डा. अरुणा उप्रेती
हाल नेपालमा सबै ४० वर्षभन्दा माथिकाले क्याल्सियम, भिटामिन ‘डी’को चक्की र रगत बढाउन केही औषधी खानैपर्छ भन्ने मान्यता स्थापित हुँदै गएको छ । तर स्वस्थ्यकर खाना खाइयो भने त्यसले नै शरीरको सबै आवश्यकता पूर्ति गर्छ भन्ने अर्को एक विचार पनि चिकित्सा जगतमा स्थापित छ ।
मचाँहि दोस्रो विचारको पक्षपाती हुँ र त्यसै अनुरूप जीवन चलाउन कोसिस गरिरहेकी हुँ । ‘स्वस्थकर भोजन गरियो भने औषधिको खास आवश्यकता पर्दैन, भोजन स्वस्थकर छैन भने जति औषधि गरे पनि केही फाइदा हुँदैन’ भन्ने मैले सिकेको ज्ञान हो ।
तर अहिले औषधि कम्पनीहरूको यति ठूलो बजार छ कि उनीहरूले जीवनका साधारण कुरालाई पनि रोग हो र ‘औषधि खानुपर्छ’ भन्ने मान्यतालाई बढावा दिइरहेका छन् । प्रायः हामी त्यसको सिकार हुन्छौँ । उदाहरणका लागि गर्भवती हुँदा महिलाको शरीरमा रगतको कमी हुन सक्छ र यसले भ्रुणलाई पनि प्रभावित पार्छ । यो सत्य हो । तर गर्भावस्थामा महिलाले प्रोटिनयुक्त खानेकुरा, जस्तो- चना, भटमास, कोदो, फापर, मकै, विभिन्न हरियो तरकारी कर्कलो वा कर्कलोले बनेको मस्यौरा, आलु करिपत्ता, निगुरो अनेक प्रकारका साग, दूध, मोही आदि खाने भने शरीरमा प्रोटिन र विभिन्न प्रकारका भिटामिनको कमी हुन पाउँदैन ।
म गर्भवती हुँदा क्याल्सियम आदि खाने जरुरत भएन । अनेक प्रकारका चिसो पेय पदार्थ र पत्रु खाना त म त्यो बेलामा पनि खान्नथेँ । बजारमा पाइने मिठाइप्रति अलिकता लोभचाहिँ लाग्थ्यो । जेरी, स्वारी खाजा खान पाउँदा खुसी नै हुन्थेँ । यसरी जेरीस्वारी पकाइने तेल बारम्बार तताउँदा त्यसले विषालु तत्व पैदा गर्छ र मुटुमा नराम्रो प्रभाव पर्छ भन्ने जानेपछि मैले यसरी बजारका खाना ठ्याम्मै छोडिदिँए । घरमा पकाएको सेल, पुरी, अचार, मालपुवा मीठो मानेर कहिलेकाहीँ खान्छु नै ।
‘यसरी बजारको खाने कुरा नखाएर बस्न सम्भव हुँदैन । खाजा खाँदा चाउचाउ, जेरी, स्वारीबाहेक अरू केही हुँदैन’– कतिपय परिचितहरू भन्छन् ।
त्यसमध्ये त कतिजना पत्रकार पनि छन् । ‘तपाईंले लेखेको पढेर पनि के गर्नु, पत्रु खाना खान करै लाग्छ । घरबाट बनाउन भ्याइँदैन’– उनीहरूको भनाइ हुन्छ । उनीहरूलाई म भन्ने गर्छु- ‘पत्रु खाना नखाएर पनि स्वस्थकर खाजा खान सकिन्छ । चना, चिउरा, उसिनेको आलु त प्रायः सबै खाजा घरमा भइहाल्छ । यस्तो खाजा छाडेर पत्रु खाना खाएपछि त पछि तपाईंको स्वास्थ्य बिस्तारै कमजोर हुन्छ । दौडधुप गर्न नसकेपछि तपाईंको काममा नै प्रभाव पर्दैन र ? त्यो बेलमा बिरामी भएर बस्नचाहिँ तपाईंसँग फुर्सद हुन्छ ?’
मैले यसरी कडा शब्दमा भनेपछि कतिपय महिला पत्रकारले चाहिँ पत्रु खाना खाने आफ्नो बानी छाडेको छु भनेर जानकारी पनि दिएका छन् । कतिले घरमा नै खाना खाएर जाने र केही खाजा पनि बोकेर काममा जाने गरेको भनेका छन् । उनीहरू चना उसिनेर भुटेर चिउरासँग खान्छन् । ‘पेट टम्म भरिँदोरहेछ’ भन्ने भनाइ सुनेपछि मलाई के खुसी लाग्छ भने मैले लेखेर बोलेपछि केही व्यक्तिको जीवनमा त सुधार भयो ।
समय-समयमा कार्यशाला र गोष्ठीहरूमा भारत, अमेरिका आदि देशमा भाग लिएपछि (पोषण र स्वास्थ्यसम्बन्धी) मैले के अनुभव गरेकी छु भने पुर्खाहरूको कतिपय ज्ञानलाई आधुनिक विज्ञानको कसौटीमा राखेर हेर्दा साँच्ची नै तिनले स्वास्थ्यमा राम्रो प्रभाव पार्ने देखिन्छ ।
कतिजनाले मैले भोजन र पोषणबारे बोलेको र लेखेको सुनेर ‘तपाईं पोषणविद् हो ?’ भन्छन् । कहिलेकाहीँ त ‘पोषणविद्’को पगरी नै लगाइदिन्छन् । मैले स्पष्ट शब्दमा भन्ने गरेकी छु- ‘म त्यति नै पोषणविद् हो, जति मेरी निरक्षर हजुरआमा ! मैले पोषणको बारेमा साना-साना तालिम मात्र लिएकी छु, तर पोषणविद् भन्ने उपाधि दिने ठूलो तालिम पनि लिएकी छैन । फेरि म यस्तो ठूलो वैज्ञानिक कुरा कहाँ गर्छु र ? घरको दाल, भात, रोटी, चना, दूध, दही, मोही, मह, कागती जस्ता स्वस्थकर स्थानीय खाने कुराको प्रयोग गर्नुपर्छ । र, हाम्रो भोजन नै हाम्रो औषधि हो भन्ने सामान्य र सबैले जानेको कुरा मात्र म भन्छु । नयाँ कुरा त मैले केही भनेकी छैन ।’ (घटना र विचारबाट)