्रममा जाने सल्लाह करीब एक घण्टा अगाडी भएको थियो। महाराजगंज जाने शुरमा म झोला बोकेर तल के ओर्लिएको थिए सेन दाइको मुहारमा पीडाको संकेत पाए । दाइले भाई महाराजगंजको कार्यक्रम रद्ध गर्नुपर्ने भयो मेरो सालो तिम्रो प्रिय भाई दिपेन्द्रले आफ्नो प्राण पखेरु भरखरै छाडे भन्दा मैले के भन्नुभयो दाजु यस्तो भने । दाइले भन्नुभयो मेरो सबै भन्दा प्यारो र सबैले भन्दा माँया गर्ने पाइलट दिपेन्द्रको स्वर्गारोहण भयो भन्दा मेरो एक्कासी ओठमुख सुक्यो । दिपेन्द्र उमेरले सानो भएर पनि हामी करीब दुई दशक देखि साथी जस्तै थियो । उनी बागलुङ‌का भए पनि उनको मामाघर बडा‌गाँउ थियो । तर सबै नातेदार तमघास बस्ने भएका कारण उनी सानै उमेरमा तमघास आउने जाने गर्थे। उनका आफन्त ठुली आमा, सानी आमा तमघास बस्ने हुँदा त्यो परिवारसँग हाम्रो घनिष्ट पारिवारीक सम्बन्ध थियो ।

उनले २०५१ सालमा एसएलसी पास गरेर पाइलट पढ्‌न रसिया जाने चर्चा चल्दा उनका ठूली आमाको छोरा हरी जिसी दाई र म ठयाक्कै बागलुङ पुगेका थियौ। दिपेन्द्रकी आमा र हरी दाईकी आमा दुई वहिनीले दुई भाइसँग विवाह गरेका थिए । दिपेन्द्रले पाइलट पढेर नेपाल फर्किए पछि केहि समय उनी वेरोजगार थिए । पाइलट पढेर मात्र हुँदो रहेन्छ यसका विधि विधान थुप्रै हुँदा रहेछन । डाक्टर नर्सको परिषदले परीक्षा लिए जस्तै पाइलटको पनि लिइदो रहेछ । उनी दुई कि तिन पटकमा हेलिकोप्टर उडाउन पाउने परीक्षामा असफल भए । हाम्रो भेटघाट लगभग दिनहुँ हुन्थ्यो। हेलिकोप्टर उडाउने परीक्षाको सफलता पछि पनि झोला बोकेर कहिले सँगसँ‌गै त कहिले उनी एक्लै हेली अफिसमा जान्थे । कस्मिक एयरमा थुप्रै पटक सँगै जान्थ्यौ तर म बाहिर बस्थे ।

मलाई लाग्छ उनले शायद २०५७ साल तिर सिम्रिक एयरबाट आफ्नो उडान यात्रा शुरु गरेका हुन । उनको उडान यात्रा हुने निधो भएपछी एउटा पार्टी भयो । त्यो पार्टी सुन्धारा धरहरा अगाडी जस्तो लाग्छ । राती ८ बजे नसाको तालमा दाई भोली मनकामना दर्शन गरौ भन्ने प्रस्ताव दिपेन्द्रले राखे । मैले पनि बिहानै जाउ दिउसो दर्शन गरेर साँझ फर्कउला भने । म त्यस बेला स्पेस टाइम दैनीकमा काम गर्थे। दिपेन्द्रले होइन दाई अहिले रात्री बस‌मा गएर मुग्लिङ बसाै बरु भोलि सबेरै काठमाडाैं आउला भने । मैले पनि तालमा ल जाउँ भनेपछि राती ९ बजे कलंकीबाट बस चढेर मुग्लीङ १२ बजेतिर पुग्यौ । त्यहाँ पुगेपछि फेरी शुरु भयो र दुई बजे होटलवालाले नदिने भएपछि सुत्न गयौं । विहान ९ बजे सम्म दिपेन्द्र उठेनन बल्लतल्ल उठेपछि हामी कहाँ छौ भन्न थाले। मैले रातीको सबै कुरा भनेपछि नुहाएर मनकामनाको दर्शन गरेर फेरी मुग्लीङ आयाैं । स्पेसटाइ‌ममा केहि जानकारी नगराई आएकोले लेण्डलाइन फोनबाट विरामी भएको निहूँ बनाएर बिदा मागे। मुग्लिङ आएपछि खाना खानु अघि फेरी वियर पिउन शुरु भयो । पिउदै थियो एउटा गाइने सारंगी बजाउदै आए। म बाथरुमबाट फर्कदा गाइनेलाई दुई हजार दिएर बुक गरेछन। अनि त्यो दिन पनि त्यही बस्ने भन्दै गाइनेलाई गाउन लगाए। गाइनेलाई आफुले फर्माइस गरेर गीत गाउन लगाए। उनको फर्माइस गीत अझै पनि मेरो मानस पटलमा ताजै छ ।

उनले गाउन लगाएको गीत यस्तो थियो :

उकालीमा जाँदा जाँदै देउरालीलाई पाती 

सम्झेमाया छाती पोल्छ विर्सिएकै जाती

यो गीत आधाघण्टा निरन्तर गाउन लगाए । यो बीचमा उनले काठमाडाैं फोन गरेर एक जना कंडेल थरका साथीलाई बोलाएका रहेछन् । उनी आएपछि त्यही बासबस्ने जिद्धि गर्न लागेपछि म भागेर बस चढेर काठमाडाैं आएको थिए । त्यसपछिका दिनमा समय समयमा भेटघाट हुन्थ्यो । धेरै पटक दाजुभाईको खानपान सँगसँगै हुन्थ्यो तर बीचको एक दुई वर्ष भने हाम्रो फोनमा मात्र सम्पर्क हुने गरेको थियो ।

यो गएको बैशाख महिना जस्तै लाग्छ दिपेन्द्रले एक्कासी फोन गरेर दाई धुलिखेल जाने होइन र ? किन जाने भनेर मैले सोध्दा हरी दाईको छोरीको विहे छ भन्दै थिए । मैले अरु केही भनीन म बिरामी छु भनेर उम्किए । त्यो दिनबाट हाम्रो कुनै सम्पर्क भएको थिएन । कति यात्रा त हाम्रा लेखिसाध्य छैनन् । विरामी भएर नर्भिक अस्पतालको सैय्यामा छटपटाएको दिपेन्द्रलाई भेट्ने अवसर मिलेन कारण मैले थाहै पाइन । जीवनका धेरै यात्रामा सँगसँगै यात्रा गरेका हामी दाजुभाई तिम्रो स्वास रहँदा अस्पतालमा भेट गर्न नपाए पनि अन्तिम यात्रा भने सँगसँगै गर्याै । यो यात्रा तिमी कहिल्यै नफर्किने गरि गर्याै भने मैले आँखामा आँशु लिएर फर्किनु पर्यो ।

दिपेन्द्र जसरी तिमी जननी आमा सावित्रीको शिवरात्रीको एक दिन अगाडी आर्यघाटको ३ नं. सवदाह स्थानमा अन्तिम विदाई भएको थियो तिम्रो पनि श्रीकृष्ण जन्माष्टमिको एक दिन अगाडी संयोगवस ३ नं. सवदाह स्थानमै अन्तिम विदाई भएको छ । आमा छाेरा स्वर्गमा पनि एकै ठाउँ बस्ने छाै भन्ने कामनाका साथ अल विदा दिपेन्द्र तिम्रो बैकुण्ठमा बास होस् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.