कैलाली, चैत ५ः कैलालीको भजनी नगरपालिका–५ का बहादुर डगौराको ११ जनाको संयुक्त परिवार छ। कृषि उत्पादनकै भरमा घर चलाउँदै आएका उनको झन्डै तीन बिघाभन्दा बढी जग्गा पटक–पटक गरी कान्द्रा नदीले कटान गर्यो। बर्सेनि हुने डुबानले बाँकी रहेको जमिनको उत्पादनसमेत पाउन मुस्किल छ।
बाढीका कारण फल्नै आँटेको फाँटमा बालुवा पाटिन्छ त कहिले भित्र्याउने समयमा बाढीले बगाएर लैजान्छ। यही समस्याबाट गुज्रिरहेका डगौराका लागि चैते धान आम्दानीको मुख्य स्रोत बनेको छ। विगत १० वर्षदेखि हरेक फागुनमा उनले चैते धान लगाउने गरेका छन्। ‘आफ्नो डेढ विघासहित अरूको ठेक्का र अधियाँ गरी १० बिघामा चैते धान लगाई रहेको छु’, डगौराले भने। ‘वर्षात्का बेला लगाउने धान खेती हात पर्ने सम्भावना न्यून हुन्छ।’ उनले हिउँदे खेतीका रूपमा लगाएको गहुँ बाली पनि जंगली जनावरले खाइदिने गरेको बताए।
डगौराले परिवारको मुख्य आम्दानी नै चैते धान भएको छ। चैते धानबाट राम्रो आम्दानी हुने भए पनि बर्सेनि बढ्दै गएको डिजेल र मलखादको मूल्यले खेती लगाउन मुस्किल भइरहेको डगौराले गुनासो गरे। ‘पानीका लागि डिजल चाहियो, मलखाद पनि बेमौसम भएको हुनाले पाइँदैन’, डगौराले भने। ‘यदि पानी र मलखादमा सहयोग हुने हो भने बाढी प्रभावित क्षेत्रका किसानका लागि चैते धान बरदान नै हुन्छ।’
भजनी नगरपालिका–८ की पार्वती चौधरीको परिवारसमेत विगत ६ वर्षदेखि चैते धान लगाउँदै आएको छ। भजनी नगरपालिकाको अधिकांश भाग कान्द्रा, मोहना र पथरैया नदीले घेरिएको छ। बाढीका कारण त्यहाँका किसानले धानबाली भिœयाउन पाउने वा नपाउने कुनै टुंगो हुँदैन। उनको खेतीयोग्य जमिन वर्षामा तलाउ बन्छ। ‘वर्षामा हामीले रोप्न छोडेको त ६ वर्ष भइसक्यो, लगाएर पनि काम छैन, मल, बीउ, मेहनत सबै बाढीले बगाउँछ’, चौधरीले भनिन्। ‘४ बिघामा यो फागुनमा चैते धान लगाउँछौं, असारमा भित्र्याउँछौं, वर्षामा खाली छोड्छौं, असोजमा तोरी लगाउँछौं, यसरी नै हाम्रो परिवार धानेका छौं।’ डगौरा र चौधरी मात्रै होइनन् बाढी प्रभावित भजनी नगरपालिका–३ र ८ का कृषकहरूका लागि मुख्य आम्दानीको श्रोत नै चैते धान बनेको छ। नगरपालिकाको वडा नं. १, २, ५, ६ समेत गरी भजनीमा मात्रै ६ शय बढी हेक्टरमा चैते धान खेती हुँदै आएको छ।
कृषि ज्ञान केन्द्र कैलालीका अनुसार जिल्लाभरि यस वर्ष १ हजार १ सय हेक्टरमा चैते धान खेती लगाइएको छ। जयमध्ये ६ सय हेक्टर भजनी नगरपालिकामा मात्रै छ। भजनी नगरपालिकाका कृषि तथा पशु सेवा शाखा प्रमुख भेटनरी अधिकृत हरिलाल जैशीले बाढी प्रभावित क्षेत्र हुनाले चैते धान किसानका लागि आम्दानीको राम्रो स्रोत बनिरहेको बताए। ‘हाम्रो नगरपालिकामा ११ हजार हेक्टर कृषियोग्य जमिन छ, वर्षायाममा झन्डै ३ हजार हेक्टर जमिन बाढीको समस्याका कारण बाँझो रहन्छ’ अधिकृत जैशीले भने। ‘यही जमिनमध्ये अहिले ६ सय बढी हेक्टरमा चैते धान खेती भइरहेको छ।’
बाढी प्रभावित क्षेत्रका किसानका लागि मुख्य आम्दानीको स्रोत बनिरहेको चैते धान खेती विस्तारका लागि नगरपालिकाले योजना बनाइरहेको जैशीले बताए। ‘कृषकका लागि डिजेल र मलखाद तथा बीउमा अनुदान दिने हो भने चैते धानखेती विस्तार गर्न सकिन्छ’, जैशीले भने। ‘नगरपालिकाले समेत चैते धान खेती विस्तारका लागि योजना बनाई रहेको छ।’
चैते धान खेती बिस्तारका लागि कृषि ज्ञान केन्द्र कैलाली, विभिन्न स्थानीय सरकार र रानी, जमरा, कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रमले समेत सहयोग गर्दै आइरहेको छ। जिल्लाको भजनी, टीकापुर, घोडाघोडी नगरपालिका र कैलारी, जोशीपुर, जानकी र बर्दगोरिया गाउँपालिकामा चैते धान लगाइन्छ। त्यसमध्ये वर्षामा डुबान हुने क्षेत्रमा चैते धान खेती भइरहेको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत रामनारायण चौधरीले बताए।
‘बाढीले डुबान हुने क्षेत्रलाई चैते धानमा बढी प्रोत्साहन गर्ने गरिएको छ’, उनले भने,। ‘भजनी कैलालीको सबैभन्दा बढी चैते धान लगाउने पालिका हो। वर्षातमा बाढीले जलमग्न हुने भएकाले चैते धान विकल्पका रुपमा गर्ने गरिएको छ।’
सिँचाइ सुविधा पु¥याउन सके चैते धान खेतीको उत्पादन प्रतिहेक्टर ६० क्वीन्टलसम्म हुने गरेको बाली विकास अधिकृत चौधरीले बताए। ‘चैते धान खेतीले खाद्यान्न उत्पादनसँगै चामल आयात प्रतिस्थापन गर्नमा सहयोग पु¥याई रहेको छ’, उनले भने। ‘चैते धानको उत्पादनसँगै बजार सहज भएकाले पछिल्ला वर्षमा चैते धान खेती गर्ने किसान बढ्दै गएका छन्।’
चिउरा उत्पादनका लागि राम्रो मानिने हुनाले चैते धान बिक्री गर्न समस्या नरहेको किसानहरू बताउँछन्। बाढी प्रभावित क्षेत्रका किसानका लागि आम्दानीको मुख्य स्रोत बन्दै गएको चैते धान खेती विस्तारका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने किसानहरूको माग छ। अन्नपूर्ण पाेस्टबाट