- नरेन्द्रबहादुर अर्याल
२०४८ सालमा जनमत पाएर नेपाली काँग्रेसले सरकार बनायो । स्वर्गीय गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री र वर्तमान काँग्रेस सभापति शेर बहादुर देउवा गृहमन्त्री बने । जब सरकार बन्यो तब सरकार गिराउने खेलमा कर्मचारी आन्दोलन नामको बम फ्याँक्न खोजियो तर बिडम्वना त्यो बम हातैमा फ्यूज भयो ।
मान्छे मरणशिल छ तर दुर्घटनाका मरणहरू निश्चित रूपमा पीडादायी हुन्छन् । २०५० साल जेठ ३ गते आइतबार, इतिहासकै कालो दिन । जबजका नायक स्वर्गीय मदन भण्डारी र उनका गुरू शालिन ब्यक्तित्वका धनी जीवराज आश्रीतलाई मुलुकले गुमाएको दिन । मृत्यु सत्य भए पनि राष्ट्रले आशा गरेको ब्यक्ति शंकास्पदरूपमा गुमाउँदाको क्षण झनै पीडादायी हुँदाे रहेछ । मृत्यु दुर्घटना थियो वा षडयन्त्र त्यो कुरा सायद चालक अमर लामा जीवित छँदा पनि खुलेन होला तर दुःख र अचम्मको कुरा स्वर्गीय मदन भण्डारीको मृत्यु पछि पटक पटक बनेका कम्युनिष्ट सरकारहरू साथै स्वर्गीय भण्डारीकी श्रीमती महामहिम राष्ट्रपति विद्या भण्डारी दुई दुई पटक राष्ट्रपति बनीसक्दा पनि एउटा छानबिन आयोग नबन्दा स्वर्गीय मदन भण्डारीको आत्मा कति छट्पटिइ रहेको होला ।

मलाई पाकिस्तानको एउटा घटनाको राम्रो याद छ । त्यो बेला म पाकिस्तानमा थिएँ र यो घटनालाइ निकै नजिकबाट मिडियामार्फत अध्ययन गरेको थिएँ । सन २००८ मा पाकिस्तानमा आम निर्वाचन थियो जति बेला जनरल परवेज मुसरफले सैनिक शासनको अन्त्य गरी उनले सन् २००७ मा नै निर्वाचनमा सहभागी हुन दलहरुलाई आग्रह गरेका थिए । चुनावी माहोल निकै तातेको थियो । पाकिस्तानकै प्रिय महिला नेतृ वा पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टो चुनावी र्याली र आमसभामालाइ सम्बोधन गर्दै हिडेकी थिइन् ।
सन २००७ डिसेम्बर २७, बिहिबारको दिन थियो । पाकिस्तानको राजधानी इस्लामावादको नजिकको जिल्ला रावलपिण्डीमा उनले चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो । उक्त स्थानमा आउने क्रममा खै कसको निशानामा परिन्, उनी चढेको गाडीमा बम पड्कियो, गोली चल्यो, उनले चुनावी कार्यक्रम, आम चुनावमात्र हैन संसार नै छाडिन् । त्यो हादशापछि पनि चुनाव रोकिएन । सन २००८ को फेब्रुअरी १८ मा आम चुनाव भयो । पाकिस्तान पिपल्स पार्टी (PPP) ले बहुमत पायो । उक्त दलका युवा नेता युसुफ राजा गिलानी प्रधानमन्त्री र स्वर्गीय बेनेजिर भुट्टोका पति आसिफ अली जर्दारी पाकिस्तानको राष्ट्रपति बने ।
आसिफ अलि जर्दारी सन २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति बने । स्वर्गीय बेनेजिर भुट्टोको हत्या गरिएको ठाउँबाट पक्राउ गरिएका केही मान्छेलाई अडियाला सेन्ट्रल जेल रावलपिण्डीको मृत्यु दण्डको सेलमा लगेर राखियो । ति मान्छेहरु हत्यारा नै थिए वा निर्दोष, त्यो कुरा या उनीहरुले जानुन् या त अल्लाह नै जानुन् या त मृत आत्माले जानोस् । यो बाहेक पाँच वर्ष राष्ट्रपतिमा बिराजमान रहँदा आसिफ अली जर्दारीले पूर्व प्रधानमन्त्री उनकी श्रीमती स्वर्गीय बेनेजिर भुट्टोको हत्या प्रकरण छानबिनको लागि कहिल्यै कुनै आयोग बनाएर छानबिन गराएनन् । उक्त घटना र नेपालमा स्वर्गीय मदन भण्डारीको रहस्यमय मृत्युको घटनाको एउटा छानबिन आयोगसम्म नबन्दा राजनीति गर्नेहरु सत्ता र भत्तामा लत्पत्तिन्छन्, राजनीतमिा कुनै नाता र माया ममता रहँदैन भन्ने कुरा स्पष्ट पार्दछ ।
हरेक वर्ष जब जेठ ३ गते आउँछ, मेरो मानशपटलमा ति दिनहरु एकपछि अर्को गरी घुम्छन् । काठमाडौंमा हत्यारो गिरिजा मुर्दावाद, गिरिजा चोर देश छोड, पोखरामा हत्यारो शेरे राजिनामा दे भन्ने नारा सहितका आन्दोलनले कैयौं सार्वजनिक सम्पतिको तोडफोड भयाे । मलाई अचम्म लाग्छ, त्यो बेलाका आन्दोलनकारीहरु पटक पटक कम्युनिष्ट सरकार बनेको बेला आयोग गठन गर्ने दबाब दिन किन आन्दोलन गरेनन् ? सायद फरक दल सत्तासिन रहँदा आउने जाँगर आफ्नो दलको सरकारप्रति सेलाएर जाने हुन्छ होला ।
स्वर्गीय मदन भण्डारीको जबज पथमा नै वर्तमान सत्ताधारीहरु छन् वा लिक छाडे, स्वर्गीय भण्डारीको आत्माले जरुर देखेको होला । जनतालाई मुर्ख बनाउने गफ सुनेर खित्का छोडेर हाँस्दा हुन् । चाहे जे होस् मुलुक समृद्ध भइरहेको बेला महामारीले तहस नहस बनायो । सबै आफु बाँचेर अरुलाई बचाउने प्रयास गरौं ।
अन्त्यमा पटक पटकका कम्युनिष्ट सरकारले बेवास्ता गरेका स्वर्गीय मदन भण्डारी र जीवराज आश्रीतप्रति हार्दिक श्रद्धा सुमन ।