सबै प्रदेशमा समान सवारी कर प्रस्ताव

रिपोर्ट नेपाल | 2022 Mar 17 | 08:29 am 1585

काठमाडाैं, चैत ३ः सबै प्रदेशमा समान प्रकारको सवारीसाधन कर लिने व्यवस्था गर्न प्रदेश सरकारहरू सहमत भएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबार सम्पन्न सबै प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीहरूको बैठकले सो सहमति गरेको हो ।

२० बुँदे पोखरा घोषणापत्र जारी गर्दै बैठकले प्रदेश सरकारलाई अधिकार सम्पन्न गराउने गरी सबै प्रदेशमा एकै खालको सवारी कर, दस्तुर र जरिवानाको व्यवस्था गर्न संघीय सरकारलाई आवश्यक कानुनको व्यवस्था गर्न माग गर्ने निर्णय गरिएको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्काले जानकारी दिए । एक प्रदेशमा दर्ता भई अर्को प्रदेशमा सञ्चालनमा रहेका गाडीको नवीकरण चलिरहेको प्रदेशबाटै गर्ने व्यवस्था गर्न पनि संघीय सरकारलाई आग्रह गरिएको उनले बताए ।

सबै प्रदेशमा एकीकृत भिआरएस प्रणाली लागू गर्न यातायात व्यवस्था विभागले पहल गर्ने, एकैदिन ब्लुबुक नवीकरण र कर तिर्न मिल्ने व्यवस्था गर्ने निर्णय पनि गरिएको उनको भनाइ छ । त्यसैगरी सवारी सम्बन्धी कर र जरिवाना प्रदेशको एकल अधिकारभित्र पर्ने भएकोले सबै रकम र इम्बोस्ड नम्बर जडानको रकम समेत प्रदेश राजस्व खातामा जम्मा गर्न माग गरिएको मन्त्री खड्काले बताए । अहिलेसम्मका सबै डाटा र प्रणालीहरू संघले प्रदेशलाई हस्तान्तरण गर्ने र त्यसको सुरक्षा प्रणाली मजबुत गर्ने, लाइसेन्स र सवारी दर्ता प्रणालीमा देखिएका सबै समस्या समाधानको लागि आवश्यक नीति तथा कानुन परिमार्जन गर्ने, विभागले स्मार्ट लाइसेन्स छिटो प्रिन्ट गरेर तत्काल सम्बन्धित कार्यालयमा पठाउनुपर्ने, विभागले प्रदेशका कार्यालयहरूलाई सहयोग गर्न जिम्मेवारीसहितको फोकल पर्सन तोक्नुपर्ने निर्णय पनि बैठकले गरेको छ ।

यस्तै, डिजिटल ट्रायल सेन्टर परीक्षणको रुपमा लुम्बिनी प्रदेशबाट सुरु गर्ने, विद्युतीय सवारी साधन सञ्चालनलाई प्राथमिकतामा राख्ने, सडकको क्षेत्राधिकार कायम गर्न सबै प्रदेश सरकारहरूले राजनीतिक प्रतिवद्धता जाहेर गर्ने सहमति गरेका छन् । सवारीचालक अनुमतिपत्रको परीक्षा सञ्चालन कार्यविधि सबैले लागू गर्ने, अन्तर प्रदेश सवारी रुट अनुमति जाँचपासको काम गर्न यथाशीघ्र कार्यालय स्थापना गर्ने, सहर सौन्दर्यीकरण, दुर्घटना न्यूनीकरण कार्यक्रम अन्तर्गत पालिका मार्फत अनिवार्य पार्किङको व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।

सडक ऐन २०३१ (संशोधन २०७५) मा प्रादेशिक सडकको वर्गीकरण गर्न पहल गरी प्रादेशिक सडकहरूमा पहुँचको आधारमा बजेट विनियोजन नगर्ने व्यवस्था सडक विभागले मिलाउने र सशर्तका योजनाहरूमा श्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयमा पहल गर्नुपर्ने, स्थानीय पूर्वाधार विभागबाट झोलुंगे पुलमा प्रयोग हुने लठ्ठा खरिद र वितरण प्रणाली चुस्त बनाउनुपर्ने माग सातै प्रदेशका मन्त्री र सचिवहरूको छ ।

प्रदेशभित्रका योजनाहरूको रकमान्तर गर्ने अधिकार प्रदेश सरकारलाई दिनुपर्ने, खर्च नहुने रकम विभागमा फर्काउने र उक्त रकम अन्तर प्रदेशका योजनामा रकमान्तर गर्ने, साझा सरोकारका विषयमा संघीय सरकार र प्रदेश सरकारहरूबीच संवाद, सहकार्य, सिकाइ आदानप्रदान गर्ने निर्णय पनि भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले संघीयताको मर्म अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले भनिन्, “हामी संघीयतालाई मजबुत बनाउन चाहन्छौं । त्यसका लागि प्रदेश र स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउने हो । अहिलेसम्मका समस्या समाधान गर्दै नागरिकलाई सहज सुविधा दिन सबैले पहल गरौं ।” बैठकमा मधेस प्रदेशबाहेक अन्य प्रदेशका यातायात तथा पूर्वाधार हेर्ने मन्त्रीहरूको सहभागिता थियो । काराेबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.